कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

गौराको भव्य बिदाइ

गोठालापानीमा भेला भएका दर्शनार्थीलाई ५ प्रकारका पञ्च बिरुडाको प्रयोग गरी बनाइएको प्रसाद बाँडियो
तृप्ति शाही

(बैतडी) — जिल्लाभर गौराको उल्लास छ । सर्वसाधारणले आ–आफ्नो परम्पराअनुसार धूमधामले गौरा मनाइरहेका छन् । कतिपय स्थानमा गौरा बिसर्जन (समापन गरिएको) छ । कतिपय गाउँमा बिदाइको तयारी हुँदै छ ।

गौराको भव्य बिदाइ

सबै ठाउँमा एकै दिन गौरा बिसर्जन हुँदैन । बिहीबार सदरमुकाम गोठलापानीमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरी हर्षोल्लास साथ मनाइएको छ । शुक्रबार सिगास गाउँपालिकाको गाजँरी गौरामय भएको छ । अन्य विभिन्न ठाउँमा पनि गौरा भव्यताले मनाइएको छ । गोठलापानीमा मनाइएको गौरामा महिला–पुरुषले अलग–अलग देउडा खेलेका थिए । बाजागाजासहित बजारका विभिन्न स्थानबाट मुख्य बजार गोठलापानीको चोकमा आएका सर्वसाधारणले निकै तामझाम साथ गौरा मनाए ।


सुदूरपश्चिममा मनाइने गौरामा देउडा गीतहरूबाट आफ्नो दु:खसुख आपसमा साट्ने चलन छ । गौराको बिरुडा पवित्र प्रसाद मानिन्छ । बिदाइका दिन सबैले बिरुडाको प्रसाद ग्रहण गर्छन् । गोठालापानीमा भेला भएका दर्शनार्थीलाई ५ प्रकारका पञ्च बिरुडाको प्रयोग गरी बनाइएको प्रसाद बाँडिएको थियो । बजार व्यवस्थापन समिति र उद्योग वाणिज्य संघले बिरुडा वितरण गरेको बजार व्यवस्थापन समिति अध्यक्ष नरेन्द्रबहादुर चन्दले बताए । आफ्नो कला, संस्कृति जोगाउन यो कार्य गरेको उनले बताए । वाणिज्य संघकी सूचना अधिकृत कमला चन्दले भनिन्, ‘हाम्रोतिर गौरामा खाने मुख्य वस्तु नै बिरुडा भएकाले सबैलाई दिएका हौं ।’ उनले ८० किलो बिरुडा वितरण गरिएको बताइन् । गौरामा सबै आफन्तजनको भेटघाट हुनुका साथै व्यवसाय पनि राम्ररी चल्ने समिति अध्यक्ष चन्द बताउँछन् । उनले भने, ‘पहिलो र दोस्रो वर्षमा महिला र पुरुषको दोहोरी प्रतियोगिता भएको थियो ।


यो वर्ष देउडा खेल र बिरुडा बाँड्ने कार्यक्रम भयो ।’ गौरामा जिल्लाका सबै स्थानमा आ–आफ्नो एक मुख्य दिन मानेर मनाइने चलन रहेको सिगास गाउँपालिकाका चक्रबहादुर साउँद बताउँछन् । गौरा कृष्ण जन्माअष्टमीको दिन सुरु हुन्छ । विवाहित महिलाहरूले यो पर्वमा दुपधागोसमेत लगाउने चलन छ । उनीहरूले धागोको डोरी बाटेर घाँटीमा लगाउने एक प्रकारको डोरीलाई दुपधागो भन्ने गरिन्छ । यो धागो ब्राहमणबाट जपेर लगाइन्छ ।

प्रकाशित : भाद्र १४, २०७६ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?