३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मूल्य बढेपछि व्यापार ठप्प

व्यापारी भन्छन्, 'ग्राहकहरू सुन बेच्न मात्रै आउँछन्’
निर्मला खडायत

धनगढी — गत वर्ष यो सिजनमा सुनचाँदी गहना पसले निकै व्यस्त थिए । उनीहरूलाई तीजका लागि महिलाहरूले गहना बनाउन दिएर खाना खान पनि फुर्सद हुन्थेन । पसलमा भएको सुन ग्राहकलाई पुर्‍याउनै धौधौ हुन्थ्यो ।

मूल्य बढेपछि व्यापार ठप्प

तर, यस वर्ष तीज नजिकिँदै गर्दा गहना पसलेहरू फुर्सदिला बनेका छन् । कारण हो, सुनको मूल्य अपत्यारिलो किसिमले बढदै जानु । यस वर्ष साउनयता सुनको मूल्य बढेको बढयै छ ।


‘प्रायः हरेक वर्ष साउनमा सुनको मूल्य घट्थ्यो, महिलाहरू साउन पहिलो सातादेखि नै तीजका लागि नयाँ गहना अर्डर गर्न आउँथे,’ धनगढी चौराहास्थित अनुपम सुनचाँदी गहना पसलका सञ्चालक अनुपम लामिछाने भने, ‘गत वर्ष यो सिजनमा खाना खान फुर्सद नपाउने हामीहरू हिजोआज निकै फुर्सिदिला भएका छौं ।’


हाल सुनको व्यापार ठप्प जस्तै रहेको उनले बताए । साउन पहिलो सातातिर सुनको मूल्य ६५ हजार रुपैयाँ तोला थियो । महिना दिनभित्र बढेर ७४ हजार ७ सय रुपैयाँ तोला पुगेको छ । ‘सुनको मूल्य बढदा सुन व्यवसायीहरू साह्रै मार्कामा परेका छन्,’ कैलाली सुन चाँदी आभूषण व्यवसायी संघका अध्यक्ष कमलप्रसाद लामिछानेले भने ‘२ महिनायता ग्राहक आउनै छोडेका छन् ।’


पसलमा ग्राहक आउन छोडेपछि सुन पसलहरू सुनसान बनेको उनले बताए । सुनको मूल्य बढ्ने सम्भावना देखेको भए पनि एकैपटक सुनको यति धेरै बढ्ला भन्ने कल्पना पनि नगरेको उनको भनाइ छ । ‘सुनको मूल्य एकै वर्षमा यति धेरै बढ्ला भन्ने सोचेकै थिएनौं । कारोबार नभएर अहिले त सटरको भाडा तिर्नै गाह्रो भएको छ,’ अध्यक्ष लामिछानेले भने । निरन्तर सुनको मूल्य बढदै गएपछि ग्राहक पसलतिर आउन छाडेको अर्का व्यवसायी अर्जुन चौधरी भन्छन्, ‘ग्राहकहरू पसलसम्म त आउँछन् । तर सुनको मूल्य सुनेपछि फर्केर जान्छन् ।’

प्रकाशित : भाद्र १२, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?