चमेलियाको बिजुली बल्ल दार्चुलामा

मनोज बडू

दार्चुला — चमेलिया जलविद्युत् आयोजनाले विद्युत् उत्पादन सुरु गरेको डेढ वर्षपछि बल्ल दार्चुलाका स्थानीयले उज्यालो देख्न पाएका छन् । महाकाली नगरपालिका ७ स्थित थालिगाडमा निर्माण भएको सबस्टेसन चार्ज भएपछि सोमबारदेखि दार्चुला सदरमुकाममा चमेलियाको विद्युत् सेवा उपलब्ध गराइएको नेपाल विद्युत् प्राधिकरणको दार्चुला वितरण केन्द्रले जनाएको छ । 

चमेलियाको बिजुली बल्ल दार्चुलामा

थालिगाडमा निर्माण भएको सबस्टेसन जेठ महिनामा ११ केभी प्रसारण लाइनमै चार्ज गरिएको थियो । गोकुलेश्वरबाट थालिगाडसम्मको ३३ केभीको २५ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको थियो ।

एक सातादेखि ३३ केभी प्रसारण लाइनलाई चार्जिङ टेस्ट गरेर सोमबारबाट नियमित लाइन सदरमुकामसम्म छोडिएको दार्चुला वितरण केन्द्र प्रमुख दयाराम शाहले बताए । ‘थालिगाडबाट एक सर्किटमा सदरमुकाम खलंगासम्म सोमबारदेखि लाइन छोडिएको छ,’ उनले भने, ‘समस्या नआए नियमित लाइन छोडिएको हो ।’ अब विस्तारै दोस्रो सर्किटबाट जौलजिवीसम्म लाइन छोड्ने तयारी गरिरहेको उनको भनाइ छ । थालिगाडबाट पहिलो सर्किटमा सदरमुकाम, दुहु र व्यास गाउँपालिकामा लाइन छोड्ने कार्ययोजना छ । दोस्रो सर्किटबाट जौलजिवी, लाली हुँदै जिल्लाका अन्य ठाउँमा लाइन छोडिने दार्चुला वितरण केन्द्रले जनाएको छ ।

तत्काल राष्ट्रिय प्रसारण लाइन एवं चमेलियाको बिजुली थालिगाड, मेसिनबालुवा, खेट्टेबगड, किम्तडी, धौलगाड, नमस्कार र सदरमुकामसम्म छोडिएको छ । हाल सदरमुकाम माथिल्लो क्षेत्रमा प्रसारण लाइन निर्माणाधीन छ । थालिगाडदेखि तल्लो क्षेत्रमा केहि दिनमै लाइन छोडेर जौलजिवीदेखि भारतबाट ल्याएको लाइन काटिने वितरण केन्द्र प्रमुख शाहले जानकारी दिए । ‘माथिबाट पनि भारतबाट आउने बिजुली काट्न निर्देशन आईसकेको छ,’ उनले भने, ‘लाइन छोड्ने बित्तिकै जौलजिवीबाट आउने बिजुली काटिनेछ ।’ नयाँ लाइन र जंगलबाट प्रसारण लाइन आएको हुनाले तत्काल भारतीय बत्ती काटेमा अगाडिको जस्तै समस्या आउनसक्ने भन्दै तत्काल नकाटिएको उनले बताए ।

केहि ठाउँबाहेक अहिलेसम्म महाकाली र शैल्यशिखर नगरपालिका तथा मालिकार्जुन र लेकम गाउँपालिकाका अधिकांश ठाउँहरूमा राष्ट्रिय प्रसारण निर्माण भइसकेको र केही ठाउँमा निर्माणाधीन अवस्थामा छन् । दुहु, मार्मा र व्यास गाउँपालिकामा निर्माणाधिन तथा नौगाड र अपीहिमाल गाउँपालिकामा चालु आवबाट प्रसारण लाइन निर्माण हुने वितरण केन्द्र दार्चुलाका प्राविधिक मीनराज पन्तले जानकारी दिए ।

यसअघि जिल्लामा ३८ मेगावाट बिजुली उत्पादन भएर पनि भारतको विद्युत् लाली, जौलजिवी र हुतीबाट खरिद गरेर उपभोग गर्दै आएका थिए । स्थानीयस्तरमा लघु जलविद्युत्बाट उत्पादन भएको र खलंगा साना लघु जलविद्युत् आयोजनाबाट गरी करिब ५ सय किलोवाट बिजुली उत्पादन हुँदै आएको थियो ।

०७३ मा दार्चुलाबाट उत्पादन भएको बिजुली देशका अन्य भागलाई उज्यालो दिए पनि स्थानीयले भने बल्ल उपभोग गर्न पाउँदा खुसी लागेको महाकाली नगरपालिका ७ का स्थानीय रमेश लोहारले बताए । २०७३ मा इनर्जी प्याक इन्जिनिरिङ नरेन्द्र निर्माण जेभीसित १ वर्षमा निर्माण सक्ने गरी सम्झौता भएको उक्त सब–स्टेसनको काम ३ वर्ष बढी समय लगाएर निर्माण भएको छ ।

प्रकाशित : भाद्र ११, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?