हुक्का चिलिमले...

संस्कृति जोड्ने कार्यक्रमले सुदूरपश्चिमका जिल्लामा स्थानीयलाई भेला गराउादै आपसी सद्भाव बढाइरहेको छ ।
डीआर पन्त

(डडेलधुरा) — घुइला घुइला वचनका, डेण पाइलका सारडेउणा चैत, धुमारी छ मेरी रंगी हार ।हुणकेली, छलिया नाच, गुघरकना दाइनडोटेली संस्कृति जसि दुनियाँ मि काइन ।

डडेल्धुरा सदरमुकामको बसपार्कमा आयोजना भएको हुक्का चिलिम कार्यक्रममा सहभागी कलाकार र दर्शक ।तस्बिर : कान्तिपुर

कहिले बाजुरा कालिकोटका भाका घन्किन्छन्, कहिले दार्चुलाका शौका समुदायको गीत घन्किन्छन् । प्रेम र विरहका देउडा, देवताका चैत, फाग र धुमारी मात्र होइन, लुकेका कला संस्कृतिलाई जीवन्त पार्दै डोटेली संस्कृतिभित्रका हरेक आयाम बोकेको छ हुक्का चिलिमले ।

दार्चुलादेखि कञ्चनपुरसम्म र कैलालीदेखि बाजुरासम्म हरेक टोलटोल र गाउँगाउँमा सुनिने हुक्का चिलिम उदाहरण बनेको छ । डोटेली संस्कृति, भाषा र साहित्यका रचना र गीत मात्र होइन, हुक्का चिलिमले सामाजले बिर्संदै गरेको पुर्खाको नासो र पहिचानलाई पनि जीवन्तता दिइरहेको छ । एउटा सानो रेडियो कार्यक्रमले पनि समाजलाई कति ठूलो प्रभाव पार्न सक्छ भन्ने उदाहरण बनेको छ हुक्का चिलिम । बैंसले छोएको पुस्ता होस् या ढल्कँदै गएको पुस्ता । सुदूर पहाडका आधा दर्जन बढी रेडियोमा बज्ने हुक्का चिलिमले समाजमा ह्रास हुँदै गएको सामाजिक नैतिक मूल्यमान्यतालाई स्थापित गर्न खेलेको भूमिका उदाहरणीय बनेको छ । रेडियो युनिटीका प्रमुख उत्तर बिष्टले भन्छन्, ‘यो रेडियो कार्यक्रम मात्र नभएर सुदूर संस्कृतिका थुप्रै आयाम बोकेको एक संस्था बन्न पुगेको छ ।’

कला र संस्कृतिको धनी सुदूरपश्चिमलाई एक ठाउँमा जोडदै हुक्का चिलिमले सांस्कृतिक अभियान नै सञ्चालन गरेको छ । गौरा पर्वको अवसर पारेर कञ्चनपुर र डडेलधुरामा आयोजना भएका कार्यक्रमले सुदूरको वेशभूषा, भाषा मात्र होइन, धेरैले बुझन नसकेको डोटेली संस्कृतिको लुकेको पाटोलाइ पनि नयाँ शैलीमा पस्केको छ । सुदूर संस्कृतिमा विद्यावारिधि गरेका मोहन भट्ट भन्छन्, ‘नयाँ शैलीमा नयाँ पुस्ताले बुझ्ने गरी हुक्का चिलिमिले सुदूर संस्कृतिको लुकेको पाटो उघारेको छ ।’ कला, संस्कृति भाषा र भेषभूषा मात्र होइन, राज्यलाई प्रेरणा दिने गरी सामाजिक कुरीति र विसंगतिमाथि पनि प्रहार गर्दै आएको उनी बताउँछन् । ‘हाम्रो संस्कृतिभित्र लोप हुँदै गएका लोककाव्यको संरक्षणका लागि हुक्का चिलिमको उदाहरणीय प्रयास लोभलाग्दो छ,’ उनले भने ।

रेडियो कार्यक्रमका प्रस्तोताले कुनै दिन यो कार्यक्रम समाजमा एक वर्गको जीवनशैली बन्ला भन्ने कल्पना पनि गरेका थिएनन् होला । हुक्का चिलिम समाज डडेलधुराका अध्यक्ष वरिष्ठ डेउडिया केशव पाण्डेयले भने, ‘रेडियोकर्मी ओमप्रकाश ओझाले सञ्चालन गरेको यो कार्यक्रम ११ वर्षको यात्रामा कला संस्कृतिप्रति सामान्य चासो राख्ने हरेक सुदूरपश्चिमेलीको आफ्नै अभियान बनेको छ ।’ वैदिक संस्कृतिका जानकार पण्डित शिवदत्त पन्त भन्छन्, ‘पौराणिक र वैदिक कालखण्डदेखि ऐतिहासिक र आधुनिक संस्कृतिलाई हुक्का चिलिमिले एउटै भाँडोमा मिसाएको छ ।’ हुन पनि हो, गौरा पर्वको अवसर पारेर डडेलधुराको अजयमेरु गाउँपालिकाको सहयोग र रेडियो युनिटीको आयोजनामा भएको हुक्का–चिलिम कार्यक्रममा १६ वर्षे किसोरकिसोरीदेखि ९० वर्षीय वृद्धसम्मको उत्साहजनक सहभागिताले पण्डित पन्तले गरेको विश्लेषणलाई पुष्टि गर्छ । दुई दिनसम्म सञ्चालन भएको हुक्का चिलिम कार्यक्रममा डोटी, डडेलधुरा र बैतडीका हजारौं कलाप्रेमीको सहभागिता थियो ।

‘यो एक सांस्कृतिक अभियान हो,’ हुक्का चिलिम समाज डडेलधुराका अध्यक्ष पाण्डेय भन्छन्, ‘सांस्कृतिक माध्यमले समाजमा एकता कायम गर्ने महत्त्वपूर्ण माध्यम बनेको छ ।’ हरेक दिन रेडियोमा एक घण्टाभन्दा कम समयमा प्रसारण हुने कार्यक्रममा जुन प्रकारले समाजभित्र लुकेका प्रतिभा एउटै थलोमा उभिन प्रतिस्पर्धा गरिरहेका छन्, यसले कला र साहित्य क्षेत्रमा कार्यरत सबैलाई हौस्याएको छ ।

प्रकाशित : भाद्र १५, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्

बुढेसकालमा कामको बोझ 

विप्लव महर्जन

(सल्यान) — शारदा नगरपालिका ६, टाकुराका नरबहादुर बिक उमेरले ७५ बर्ष पुगे । उनी शारीरिक रूपमा समेत कमजोर छन् । तर, कामको बोझ घटेको छैन । ‘काम नगरी बिहानबेलुकी खान पुग्दैन,’ उनी भन्छन्, ‘त्यही भएर सकिनसकी काम गरिरहेको छु ।’

गरिबी र छोराछारीले नहेर्दा त्रिवेणीका एक वृद्ध डोको बुन्दै । तस्बिर : विप्लव/कान्तिपुर

उनी चोया काट्ने र डोको बुन्ने काम गर्छन् । यो काम उनले १२ वर्षको उमेरदेखि सुरु गरेका हुन् । साहारा दिने छोराहरू घर छाडेर बाहिर गएकाले सिपअनुसार काम गरिरहेको उनी बताउँछन् । उनले बाँसको चोयाबाट दैनिक एउटा डोको बुनेर तीन सयसम्म कमाउने गरेको बताए ।

बुढेसकालमा काम गर्नुपर्ने बाध्यतामा उनीमात्र छैनन् । छोराबुहारीले नहेर्दा जिल्लाका अधिकांश जेष्ठ नागरिक बुढेसकामलमा काम गर्न बाध्य छन् । कसैका घरमा कमाउने छोरा नभएका, कसैले कमाए पनि बाबुआमालाई नहेरेका कारण उनीहरू समस्यामा परेका छन् । सरकारले जेष्ठ नागरिक भन्दै सामाजिक सुरक्षा भत्ता नदिएको होइन । रकम अपुग हुँदा उनीहरू विभिन्न काम गर्न बाध्य छन् । बिहान चिसो हुँदा समयमै उठ्न मन नलाग्ने र काम गर्ने जाँगर नलागे पनि बाध्यताले गर्दा नगरी नहुने अवस्था रहेको जयतपानीका ७६ वर्षीय पिमलाल बुढा बताउँछन् । उनले बिहान बेलुकी खर्च जुटाउन हरेक किसिमका काम गर्दै आएको जानकारी दिए । ‘छोराहरू घरमा छैनन्, कामको खोजीमा विदेश गएका छन्,’ उनले भने, ‘कमाएको पैसा बुहारीलाई पठाउँछन् होला, हामी बुढाबुढीले आफ्नो ज्यान आफैं पाल्नुपर्छ ।’

घरबार केही नभएका कारण शारदा नगरपालिका-१, शान्तिनगरस्थित प्रतिक्षालयमा बस्दै आएका वर्ष ६० का बीरबहादुर बादीले आफूलाई पाल्ने कोही नभएकाले पनि सिपअनुसार मादल मर्मत गरेर गुजारा चलाउँदै आएको बताए । बुढेसकालमा प्रतिक्षालयमा चिसोमा बसेर काम गर्ने रहर नभए पनि बाध्यताले यस्तो बनाएको उनको भनाइ छ । ‘भोक लाग्छ, खाना खानैपर्छ,’ उनले भने, ‘त्यसको लागि काम नगरी सुख छैन ।’ बनगाडकुपिण्डे १०, ढोरपिपलकी ७५ वर्षीया वृद्धा कमला बुढाले घट्ट चलाएर चारजनाको परिवार पाल्दै आएको बताइन् । सरकारले दिने भत्ताले गर्जो नटार्ने हुँदा काम गर्नुपरेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र १५, २०७६ १०:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्