१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

जंगली जनावरको त्रास : ज्यान असुरक्षित, खेती सखाप

मेनुका ढुंगाना

अछाम — भालुको आक्रमणबाट सातादिनअघि मंगलसैन नगपालिका ७, खेताडाका तीनजना घाइते भए । भालुको आक्रमणबाट ५० वर्षीय प्रेम ढुंगाना, २ वर्षीय ओमप्रकाश दमाई र ७ वर्षीया उर्मिला दमाई घाइते भए । अहिले यहाँका बालबालिका भालुको त्रासले स्कुल आउजाउ गर्नसमेत डराइरहेका छन् ।

खेताडा गाउँमा रहेको कालिका आधारभूत विद्यालयमा साढे २ सय विद्यार्थी अध्ययन गर्छन् । तर गाउँमा जंगली जनावरले आक्रमण गर्ने डरले विद्यार्थी पढन नआउने शिक्षक तुलसी ढुंगाना बताउँछिन् ।


‘गाउँमै भालुले आक्रमण गरेपछि स–साना बालबालिका विद्यालय आउन डर मान्छन्,’ उनले भनिन्, ‘मकैबारी भएको ठाउँमा भालुलगायतका जनावर बढी आउछन् । जंगली जनावरले यहाँका बालबालिका मात्रै होइन सबै त्रासमै बसेका छन् ।’ उनका अनुसार विद्यालयमा पढिरहेका २ सय ५० विद्यार्थीमध्ये अहिले बालविकास कक्षा १ देखि ५ सम्म करिब ५५ विद्यार्थी मात्रै कहिलेकाहीं विद्यालय आउने गरेका छन् ।


जंगली जनावरको त्रास

जंगली जनावरले वर्षे बाली मकै नष्ट गर्न थालेपछि अछामका किसान चिन्तित बनेका छन् । मुख्य खाद्य बालीका रूपमा रहेको मकै र अन्य तरकारी खेती लगातार जंगली जनावरले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित बनेका हुन् । मकैलगायत तरकारी फल्ने बेला भालु, बँंदेल, दुम्सी र बाँदरले बाली नष्ट गर्न थालेपछि अनिकाल पर्ने चिन्ताले पिरोल्न थालेको मंगलसैन नगरपालिका ७ का कृषक रमेश दमाईले बताए ।


राति पहरा दिए पनि बाली जोगाउन मुस्किल भएको स्थानीयको भनाइ छ । ‘जंगली जनावरले आतंक मच्चाउन थालेपछि बाली जोगाउन यो क्षेत्रका स्थानीय रातभर जाग्राम बस्ने गरेका छन्,’ उनले भने, ‘वर्षाको समयमा रातभर बारीमै बस्नुपरेको छ । हिउँद होस् या वर्षा जहिल्यै यस्तै दुःख हुन्छ ।’ खेती मात्र होइन ज्यानै असुरक्षित हुँदा स्थानीय प्रशासनलाई जानकारी गराउँदा पनि समस्या उस्तै रहेको रमेशले बताए । ‘कति दिन बारीमै बसियो । कति दिन भोकै बसियो । जंगली जनावरलाई मार्न पनि पाइँदैन,’ उनले भने, ‘वर्षभरि गरेको मिहिनेत जंगली जनावरले एकै रातमा सखाप पार्छ हामीले के गर्ने ?’


जंगली जनावरले क्षति नगरोस् भनेर कतिले तारबारले घेरेका छन् । कतिपयले खेतको भित्तामा कपडाको पर्खाल लगाएका छन् । तर, जंगली जनावरको ज्यादति रोकिएन । उनका अनुसार जुन बाली लगाए पनि जंगली जनावरले क्षति गरेपछि अहिले सबै जग्गा बाँझै छाडेर विकल्पमा भारततिर लाग्नुपरेको छ ।


स्थानीय जंग विक पनि जंगली जनावरले बालीमा क्षति पुर्‍याउन थालेसँगै कृषि पेसा परिवर्तन गरेका छन् । कृषि बाली सबै नष्ट गरेपछि लेकको बसाई छोडेर उनी औलमा झरेका छन् । कामका लागि भने आफू भारत जाने उनले सुनाए । ‘जंगली जनावरले जे बाली लगायो सबै खाएर नष्ट बनाएपछि अहिले अधिकांश उर्वर जमिन सबै बाँझिएको छ,’ उनले भने, ‘आफ्नो सम्पत्ति भनेकै यही जग्गा थियो, त्यो पनि जंगली जनावरका कारण प्रयोगविहीन भएपछि हामी सबै किसान विकल्पमा अर्को पेसा अंगाल्न बाध्य भएका छौं ।’ जंगली जनावरले कृषि बालीमा क्षति पुर्‍याएसँगै मंगलसैनमा मात्रै करिब तीन हजार रोपनी जग्गा बाँझो रहेको स्थानीय बताउँछन् ।


जिल्लामा ४६ हजार हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये अहिले ३ हजार हेक्टर जमिन बाँझो छ ।

प्रकाशित : भाद्र १३, २०७६ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?