भड्किलो बन्दै तीज

मेनुका ढुंगाना

अछाम — अछाममा तीज मनाउन थालिएको धेरै भएको छैन । तीजमा व्रत बस्ने, सामान्य नाचगान गर्ने र रमाइलो गर्न थालेको १० वर्ष जति मात्रै भयो । यसअघि तिज मनाउँदा यातायात, सञ्चारको सुविधा सबै ठाउँमा पुगेको थिएन ।

भड्किलो बन्दै तीज

बर्खे कामको चाप सकिएपछि मनाइने तीजमा माइतीहरूले पनि फुर्सद मिलाएर चेली बोलाइ मीठो–मसिनो खुवाउने बहाना हुन्थ्यो । त्यतिबेला तीजमा आफूहरूले वर्षभरि भोगेका दुःख–पीडा गीतका माध्यमबाट साटने चलन थियो । बुहारी भइसकेपछि कामको बोझ थपिने र आफ्नै घरको चुलो–चौकामा सीमित हुनुपर्ने बेला थियो ।


माइत जाँदा घरका सबैको अनुमति चाहिने र अर्कोतिर कामको बोझले आमाबुबा र दाजुभाइलाई भेट्न सहज थिएन । त्यसैले महिलाले तीजलाई नै माइत जाने बहाना बनाउँथे । सामान्य लवाइखवाइ र गरगहनामा मनाइने पहिलेको तिज र अहिलको परिवेशलाई हेर्दा दायरा फराकिलो भएको देख्न सकिन्छ ।


तीज मनाउने तरिका फरक र भडकिलो देखिएको अहिलेको गहना बजारबाट पनि प्रस्टै हुन्छ । मंगलसैनमा १८ वर्षदेखि सुनचाँदी व्यवसाय गर्दै आएका हेमराज सुनारका अनुसार तीजको समयमा ३/४ वर्षयता सुनचाँदीको व्यापार बढेको छ । ‘दिनप्रतिदिन व्यापार बढदै छ ।


अहिले प्रतितोला सुनको ७४ हजार रुपैयाँ नाघे पनि गहना बनाउनेको संख्यामा कमी आएको छैन,’ हेमराजले भने, ‘पछि सुनको मूल्य झन् बढ्छ होला भनेर अहिले नै गहना बनाउन आउने धेरै देखेको छु । सुनको मूल्य बढ्नु र घट्नुसंँग आवश्यकता तुलना गर्न नमिल्दो रहेछ ।’ उनका अनुसार मंगलसैनमा मात्रै ८ सुनचाँदी पसल छन् । यी सबैमा गहना बनाउनेको चाप देखिन्छ । अहिले एउटा पसलबाट दैनिक ४ तोलाभन्दा बढी सुनका गहना खरिद–बिक्री भइरहेका छन् ।


तीजमा गरगहनासँगै लत्ताकपडाको खरिद–बिक्री पनि राम्रै हुन्छ । तीज आएपछि लेहेंगा, साडी, कुर्ताजस्ता पहिरन खोज्ने महिला बढेको मंगलसैनमा फेन्सी पसल चलाइरहेकी इन्दु पाण्डे बताउँछिन् । ‘अछाममा पहिले जस्तो सामान्य पहिरनमा तीज मनाउनेहरू कम छन् । विशेष गरी रातो र हरियो साडी, लेहेंगा, कुर्ता–सुरुवालको माग बढिरहेको छ ।’


दर खाने चलन तीज मनाउने अर्को पक्ष हो । विभिन्न समूह, कार्यालय र संघ–संस्थाले नै महिलालाई दर खुवाउन पार्टीको आयोजना गरिरहेका छन् । महिलाहरूका आफ्नै समूहले पनि तीज आउन १५ दिन अघिदेखि दर खान र खुवाउन सुरु गरेको देख्न सकिन्छ । ‘तीजको व्रत बस्ने अघिल्लो दिनमा अफ्ठ्यारो नहोस् भनेर दर खान्थे । विशेष गरी व्रत बस्ने महिलाहरू मात्रै दर खाने चलन थियो,’ मंगलसैन ५ की जानकी बोहराले भनिन्, ‘अहिले एक महिना अघिदेखि दर खान सुरु हुन्छ ।’


मंगलसैनकै ललिता विकका अनुसार तीजलाई भडकिलो तरिकाले मनाउन थालेपछि आर्थिक अवस्था सामान्य भएका परिवारका महिलालाई असर परेको देखिन्छ । ‘जेठानी देवरानीको लवाइ–खवाइअनुसार पनि चल्नैपर्छ । अरु सबै गहनामा सजिएर गएको ठाउँमा केहि नभएको महिलालाई जान गाह्रै पर्छ,’ उनले भनिन्, ‘तीज महँगो र भडकिलो हुँदा धेरैको घरमा झगडासमेत हुने गरेको छ ।’ उनका अनुसार व्यापार व्यवसाय र जागिरे महिलालाई महँगो मानिएको तीज मनाउन सजिलो भए पनि देखावटी गर्नेलाई भने गाह्रो देखिएको छ ।


जिल्लाका केही स्थानीय तहले गत वर्ष महिलाहरूलाई तीज मनाउनकै लागि बजेट विनियोजन गरेका थिए । यसपटक भने गरेनन् । सबै महिलालाई समेट्न नसकिएको भन्दै विभिन्न विवाद सिर्जना भएपछि यो वर्ष तीज मनाउन बजेट नछुट्याइएको मंगलसैन नगरपालिका उपप्रमुख सरिता उपाध्याय बताउँछिन् ।


‘गत वर्ष मंगलसैनका १४ वटै वडामा १०/१० हजारका दरले तीज मनाउन बजेट छुट्याएका थियौं । सबैको चित्त बुझाउन नसकेपछि विवाद आयो,’ उनले भनिन्, ‘महिलाका लागि छुट्याएको रकम सीप विकास, नेतृत्व विकास र महिला सशक्तीकरणका कार्यक्रम बनाउनेछौं ।’ कमलबजार नगरपालिकाले भने तीजकै लागि भनेर बजेट नछुट्याए पनि विविधबाट खर्च गरी तीजका लागि रकम निकाल्न सकिने उपप्रमुख भूमिशरण बजगाईले बताइन् ।

प्रकाशित : भाद्र १२, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?