कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

खेत बन्यो बगर

‘झोलुंगे पुल पुरिएको २ साता जति भयो, कपडा पसल र कुखुरा फार्म पनि बगायो । खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।’

बाजुरा — बुढीगंगा नगरपालिका ३, ताप्रिसेराको जमिन उर्वर थियो । त्यहाँ बुढीगंगा नदी पसेपछि सबै बगर बन्यो । त्रिवेणी नगरपालिकाका पन्धारादेखि बागापाटासम्मका दर्जनौं गाउँको व्यापारिक केन्द्रसमेत भएको ताप्रिसेराका खेतहरू अहिले बगर बनेका छन् ।

खेत बन्यो बगर

ताप्रिसेराभन्दा केही माथि अम्कोटको पारि त्रिवेणी नगरपालिकाको पैमा क्षेत्रबाट खसेको पहिरोले तल तटीय क्षेत्रमा नोक्सान गरेको छ । ताप्रिसेराको झोलुंगे पुल भाँसिएको छ । बस्तीसमेत जोखिममा परेको अवस्था छ । त्यसैमा पहिरोले बुढीगंगा थुनिएको अवस्थामा अछामका बस्तीसम्म असर गर्ने जोखिम छ ।


बुढीगंगा १, अम्कोटमा महिनादिनअघि दुवैतिरबाट पहिरो गएर बुढीगंगामा मिसिएपछि त्यहाँबाट ढुंगा र माटो बगेर साउन ९ गते ताप्रिसेराको झोलुंगे पुल भासिएको स्थानीय कृष्णबहादुर विष्ट बताउँछन् । ‘झुलंगेपुल पुरिएको २ साता जति भयो,’ उनले भने, ‘मेरै कपडा पसल र कुखुरा फार्म नै बगायो । खेतीयोग्य जमिन बगरमा परिणत भएको छ ।’ प्रहरी मुचुल्काअनुसार व्यापारीसमेत रहेका विष्टको ८ लाख रुपैयाँबराबरको सामान बगाएको छ ।


स्थानीय व्यापारी मात्रै होइन, यहाँका बासिन्दा जोखिम मोलेर भासिएको पुलबाटै आवतजावत गर्न बाध्य रहेको त्रिवेणी नगरपालिकाकी पानसरा नेपाली बताउँछिन् । ‘यहाँबाट गाउँ जान अन्य बाटो नभएकाले यतैबाट जानुपरेको छ,’ उनले भनिन्, ‘पुलै भासिएपछि आवतजावत गर्न समस्या भएको छ ।’


तोप्रेसेरा झुलंगे पुल भासिएपछि स्थानीयमा त्रास छाएको बुढीगंगा नगरपालिका प्रमुख दीपक शाह बताउँछन् । ‘पहिरो त प्राकृतिक विपत् हो । कतिखेर आउँछ भन्न सकिन्न । तर, झोलुंगे पुल भाँसिएपछि झनै कठिनाइ भएको छ,’ उनले भने, ‘पुलको उचाइ बढाउने र अलि माथिबाट पुनः बनाउन केन्द्रमा रहेको झोलुंगे पुल एकाइसँग पहल गरिरहेका छौं ।’


राहत नपाएको गुनासो

घरबाहेक पसल बगाउँदा राहत नदिने गरेको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने बताउँछन् । ‘लाखौंको क्षति भए पनि प्रशासनले १० हजार रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिन सक्दैन । निर्देशिकाको प्रावधानअनुसार हामीले राहत दिने हो,’ उनले भने । तर प्रशासनले अहिलेसम्म कसैलाई राहत नदिएको पीडितहरूको भनाइ छ ।


ताप्रिसेरा नदीकिनार रहेका घर र अम्कोट गाउँ जोखिममा रहेको प्रहरी प्रमुख (डीएसपी) उद्धवसिंह भाटले बताए । ‘अम्कोट ताप्रसेरालगायत बाजुराका धेरै गाउँ पहिरोको जोखिममा छन्,’ उनले भने, ‘केही दिनअघि गौमुलमा पहिरोको कारण आमाछोरीको ज्यान गयो ।’


डीएसपी भाटका अनुसार अम्कोटमा उच्च जोखिममा रहेको घर भत्काएर त्यही ठाउँमा वैकल्पिक सडक बनाइएको छ । ‘त्यहाँ एउटा घर उच्च जोखिममा थियो । तलको पक्की सडक पहिरोले बगाएपछि सोही घर भत्काएर वैकल्पिक सडक बनाइएको छ,’ उनले भने, ‘ठूलो वर्षा भएपछि बुढीगंगा नदी थुनिने खतरा छ । यसले दर्जनौं बस्ती र अछामको साँफेबगरलाई क्षति गर्ने देखिन्छ ।’


पहिरोको निरीक्षण

अछामका प्रमुख जिल्ला अधिकारी, प्रहरी र सशत्र प्रहरी प्रमुखले बाजुराको अम्कोट गाउँबाट बग्ने बुढीगंगा नदीमा गएको पहिरोको सोमबार निरीक्षण गरेको छ । बाजुराबाट अछाम हुँदै बग्ने बुढीगंगा नदी बाजुराको अम्कोट क्षेत्रमा त्रिवेणीतर्फबाट खसेको पहिरोका कारण थुनिने अवस्थामा छ ।


सुरक्षा निकायका प्रमुखको टोली बाजुरा पुगेको अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ बताउँछन् । ‘बाजुराको बुढीगंगामा पहिरो गएपछि त्यसको असर अछामको साँफेबगरलाई पनि पुग्छ भन्ने लागेर त्यहाँ गएका हौं,’ उनले भने, ‘अहिलेको अवस्थामा अछामलाई असर हुने देखिँदैन । पहिरो बढे बुढीगंगा थुनिने खतरा अत्यधिक देखिन्छ । अहिले त बाजुरालाई नै बढी असर पारेको देखियो ।’ पहिरो निरीक्षणपछि सम्भावित विपत्लाई मध्यनजर गर्दै बाजुरासँग सल्लाह गरेर आगामी दिनमा अघि बढ्ले उनले बताए ।

प्रकाशित : भाद्र ११, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?