कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

समाचार प्रभाव : असहायलाई नयाँ घर

अछाम — भत्किन थालेको सानो झुपडीमा २ छोराछोरी च्यापेर आधा पेट रात काट्ने मंगलसैन नगरपालिका ७ की कलु उपाध्यायको सधैं अध्याँरो देखिने अनुहारमा अहिले चमक देखिन्छ । यतिबेला उनलाई कहाँ बसुँ भन्ने झर्को छैन ।

समाचार प्रभाव : असहायलाई नयाँ घर

गत फागुनमा कान्तिपुरमा उनले भोग्दै आएको कठिनाइबारे समाचार प्रकाशन गरेपछि उनको घर बनाउन सहयोग जुट्न थाल्यो । अफ्रिकामा रहेका अछामको मंगलसैन नगरपालिका ३ का भरत बोगटीले समाचार पढेपछि उनलाई सहयोग जुटाउन अग्रसर भए । नेपालमा रहेका साथीहरूलाई पनि जानकारी गराएर रकम जुटाउन थाले ।


‘मैले एक्लैले सामान्य सहयोग गर्ने कि भनेर सोचेको थिएँ । साथीहरूले अलिकति हामी पनि सहयोग गर्छौं भनेपछि सबै लाग्यौं,’ उनले भने, ‘शोडषा भूतपूर्व विद्यार्थी समाजले अभियानै चलायो ।’ जुटाएको सहयोग रकमबाट कलुको ४ कोठे घर बनेको छ ।


घर निर्माण गर्न ४९ हजार शोडषा भूतपूर्व विद्यार्थी समाजले जुटायो । ‘फजुल खर्च घटाएर सहयोग गर्‍यौं,’ अध्यक्ष शंकर भण्डारीले भने । विद्यार्थी समाजकै आग्रहमा मंगलसैन नगरपालिकाले समेत १ लाख उपलब्ध गराएको नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायले बताइन् ।


उनका अनुसार अछामका तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, हालका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, प्रहरी प्रमुख (डीएसपी) जनकबहादुर शाहीले समेत घर निर्माणमा सहयोग गरेका थिए । नयाँ घरमा बस्न सुरु गरेकी कलुले हातको इसारा गर्दै खुसी व्यक्त गरिन् । ‘अब अरूको घरमा बास माग्न जानुपर्ने दुःखका दिन गए । मेरो घर बनाइदिने सबैलाई धन्यवाद,’ उनले भनिन् ।


सदरमुकाम मंगलसैनबाट ३ घण्टाको दूरीमा रहेको खेताडा गाउँको एक छेउमा उमेरले ४६ वर्ष पुगेकी उनी न हिँड्न सक्छिन् न राम्रोसँग बोल्न । मंगलसैन ७ का गोरे पाध्यायले उनीसंँग बिहे गरेको १५ वर्ष भयो । त्यतिखेर कलु र गोरेको उमेर ३१ वर्ष फरक थियो । गोरेका २२ वर्षीया एक्ला छोराको मृत्यु भएपछि उनले अर्को विवाह गर्ने निधो गरे ।छोराको मृत्यु अघि नै पत्नीको मृत्यु भएको थियो ।


गोरे पाध्यायलाई विवाह गर्न समाजले दबाब दिन थाल्यो । छोरा नभए अपुताली हुन्छ भन्ने मान्यताले गोरे अर्को बिहे गर्न बाध्य भए । नभन्दै उनका वर्षदिनको अन्तरमा २ छोरा र एक छोरी भए । ०७४ साउनमा गोरेको मृत्यु भयो । पतिको मृत्युपछि कलुका दुःखका दिन सुरु भए । जेठा छोरा विनोदको उमेर १३ वर्ष भयो ।


कापी, कलमको जोहो गर्न सक्ने अवस्था नभएपछि ५ कक्षा पढेर स्कुल जान छोडेर भारतमा चौकीदारी गर्न गएका छन् । कान्छो छोरालाई गाउँका मान्छेले पढाइ दिन्छौं भनेर कता लगे पत्तो छैन,’ कलुले इसारा गर्दै भनिन्, ‘अनाथलयमा राखेको छ भन्ने सुन्छु । तर कहाँ छ । कस्तो अवस्थामा छ मलाई केहि पनि थाहा छैन ।’

प्रकाशित : भाद्र १३, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?