१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अझै घोडा र खच्चडकै भर

खच्चड पालक भन्छन्, ‘हिउँदमा होपरी, दल्लेक, सेलालगायत ठाउँबाट काम मिल्थ्यो, अहिले दिनहुँजसो ढुवानीको काम पाइएको छ’
मनोज बडू

दार्चुला — सडक सञ्जालको विस्तारसँगै समान ढुवानीमा प्रयोग हुँदै आएका घोडा, खच्चड विस्थापित भए । पहिलेका तुलनामा यसको प्रयोग पनि कम हुन थाल्यो । तर, बर्खामा यहाँका अधिकांश सडक अवरुद्ध भएपछि भने ढुवानीका लागि घोडा र खच्चडको विकल्प हुँदैन ।

अझै घोडा र खच्चडकै भर

पहिलापहिला सबैतिर घोडा खच्चडकै भर हुन्थ्यो । ग्रामीण सडक सञ्जालको विस्तार हुँदै गएपछि ट्र्याक्टर, जिप नपुग्ने सीमित ठाउँमा मात्र खच्चडको प्रयोग हुन थालेको थियो । अहिले पुनः सबैतिर खच्चडकै भर पर्नुपरेको छ । वर्षाले ग्रामीण सडकहरू अवरुद्ध भएका छन् । स्थानीय बासिन्दालाई ढुवानीको अर्को विकल्प छैन ।


गत वर्ष सडक सञ्जाल जोडिएको व्यास र अपीहिमाल गाउँपालिकाका सडक अहिले हिलाम्मे छन् । गाडी चल्ने अवस्थामै छैनन् । ‘सडक अवरुद्ध भएकाले अहिले खच्चडकै भर पर्नुपरेको छ,’ व्यास गाउँपालिका ५ का नरेन्द्रसिंह धामीले भने, ‘व्यासका केहि भागमा सडक पुगेपछि खच्चड व्यवसाय संकटमा पर्छकि लागेको थियो । तर, अहिले पहिलाको जस्तै काम पाइएको छ ।’ यहाँका बासिन्दाले दैनिक उपभोग्य सामान चामल, पिठो, दाल, चिनीलगायत ब्यापारिक सामग्रीहरू खच्चडबाटै ढुवानी गर्दै आएका छन् ।


‘सडक नपुगेका गाउँमा त पहिल्यैदेखि समान ढुवानी गर्न भ्याइनभ्याई हुन्थ्यो,’ धौलाकोटका कल्यानसिंह धामीले भने, ‘यतिबेला सबैतिरका ग्रामीण सडक अवरुद्ध भएकाले काम र दाम राम्रै पाइएको छ ।’ १५ वर्ष अघिदेखि घोडा खच्चडबाटै व्यवसाय गर्दै आएका धामी सुरुमा भारतका विभिन्न ठाउँमा घोडा खच्चडबाट मालसामान ढुवानी गर्थे । भारतबाट समान ढुवानी गर्न छाडेको ३ वर्ष मात्र भएको उनले बताए । ‘पहिला जस्तो काम नपाए पनि विकट क्षेत्रमा अझै काम पाइएकै छ,’ उनले भने, ‘निर्माण सामग्री ढुवानीको कामहरू आइरहन्छ ।’


ग्रामीण सडक नखुल्दासम्म दार्चुलामा खच्चड व्यवसाय फस्टाएको थियो । व्यवसाय राम्रो हुन थालेपछि यहाँका धेरैले खच्चड किनेका थिए । क्रमशः सडक बन्नु र यातायातका साधान सञ्चालन हुन थालेसँगै अधिकांशले बिक्री गरेका थिए । जिप ट्याक्टर चल्न थालेपछि खच्चडको भाडा पनि घटेको हो । व्यवसायी दरपानसिंह विष्टले भने, ‘सदरमुकामदेखि सुन्सेरासम्म ढुवानी भाडा प्रतिकिलो ८ रुपैया थियो । अहिले भाडादर बढेको छ । अहिले फेरी दुरीअनुसार २ रुपैयादेखि ३०/३२ रुपैया प्रतिकिलोसम्म ढुवानी भाडा लिने गरेका छौं ।’


अर्का खच्चड व्यवसायी नौगाड गाउँपालिका १, इयरकोटका उञ्जलेसिंह डडालले भने, ‘हिउँदमा होपरी, दल्लेक, सेलालगायतका ठाउँबाट ढुवानी मिल्थ्यो । अहिले दिनहुँजसो ढुवानीको काम पाइएको छ ।’ संख्या थोरै भए पनि जिल्लाका सबै स्थानीय तहमा घोडा खच्चड चलेको उनले बताए ।


खच्चडबाट ढुवानी गर्न विश्वास र सुरक्षित रहेको अपीहिमाल गाउँपालिका ६, सितोलाका राजेन्द्र बुढाथोकीले बताउँछन् । यहाँ सडक सञ्जाल नजोडिएकाले पारिबगडसम्म गाडीमा ढुवानी गर्ने र त्यहाँबाट खच्चडबाटै समान ढुवानी हुँदै आएको छ । गाडीको पहुँच नभएको समयमा यात्रा गर्न, खाद्यान्न सामान, फेन्सी सामान तथा अन्य सामग्रीको ढुवानीका निम्ति घोडा खच्चडको प्रयोग हुने गरेको मार्मा गाउँपालिकास्थित लटिनाथका सुरेन्द्र विष्ट बताउँछन्

प्रकाशित : भाद्र १३, २०७६ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?