२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

वसन्ता करिडोर : काटिँदै १ सय २१ रुख

मोहन बुढाऐर

धनगढी — हुलाकी सडकअन्तर्गत वसन्ता करिडोरभित्र बाँकी रहेको २ किमि सडक निर्माणको बाटो खुलेको छ । त्यस खण्डको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भएपछि त्यहाँ रहेका रुखहरू हटाइने काम सुरु हुने आयोजनाले जनाएको छ ।

वसन्ता करिडोर : काटिँदै १ सय २१ रुख

पाँच वर्षअघि सम्पन्न भई सक्नुपर्ने हुलाकी सडक वसन्ता करिडोरमा अन्योल भएकाले पूरा हुन सकेको थिएन । पहिलोपटक तयार गरी पेस गरिएको ईआईए प्रतिवेदन वन मन्त्रालयले वन्यजन्तु मैत्री सडकको आवश्यकता औल्याउँदै अस्वीकृत गरेको थियो ।


हुलाकी सडकका इन्जिनियर पदम मडैले वन्यजन्तुमैत्री सडक निर्माण गर्ने सहमतिमा दोस्रोपटक वन मन्त्रालयले ईआईए स्वीकृत गरेको बताए । उनका अनुसार पछिल्लो पटक स्वीकृत प्रतिवेदनमा हुलाकी सडकको ३० मिटर भित्रका सबै रुख नहटाइने भएको छ । सडकको संरचना तयार हुने १२ मिटर चौडाइमा १ सय २१ रुख मात्रै हटाइने छ । ३० मिटर भित्र ४ सय १ रुखहरू परेका थिए ।


वन कार्यालयले सडक निर्माण गरे पनि वन्यजन्तुको ओहोरदोहोरका लागि ओभरहेड र अन्डर पास निर्माण गर्नुपर्ने सर्त राखिएको छ । जिल्ला वन अधिकृत रामचन्द्र कँडेलले निर्माणमा ढिलाइ नहोस् भनेर तत्काल सडकको संरचना बनाउन रुख कटानको अनुमति दिइए पनि वन्यजन्तु ओहोरदोहोरका लागि ओभरहेड र अन्डरपास निर्माण गरिनुपर्ने सर्त रहेको बताए ।


वसन्ता जैविकमार्ग भारतको दुधुवा नेसनल पार्कसँग जोडिएको छ । दुदुवा नेसनल पार्कका बाघ, हात्तीलगायत ठूला वन्यजन्तु उक्त नाकाबाट ओहोरदोहोर हुने गरेका छ । यो अन्तर्राष्ट्रिय जैविक मार्गको मुख्य नाका भएको वन अधिकृत कँडेलको भनाइ छ । सडक आयोजनाका सूचना अधिकारी मडैले तत्काल संरचना निर्माण गर्न रुख कटानका लागि वन कार्यालयसँग प्रक्रिया अघि बढाइने बताए । ‘वन्यजन्तु ओहोरदोहोरका लागि ओभरहेड र अन्डरपास संरचनाका लागि बजेटिङ र डिजायनको काम गर्दै जाने छौं,’ उनले भने, ‘अब सडक निर्माणमा ढिलाइ गरिन्न ।’


कैलालीको हसुलियाको कटनी नदी पूर्वको २ किमि क्षेत्र वसन्ता जैविक मार्गको दुदुवा नेसनल पार्कसँग जोड्ने मुख्य नाका हो । हुलाकी सडकको वसन्ता जैविक मार्गभित्र १८ किमि पर्छ । टन्टी पवेरा वसन्ता जेबी ठेकादार कम्पनीले २ किमि जंगल क्षेत्र बाहेकको १६ किमि खण्डको निर्माणको काम गरिरहेको बताए । उक्त कम्पनीले हालसम्म ६० प्रतिशत मात्र काम गरेको इन्जिनियर मडै बताउँछन् ।


भारत सरकारको सहयोगमा निर्माण हुन लागेको पूर्व–पश्चिम हुलाकी सडकको पहिलो चरणको कामअन्तर्गत कैलालीमा निर्माण सुरु गरेको थियो । भारतीय कम्पनीले ०७२ मा धनगढीदेखि हसुलियासम्म ३१ र भजनीदेखि सत्ती कर्णालीसम्म १२ किमि गरी ४३ किमि सिंगल सडक निर्माण गरेको थियो । त्यसबेला उक्त १८ किमि सडकको ईआईए पूरा गरी रुख हटाउन नसकेकाले भारतीय निर्माण कम्पनीले काम अधुरै छोडेर फर्केको इन्जिनियर मडै बताउँछन् ।


नेपाल–भारत सम्झौताअनुसार सन् २०१० बाट पहिलो चरणमा ६ प्याकेजमा हुलाकी सडक निर्माणको ठेक्का सुरु भएको थियो । पहिलो चरणको ६ प्याकेजमा धनगढी–भजनी–सत्ती–खक्रौलासम्मको ६१.७ किमि हुलाकी सडक निर्माणको ठेक्का भारतीय कम्पनी जीआर गावतले लिएको थियो ।

प्रकाशित : भाद्र १२, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?