२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बिरामी बढे, डाक्टर छैनन्

गणेश चौधरी

(टीकापुर) — टीकापुर अस्पतालमा बिरामीको चाप बढेको छ । तर स्वास्थ्यकर्मीको संख्या भने घटिरहेको छ । मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्रकुमार खनाललगायत स्वास्थ्यकर्मी सरुवा भएर गएपछि सेवाग्राही मर्कामा परेका छन् ।

बिरामी बढे, डाक्टर छैनन्

बिरामीको चापअनुसार डाक्टर नहुँदा बिरामी थेग्न गाह्रो भएको डा. नवराज शर्माले बताए । ‘मेसु डा. खनाल, डा. पूर्णप्रसाद शर्मा जानुभयो । म पनि केही दिनमा जान्छु,’ उनले भने, ‘गर्मीमा बिरामीको चाप बढेको छ । जनशक्ति अभावले थेग्नै नसक्ने अवस्था छ ।’ टीकापुर नगरपालिकाले बालरोग र स्त्रीरोग विशेषज्ञका लागि विज्ञापन प्रकाशित गरेको छ । अस्पतालमा एक हाडजोर्नी र फिजिसियन कार्यरत रहेको जनाइएको छ । जिल्ला अस्पतालसरह मान्यता पाए पनि डाक्टर नभएपछि प्राथमिक स्वास्थ्य केन्द्रको अवस्था रहेको स्थानीय बताउँछन् । अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष रतन खड्काले भने, ‘यो अस्पताललाई प्रदेश मातहत कायम राखिएको छ । तर पुरै बेवास्ता गरिएको छ ।’ उनले डाक्टर नहुँदा अस्पतालका लागि चुनौती थपिएको बताए । ‘डा. खनालको नेतृत्वमा रहेको टिमले अस्पताल जस्तो बनाएको थियो । अब त्यो अवस्था रहने कि नरहने देखिएको छ ।’


अस्पतालमा कार्यरत डा. खनालसहित सरुवा भएका ल्याब टेक्निसियन विश्वास न्यौपाने, प्रमोद यादव र स्टाफ नर्स लक्ष्मी भट्टको एकैदिन बिदाइ गरिएको छ । विकास र व्यवस्थापनका लागि अस्पताल विकास समिति पनि गठन नहुँदा समस्या झन् बढेको छ । अस्पतालमा दिनहुँ करिब ४ सय बढी बिरामी उपचारका लागि आउँछन् । एक डाक्टरले दिनमा करिब सय बढी बिरामी हेर्नुपर्ने अवस्था छ । बिरामी चापका कारण जाँच्न सक्ने अवस्था नहुँदा फर्केर जानुपर्ने अवस्था रहेको अस्पतालले जनाएको छ । ओपीडीका लागि दिउँसो १२ बजेसम्म मात्र बिरामी पुर्जा दिने व्यवस्था भएकाले पुर्जाका लागि लामो लाइन बसेका बिरामी पालो नपाएर फर्कने गरेका छन् ।


गर्मीले भाइरल ज्वरोका बिरामी बढेका छन् । उपचार गर्ने डाक्टर भने छैनन् । करिब ४ वर्षअघि ५१ शय्याको अस्पताल घोषणा गरी विशेषज्ञ डाक्टरको दरबन्दी सिर्जना गरिए पनि सबै विशेषज्ञ डाक्टरको पदपूर्ति छैन । कार्यरत डाक्टर पनि समायोजनका कारण सरुवा भएपछि उपचारमा समस्या भएको छ । बालरोग, स्त्रीरोग, हाडजोर्नी, साइकियाट्रिक, फिजिसियन, कन्सल्टेन्ट सर्जन, एनेस्थेसियालोजिस्टलगायत विशेषज्ञ डाक्टरको दरबन्दी रहे पनि सबैको पदपूर्ति भएको छैन । अस्पतालमा प्रसूति सेवा, ओपीडी, आकस्मिक सेवा, र वार्ड तथा अप्रेसनका लागि छुट्टा–छुट्टै भवन बनेका छन् । गत वर्ष करिब ७० हजार बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ । टीकापुर अस्पतालले कैलालीको पूर्वी क्षेत्र र बर्दियाको राजापुर क्षेत्रका करिब ८ लाख जनसंख्यालाई स्वास्थ्य सेवा पुर्‍याउँदै आएको छ ।

प्रकाशित : भाद्र १४, २०७६ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?