धानमा रोगकिरा 

भवानी भट्ट

(कञ्चनपुर) — वर्षा कम भएकाले धानखेतमा रोगकिराको संक्रमण बढेको छ । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी, बेलडाडी र कृष्णपुर क्षेत्रमा धानबालीमा विभिन्न प्रकारका रोगहरू देखा परेको कृषि प्राविधिकले बताएका छन् । 

बाली संरक्षण प्रयोगशाला सुन्दरपुरका अनुसार पर्याप्त वर्षा नहुँदा धानमा गबारो किराको प्रकोप निकै बढेको छ । धानका बोटमा मरुवा र खैरो थोप्ले रोगको संक्रमण पनि देखिएको छ । रोपाइँदेखि नै वर्षा कम भएका कारण रोग देखिएको हो ।

‘धानमा रोग देखिने समय यही हो, पानी परेको भए कम देखिन्छ, नपरे धेरै,’ प्रयोगशालाका प्राविधिक सहायक अम्बादत्त विष्टले भने, ‘बाली शिविरसँगै प्रयोगशालामै समेत किसान नमुना लिएर आउन थालेका छन् ।’ उनका अनुसार कञ्चनपुरमा मात्रै नभई पानी अभावका कारण सुदूरपश्चिमका विभिन्न भागमा धानमा केही न केही रोग देखिएको छ ।

गबारो रोग बेर्ना अवस्थादेखि नै लाग्न सुरु हुन्छ । बेर्ना अवस्थामा पुतलीले अन्डा पारेर त्यहि अन्डापछि लार्भा भई गबारो खाने गर्छ । लार्भाले कोमल पातहरू मात्रै खाने भएकाले गबारोमै बढी आक्रमण गर्छ । पछि धानको बाला दानाबिनाको लाग्ने गर्छ । कृषकहरूले नाइट्रोजनयुक्त मल (युरिया) को प्रयोग बढी गर्दा पनि गबारो रोग लाग्ने गरेको कृषि ज्ञान केन्द्र कैलाली कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले बताए । उनका अनुसार नाइट्रोजनले पात कोमल
हुने भएकाले लार्भाले त्यसमै आक्रमण गर्छन् ।

गबारो रोग नियन्त्रणका लागि बेर्ना अवस्थामै पुतलीको आवागमन भएको ठाउंँमा अन्डा हेरेर नष्ट गरिदिने तथा विषादीको प्रयोगबाट समेत अण्डा नष्ट गर्न सकिन्छ । यसैगरी रोग लाग्न नदिन पनि झोल तथा दानादार विषादीको प्रयोग गर्न सकिने भट्टले बताए । उनका अनुसार पानी कम पर्दा गबारो रोग बढी देखिन्छ । आकासे पानीले अण्डा झराइदिने भएकाले पानी परेका बेला यो रोगको संक्रमण कम हुने गरेको हो ।

बाली संरक्षण प्रयोगशालाले यसै साता बेलौरीमा गरेको वाली शिविरमा धानको मरुवा रोग र खैरो थोप्ले रोग पनि देखिएको प्राविधिक सहायक विष्टले बताए । मरुवा रोग एक प्रकारको ढुसी हो । यो रोग पनि नर्सरीदेखि नै लाग्ने गर्छ । सुरुमा पातमा, त्यसपछि डाँठमा र अन्तिममा बालामा लागेर बाली नै सखाप पार्ने गर्छ । पातमै लागेको बेला यसको उपचार गर्न सके मात्रै ठिक हुने र डाँठ तथा वालामा पुगेपछि यसले बाली नै सखाप पार्ने विष्टले बताए ।

तराईमा युरिया मलको प्रयोग बढदो छ तर जिंकको प्रयोग नगन्य मात्रामा छ । जिंक अभावले खैरो थोप्ले रोगको संक्रमण पनि देखिएको विष्टले बताए । यसमा सुरुमा धानको पातमा खैरो थोप्लो देखिने र बिस्तारै पात सुक्दै गएर धानको बोट नै सुक्ने गरेको उनले जानकारी दिए ।

वर्षा अभावले अहिले धान पसाउन समेत समस्या देखिएको बाली संरक्षण प्रयोगशालाका प्राविधिक राममिलन चौधरीले बताए । उनकाअनुसार चाँडो फल्ने धान कहीं पसाएको छ भने कतै पानी अभावमा आधा बाला मात्रै पसाएको छ ।

धानका लागि विभिन्न संवेदनशील अवस्था हुन्छन् । त्यस्तो अवस्थामा पानीको पर्याप्त आवश्यकता पर्छ । सुरुमा रोपाइँपछि गाँज फोडने बेला पानी आवश्यक पर्छ । पानी नभए गाँज नै नफोडने चौधरी बताउँछन् । त्यसपछि पसाउने बेला पानी आवश्यक पर्छ । भने अन्तिममा फुल फुल्ने बेला पनि पानी आवश्यक पर्ने उनले बताए । ‘यि अवस्थामा पानी नपरे वाली सप्रिदैन, विभिन्न रोगहरू पनि लाग्छन्’ चौधरीले भने, ‘पानी अभाव र विभिन्न रोगका कारण यस वर्ष धानको उत्पादनमा ह्रास आउने देखिन्छ ।’

कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धान खेती गरिन्छ । यहां धानको उत्पादकत्व ३ मेट्रिक टन प्रति हेक्टरको हाराहरीमा रहेको छ । धान वालीमा लाग्ने रोग न्यूनीकरणका लागि खेत जोताइदेखि नै ध्यान दिनुपर्ने प्राविधिक बताउँछन् । विभिन्न किसिमका रोगका प्युपा माटामै हुने भएकाले गहिरो जोत्ने, नाइट्रोजन र जिंकको मात्रा मिलाएर प्रयोग गर्ने, माटो परीक्षण गराउने, रोपाइँका बेला उचित दूरी कायम गर्ने र नियमित सिँचाइको व्यवस्थापन गर्न सके धेरै रोग लाग्नबाट जोगाउन सकिने प्राविधिक बताउँछन् ।

प्रकाशित : भाद्र १५, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्

हुक्का चिलिमले...

संस्कृति जोड्ने कार्यक्रमले सुदूरपश्चिमका जिल्लामा स्थानीयलाई भेला गराउादै आपसी सद्भाव बढाइरहेको छ ।
डीआर पन्त

(डडेलधुरा) — घुइला घुइला वचनका, डेण पाइलका सारडेउणा चैत, धुमारी छ मेरी रंगी हार ।हुणकेली, छलिया नाच, गुघरकना दाइनडोटेली संस्कृति जसि दुनियाँ मि काइन ।

कहिले बाजुरा कालिकोटका भाका घन्किन्छन्, कहिले दार्चुलाका शौका समुदायको गीत घन्किन्छन् । प्रेम र विरहका देउडा, देवताका चैत, फाग र धुमारी मात्र होइन, लुकेका कला संस्कृतिलाई जीवन्त पार्दै डोटेली संस्कृतिभित्रका हरेक आयाम बोकेको छ हुक्का चिलिमले ।

दार्चुलादेखि कञ्चनपुरसम्म र कैलालीदेखि बाजुरासम्म हरेक टोलटोल र गाउँगाउँमा सुनिने हुक्का चिलिम उदाहरण बनेको छ । डोटेली संस्कृति, भाषा र साहित्यका रचना र गीत मात्र होइन, हुक्का चिलिमले सामाजले बिर्संदै गरेको पुर्खाको नासो र पहिचानलाई पनि जीवन्तता दिइरहेको छ । एउटा सानो रेडियो कार्यक्रमले पनि समाजलाई कति ठूलो प्रभाव पार्न सक्छ भन्ने उदाहरण बनेको छ हुक्का चिलिम । बैंसले छोएको पुस्ता होस् या ढल्कँदै गएको पुस्ता । सुदूर पहाडका आधा दर्जन बढी रेडियोमा बज्ने हुक्का चिलिमले समाजमा ह्रास हुँदै गएको सामाजिक नैतिक मूल्यमान्यतालाई स्थापित गर्न खेलेको भूमिका उदाहरणीय बनेको छ । रेडियो युनिटीका प्रमुख उत्तर बिष्टले भन्छन्, ‘यो रेडियो कार्यक्रम मात्र नभएर सुदूर संस्कृतिका थुप्रै आयाम बोकेको एक संस्था बन्न पुगेको छ ।’

कला र संस्कृतिको धनी सुदूरपश्चिमलाई एक ठाउँमा जोडदै हुक्का चिलिमले सांस्कृतिक अभियान नै सञ्चालन गरेको छ । गौरा पर्वको अवसर पारेर कञ्चनपुर र डडेलधुरामा आयोजना भएका कार्यक्रमले सुदूरको वेशभूषा, भाषा मात्र होइन, धेरैले बुझन नसकेको डोटेली संस्कृतिको लुकेको पाटोलाइ पनि नयाँ शैलीमा पस्केको छ । सुदूर संस्कृतिमा विद्यावारिधि गरेका मोहन भट्ट भन्छन्, ‘नयाँ शैलीमा नयाँ पुस्ताले बुझ्ने गरी हुक्का चिलिमिले सुदूर संस्कृतिको लुकेको पाटो उघारेको छ ।’ कला, संस्कृति भाषा र भेषभूषा मात्र होइन, राज्यलाई प्रेरणा दिने गरी सामाजिक कुरीति र विसंगतिमाथि पनि प्रहार गर्दै आएको उनी बताउँछन् । ‘हाम्रो संस्कृतिभित्र लोप हुँदै गएका लोककाव्यको संरक्षणका लागि हुक्का चिलिमको उदाहरणीय प्रयास लोभलाग्दो छ,’ उनले भने ।

रेडियो कार्यक्रमका प्रस्तोताले कुनै दिन यो कार्यक्रम समाजमा एक वर्गको जीवनशैली बन्ला भन्ने कल्पना पनि गरेका थिएनन् होला । हुक्का चिलिम समाज डडेलधुराका अध्यक्ष वरिष्ठ डेउडिया केशव पाण्डेयले भने, ‘रेडियोकर्मी ओमप्रकाश ओझाले सञ्चालन गरेको यो कार्यक्रम ११ वर्षको यात्रामा कला संस्कृतिप्रति सामान्य चासो राख्ने हरेक सुदूरपश्चिमेलीको आफ्नै अभियान बनेको छ ।’ वैदिक संस्कृतिका जानकार पण्डित शिवदत्त पन्त भन्छन्, ‘पौराणिक र वैदिक कालखण्डदेखि ऐतिहासिक र आधुनिक संस्कृतिलाई हुक्का चिलिमिले एउटै भाँडोमा मिसाएको छ ।’ हुन पनि हो, गौरा पर्वको अवसर पारेर डडेलधुराको अजयमेरु गाउँपालिकाको सहयोग र रेडियो युनिटीको आयोजनामा भएको हुक्का–चिलिम कार्यक्रममा १६ वर्षे किसोरकिसोरीदेखि ९० वर्षीय वृद्धसम्मको उत्साहजनक सहभागिताले पण्डित पन्तले गरेको विश्लेषणलाई पुष्टि गर्छ । दुई दिनसम्म सञ्चालन भएको हुक्का चिलिम कार्यक्रममा डोटी, डडेलधुरा र बैतडीका हजारौं कलाप्रेमीको सहभागिता थियो ।

‘यो एक सांस्कृतिक अभियान हो,’ हुक्का चिलिम समाज डडेलधुराका अध्यक्ष पाण्डेय भन्छन्, ‘सांस्कृतिक माध्यमले समाजमा एकता कायम गर्ने महत्त्वपूर्ण माध्यम बनेको छ ।’ हरेक दिन रेडियोमा एक घण्टाभन्दा कम समयमा प्रसारण हुने कार्यक्रममा जुन प्रकारले समाजभित्र लुकेका प्रतिभा एउटै थलोमा उभिन प्रतिस्पर्धा गरिरहेका छन्, यसले कला र साहित्य क्षेत्रमा कार्यरत सबैलाई हौस्याएको छ ।

प्रकाशित : भाद्र १५, २०७६ १०:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्