१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

सरकार भ्रष्टाचारको संस्थागत संरक्षणमा : नेता पौडेल

रासस

बैतडी — कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पना गर्न नसकिने बताएका छन् । नेपाल प्रेस यूनियनले आज गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले कुनै नयाँ कामको सुरुआत गर्न नसकेको बताए । 

सरकार भ्रष्टाचारको संस्थागत संरक्षणमा : नेता पौडेल

'सरकारले झुटो आश्वासन मात्रै बाँड्ने काम गरिरहेको छ,' उनले भने, 'आश्वासन मात्रै बाँडेर देशमा समृद्धि आउँदैन । देशमा समृद्धि ल्याउनका लागि सरकारले काम पनि गर्नुपर्छ ।' वर्तमान सरकार भ्रष्टाचारलाई संस्थागतरुपमा संरक्षण गर्न लागेको नेता पौडेलको आरोप थियो । उनले भने, 'सुन काण्ड, बालुवाटारकाण्ड, वाइड बडी, मेलम्ची, बूढीगण्डकीलगायतमा सरकारले भ्रष्टाचारलाई संरक्षण दिने काम गरेको छ । यो सरकारको कथनी र करणीमा भिन्नता छ ।'


प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भए पनि वर्तमान सरकार प्रेसलाई नियन्त्रणमा राख्ने दाउमा लागेको नेता पौडेलले बताए। उनले भने, 'पूर्ण प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पना गर्न सकिदैन । यो सरकार मिडिया काउन्सिल विधेयक ल्याएर प्रेसको घाँटी निमोठ्ने दाउमा लागेको छ । मानव अधिकार आयोग विधेयक ल्याएर मानव अधिकार हनन गर्ने दाउमा छ ।'


संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई वर्तमान सरकारले नै कमजोर बनाएको उनको आरोप थियो । नेता पौडेलले देश बाहिरबाट मन्त्रिपरिषद् बैठक सञ्चालन गर्नु संविधानविपरीत भएको बताए । उनले भने, 'सरकार सञ्चालन बाहिरबाट गर्नसक्ने कुरा संविधानले परिकल्पना नगरेको कुरा हो । यो सरकार संविधान कुल्चिँदै अघि बढेको छ ।'


देशमा आएको व्यवस्थालाई संस्थागत गर्नका लागि अब कांग्रेस एकढिक्का भएर अघि बढ्ने पौडेलले बताए। उनले भने, 'अब हामी एकढिक्का भएर अघि बढ्छौँ । लोकतन्त्रमा विश्वास गर्ने सबै मानिस एक हुनु जरुरी छ ।'

नेता पौडेल कार्यकर्तासँग भेटघाट र गिरिजाप्रसाद कोइराला फाउण्डेसनले आयोजना गरेको ‘तीज विशेष कार्यक्रम’ मा सहभागी हुन यहाँ आएका हुन ।


पार्टी प्रवेश गर्नेलाई पौडेलद्वारा स्वागत

विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गर्नेलाई पौडेलले सदस्यता वितरण गर्दै स्वागत गरेका छन् । सतारुढ नेकपाका नेता एवम् दलित मुक्ति मोर्चाको पूर्व जिल्ला उपाध्यक्ष जयराम लुहार, नारायणसिंह मार्कण्डेय, धनीराम चुनारा, सरस्वती टमाटा, वकिल बोहरा, नमराज बोहरालगायत आज कांग्रेस प्रवेश गरेका छन् ।

प्रकाशित : भाद्र १४, २०७६ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?