भाइरलका बिरामी बढे

तृप्ति शाही

बैतडी — जिल्लामा भाइरलका बिरामी बढेका छन् । भाइरल ज्वरो, रुघाखोकी र टाउको दुख्नेका बिरामी साउनबाटै देखिन थालेका हुन् । जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रसँगै अन्य स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने बिरामीको चाप बढेको छ ।

बैतडी जिल्ला अस्पतालमा उपचारका लागि आएका बिरामी । आजभोलि अस्पतालमा आउने अधिकांश बिरामी भाइरलका छन् ।  तस्बिर : तृप्ति/कान्तिपुर

अहिले जिल्ला अस्पतालमा मात्रै दैनिक ३५ बढी भाइरल ज्वरोका बिरामी मात्र आउने गरेको मेडिकल अफिसर डा. वसन्तराज जोशीले बताए । उनले भने, ‘केही साता भयो, अस्पतालमा आउने बिरामीमध्ये आधा त भाइरलका मात्र आउने गरेका छन् । ७० भन्दा बढी बिरामी दैनिक आउँछन् त्यसमा आधाभन्दा बढी ज्वरो र टाउको दुख्नेका आइरहेका छन् ।’

यस्तै प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा पनि भाइरलका बिरामी बढेका छन् । भाइरलसँगै टाइफाइडका बिरामी आउने क्रम बढेको दशरथचन्द नगरपालिका ९ को जोशीवुंगा स्वास्थ्य चौकी इन्चार्ज शिवकुमार कठरियाले बताए । अहिले गाउँघरमा धेरै जसोलाई एकै प्रकारको लगातार ज्वरो आउने, टाउको दुख्ने र वान्ता हुने रोग देखिएको दशरथचन्द नगरपालिका ४ कि सुनीता भण्डारीले बताइन् ।

मौसम परिवर्तनले सबैलाई एकैपटक भाइरल देखिएको जिल्ला अस्पतालका प्रमुख डा. जगदीशचन्द्र विष्टले बताए । ५ देखि ८ दिनसम्म बिरामीलाई यो समस्या देखिने गरेको उनको भनाइ छ । दैनिक ३ भन्दा बढी बिरामी जिल्ला अस्पतालमा मात्र भर्ना नै हुनुपर्ने अवस्था रहेको उनले बताए । ‘रोगसंँग लड्ने क्षमता कम भएकालाई भाइरलले सताउने गरेको छ,’ डा. विष्टले भने, ‘अलि बढी दिनसम्म देखिन्छ । केहीलाई भने कमै दिनमा पनि ठीक हुने गरेको छ ।’ यसबाट जोगिन पानी उमालेर खाने, भीडभाड भएको ठाउँमा नजानेलगायत सावधानी अपनाउन जरुरी रहेको उनले बताए ।

आईयूसीडी प्रयोक्ता बढे
पाटन नगरपालिका १ का धेरैजसो महिला आईयूसीडीको प्रयोग गरिरहेका छन् । वडामा रहेको सकार स्वास्थ्य चौकीमा २०७४ साल बाट यो परिवार नियोजनको अस्थायी साधनको सुविधा आएपछि प्रयोग गर्नेहरूको संख्या बढेको हो ।

अन्य अस्थायी साधनभन्दा यो बढी मात्रामा खपत भएको छ । वडाको स्वास्थ्य संस्थामा परिवार नियोजनका अस्थायी साधन पिल्स, डिपो, इम्प्लान्ट र आईयूसीडी गरी ४ प्रकारका साधन उपलब्ध छन् । तर त्यहाँका महिलाहरूको पहिलो रोजाई आईयूसीडीनै पर्ने गरेको छ ।

३ छोरी र १ छोरा गरी ४ सन्तानकी आमा ३५ वर्षिया दमयन्ती भट्टराई पनि सबैभन्दा पहिले आईयूसीडी राख्ने समूहकी महिला हुन् । स्वास्थ्यकर्मीहरूले बुझाउँदा धेरै समयसम्म काम गर्ने साधन प्रयोग गर्दा राम्रै होला भनेर राखेको उनले बताइन । उनले अरु साधन भन्दा यस्ले राम्रो गरेको र अहिले धेरै सजिलो लागेको भन्दै खुसी व्यक्त । उनले भनिन्, ‘अरु साधन जस्तो दैनिक र महिनामा बदल्न पर्दैन ।’

‘एकपटक राखेपछि वर्षौंसम्म ढुक्क भइन्छ । अहिले सबैको मन जित्यो हाम्रो, अनि सबै भन्दा धेरै हाम्रो गाउँमा प्रयोगमा आउने गरेको छ’ दमयन्तीले भनिन ‘यसले कुनै नराम्रो असर पनि गरेको छैन आज सम्म ।’ आफुहरूलाई स्वास्थ्यकर्मीहरूले यसबारे जानकारी गराएको भन्दै उनले अरु दिदीबहिनीहरूलाई आफुहरूले यसको फाईदाका बारेमा भन्दै गएकोले पनि प्रयोग गर्नेहरू बढेको बताईन् ।
श्रीमान्ले कण्डम प्रयोग गर्न आनाकानी गर्ने गरेको बताउँदै अर्की स्थानीय पद्मा भट्टराईले पिल्स खान र डिपो लगाउँन झन्झट लाग्ने गरेको बताईन् । दिनदिनै खानुपर्ने पिल्स र ३ महिनामा लगाइ हाल्नुपर्ने डिपोले हैरान भएकी उनले आईयूसीडी राखेपछि धेरै वर्षको लागि सजिलो भएको बताईन् । उनले भनिन्, ‘वर्षौ सम्म चिन्ता छैन । असर पनि कुनै गरेको छैन । अनि सबैले यहि मागेका छौ ।’

२०७४ को साउन म हिना बाट सुरु भएको सेवामा सुरुमा ८ जना महिलाहरूले मात्र राखेका स्वास्थ्य चौकीका अहेव नरेन्द्ररराज भट्टराईले बताए । दिदीबहिनीहरूलाई धेरै सम्झाइ , बुझाइ गरी राखेको सम्झदै उनले भने, ‘पछिल्लो समय त आफ्नै राखिदिन पर्‍यो भनेर आउनुहुन्छ ।’ आमा समूहमा स्वास्थ्यकर्मीहरू गएर धेरै जानकारी दिँदा मात्र महिलाहरू यसप्रति आकर्षित हुन पुगेका उनले बताए । ‘स्वयंसेविकाहरू लगायतले सहयोग गर्दा यो अवस्थामा पुगिएको हो’ उनले भने ।

५ सय ८७ धरधुरी रहेको उक्त वडामा आव २०७४/७५ मा १ सय १७ जना महिलाहरू आईयूसीडीको प्रयोगकर्ता रहेका उनले बताए । यस्तै ७६ जनाले पिल्स, ३८ जनाले डिपो र २९ जनाले इम्प्लान्टको प्रयोग गरेका थिए ।अहिल आइयूसीडी प्रयोग गर्नेहरूको संख्या बर्षेनी बढिरहेको छ । आव २०७५/७६मा १ सय ६२ जना र चालु आवको अहिलेसम्म १ सय ६७ महिलाले आयूसीडी प्रयोग गरिरहेको सकार स्वास्थ्यचौकीको तथ्यांकमा उल्लेख छ ।

जिल्लाको सबैभन्दा बढी आईयूसीडी प्रयोग हुने स्थान पाटन नगरपालिकाको वडा नम्बर १ नै भएको स्वास्थ्य कार्यालयमा परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशीले बताए । स्वास्थ्यकर्मीको पहलमा यो संम्भव भएको उनको भनाई छ । महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्लैे प्रयोग गरेर अरुलाई गर्न भनेकोले पनि बढेका उनको धारणा थियो ।

अन्य ठाउँमा राखेपनि कमले मात्र राख्ने गरेका उनले बताए । इम्प्लान्ट, डिपो र पिल्सको बढी प्रयोग जिल्लाका अन्य ठाउँमा हुने र आईयूसीडी न्यून मात्रामा हुने जोशीले जानकारी दिए । जिल्लाका अन्य स्थानका इम्प्लान्ट धेरै राख्ने तर आईयूसीडी राख्न नमान्ने गरेको मेरी स्टोप्स यूएनएफपीए बैतडीकी प्रोजेक्ट अफिसर कलापती चौधरीले बताइन् ।

प्रकाशित : भाद्र १३, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्

जंगली जनावरको त्रास : ज्यान असुरक्षित, खेती सखाप

मेनुका ढुंगाना

अछाम — भालुको आक्रमणबाट सातादिनअघि मंगलसैन नगपालिका ७, खेताडाका तीनजना घाइते भए । भालुको आक्रमणबाट ५० वर्षीय प्रेम ढुंगाना, २ वर्षीय ओमप्रकाश दमाई र ७ वर्षीया उर्मिला दमाई घाइते भए । अहिले यहाँका बालबालिका भालुको त्रासले स्कुल आउजाउ गर्नसमेत डराइरहेका छन् ।

खेताडा गाउँमा रहेको कालिका आधारभूत विद्यालयमा साढे २ सय विद्यार्थी अध्ययन गर्छन् । तर गाउँमा जंगली जनावरले आक्रमण गर्ने डरले विद्यार्थी पढन नआउने शिक्षक तुलसी ढुंगाना बताउँछिन् ।

‘गाउँमै भालुले आक्रमण गरेपछि स–साना बालबालिका विद्यालय आउन डर मान्छन्,’ उनले भनिन्, ‘मकैबारी भएको ठाउँमा भालुलगायतका जनावर बढी आउछन् । जंगली जनावरले यहाँका बालबालिका मात्रै होइन सबै त्रासमै बसेका छन् ।’ उनका अनुसार विद्यालयमा पढिरहेका २ सय ५० विद्यार्थीमध्ये अहिले बालविकास कक्षा १ देखि ५ सम्म करिब ५५ विद्यार्थी मात्रै कहिलेकाहीं विद्यालय आउनेगरेका छन् ।

जंगली जनावरको त्रास
जंगली जनावरले वर्षे बाली मकै नष्ट गर्न थालेपछि अछामका किसान चिन्तित बनेका छन् । मुख्य खाद्य बालीका रूपमा रहेको मकै र अन्य तरकारी खेती लगातार जंगली जनावरले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन् । मकैलगायत तरकारी फल्ने बेला भालु, बँंदेल, दुम्सी र बाँदरले बाली नष्ट गर्न थालेपछि अनिकाल पर्ने चिन्ताले पिरोल्न थालेको मंगलसैन नगरपालिका ७ का कृषक रमेश दमाईले बताए ।

राति पहरा दिए पनि बाली जोगाउन मुस्किल भएको स्थानीयको भनाइ छ । ‘जंगली जनावरले आतंक मच्चाउन थालेपछि बाली जोगाउन यो क्षेत्रका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन्,’ उनले भने, ‘वर्षाको समयमा रातभर बारीमै बस्नुपरेको छ । हिउँद होस् या वर्षा जहिल्यै यस्तै दुःख हुन्छ ।’ खेती मात्र होइन ज्यानै असुरक्षित हुँदा स्थानीय प्रशासनलाई जानकारी गराउँदा पनि समस्या उस्तै रहेको रमेशले बताए । ‘कति दिन बारीमै बसियो । कति दिन भोकै बसियो । जंगली जनावरलाई मार्न पनि पाइँदैन,’ उनले भने, ‘वर्षभरि गरेको मिहिनेत जंगली जनावरले एकै रातमा सखाप पार्छ हामीले के गर्ने ?’

जंगली जनावरले क्षति नगरोस् भनेर कतिले तारबारले घेरेका छन् । कतिपयले खेतको भित्तामा कपडाको पर्खाल लगाएका छन् । तर, जंगली जनावरको ज्यादति रोकिएन । उनका अनुसार जुन बाली लगाए पनि जंगली जनावरले क्षति गरेपछि अहिले सबै जग्गा बाँझै छाडेर विकल्पमा भारततिर लाग्नुपरेको छ ।

स्थानीय जंग विक पनि जंगली जनावरले बालीमा क्षति पुर्‍याउन थालेसँगै कृषि पेसा परिवर्तन गरेका छन् । कृषि बाली सबै नष्ट गरेपछि लेकको बसाई छोडेर उनी औलमा झरेका छन् । कामका लागि भने आफू भारत जाने उनले सुनाए । ‘जंगली जनावरले जे बाली लगायो सबै खाएर नष्ट बनाएपछि अहिले अधिकांश उर्वर जमिन सबै बाँझिएको छ,’ उनले भने, ‘आफ्नो सम्पत्ति भनेकै यही जग्गा थियो, त्यो पनि जंगली जनावरका कारण प्रयोगविहीन भएपछि हामी सबै किसान विकल्पमा अर्को पेसा अंगाल्न बाध्य भएका छौं ।’ जंगली जनावरले कृषि बालीमा क्षति पुर्‍याएसँगै मंगलसैनमा मात्रै करिब तीन हजार रोपनी जग्गा बाँझो रहेको स्थानीय बताउँछन् ।

जिल्लामा ४६ हजार हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये अहिले ३ हजार हेक्टर जमिन बाँझो छ ।

प्रकाशित : भाद्र १३, २०७६ ०९:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्