स्थानीय तहमै बिजुली उत्पादन तयारी

महाकाली किनारका जाख, बलडा, तोली, पत्रम, चुँडी, सायल, बलकाँडेलगायत गाउँमा सातामा मुस्किलले २ दिन मात्र बिजुली आउँछ
डीआर पन्त

डडेलधुरा — विद्युत् उत्पादनको सम्भावना रहेका नदी र खोला आफूसँग पनि रहेको भन्दै भागेश्वर गाउँपालिकाले प्रदेशशभाको क्षेत्र १ लाई अँध्यारोमुक्त बनाउने तयारी गरेको छ । त्यसका लागि उसले विभिन्न योजनामार्फ विद्युत उत्पादनको योजना पनि अघि सारेको छ ।

स्थानीय तहमै बिजुली उत्पादन तयारी

‘अबका ३ वर्षमा गाउँपालिका भित्र बग्ने नदी र खोलामा विद्युत् उत्पादन गर्ने तयारी गरिरहेका छौं,’ गाउँपालिका प्रमुख कौशिला भट्टले भनिन्, ‘तत्काल विद्युत लाइन पुर्‍याउन नसकिने ठाउँमा सोलार र वैकल्पिक ऊर्जा प्रयोग गरि अध्यारो मुक्त बनाउने योजनामा काम भइरहेको छ ।’ राष्ट्रिय प्रशारण लाइनमार्फत गाउँगाउँमा विद्युतिकरण गर्ने योजना रहेको उनले बताइन् ।


गाउँपालिका प्रमुख भट्ट भन्छिन्, ‘हाम्रो बजेटले मात्र सम्भव नभएका कारण थोरै लगानीमा धेरै ठाउँमा विद्युत उत्पादन हुनसक्ने प्रचुर सम्भावना भएकाले लगानीकर्ताको खोजीसमेत सुरु गरिएको छ ।’ यस विषयमा गाउँपालिकाले विभिन्न निकायसँग सहकार्य र समन्वयसमेत गरिरहेको उनले बताइन् ।


हुन पनि सदरमुकामपछि जिल्लामा पहिलोपटक आफ्नै गाउँमा उत्पादन गरी बिजुली बलेको भागेश्वर गाउँपालिकामै हो । साबिक रुपालको रुद्रावती रुपालीगाडबाट साना जलविद्युत् आयोजना निर्माणगरि पहिलोपटक जिल्लामा विद्युत् उत्पादन सुरु भएको हो । तर ४ वर्षयता रुपालका बासिन्दा विद्युत् उपभोग गर्नबाट वञ्चित छन् । कुनै समय आफ्नै गाउँमा निर्माण भएको साना जलविद्युत् आयोजनावाट विद्युत उपभोग गरिरेहका स्थानीय राष्ट्रिय प्रशारण जोडिएपछि उपभोग गर्न स्थानीय वञ्चित थिए ।


विद्युतको राष्ट्रिय प्रशारण लाइन जोडिएपछि साना जलविद्युत पनि बन्द भएको थियो । राष्ट्रिय प्रशारण लाइन बिग्रेको बिग्रियै हुन थालेपछि सर्वसाधारणले वषौंदेखि उपभोग गर्दै आएको सेवाबाट पनि वञ्चित हुनुपरेको हो । महाकाली किनाराका जाख, बलडा, तोली, पत्रम, चुँडी, सायल, बलकाँडेलगायत दुर्गम गाउँमा सातामा मुस्किलले २ दिन बिजुली आउँछ । सदरमुकामदेखि अजयमेरु गाउँपालिका हुँदै भागेश्वर गाउँपालिकाको बगरकोट भएर झन्डै डेढ सय किमि लामो विद्युत लाइन रुपाल पुग्दासम्म ठाउँठाउँमा समस्या उत्पन्न भएर विद्युत उपभोग गर्नबाट वञ्चित हुनुपरेको हो ।


रुपालका बासिन्दा मात्र होइन कुनै समय आफ्नै गाउँमा उत्पादन भएको विद्युत् उपभोग गरिरहेका साविक बगरकोटको लेक क्षेत्रका बासिन्दाको अवस्था पनि उस्तै छ । राष्ट्रिय प्रशारण लाइन विस्तार भएसँगै गाउँमा उत्पादन हुने लघु जलविद्युत बन्द भएपछि यस क्षेत्रका बासिन्दाले पनि निकै सास्ती भोग्नुपरेको छ । विज्ञहरूका अनुसार भागेश्वर गाउँपालिकाकामा बग्ने आधा दर्जन बढी नदी र खोलामा थोरै लगानीमा धेरै विद्युत् उत्पादन गर्न सक्ने प्रचुर सम्भावना नभएका होइनन् ।


यसबारे पटकपटक अनुसन्धान र अध्ययन पनि भए । भागेश्वर गाउँपालिकाभित्र बग्ने सतमूला तथा गणिका नदी, चुल्लगाड, सिराडी गाड, रुपालीगाडसहितका आधा दर्जन खोला र नदीमा विद्युत उत्पादनका लागि पटकपटक धेरै सम्भाव्यता अध्ययन भए । कुनै समय विद्युत् उत्पादन गर्ने भन्दै सबै नदी र खोला व्यक्तिका नाममा दर्ता पनि भए तर अहिलेसम्म विद्युत उत्पादन त परै जाओस अध्ययनपछि कसैलै फर्केर पनि हेरेन । गाउँपालिकाका अधिकांश दुर्गम क्षेत्रका बासिन्दा अहिले पनि टुकी र सल्लाको दियालोले उज्यालो बनाउन बाध्य छन् ।


‘विगतमा सम्भाव्यता अध्ययन भएका ठाउँमा मात्र नभइ थप सम्भाब्यता अध्ययन गरी साना तथा लघु जलविद्युत योजना निर्माण गर्ने तयारीमा गाउँपालिका रहेको छ’ गाउँपालिका प्रमुख भट्टले भनिन् ‘विगतमा अध्ययन भएका गणिका र सतमूला नदीको संगम, सतमूला नदीको खुल्लाखेत क्षेत्र, गणिका नदीको दोगाड क्षेत्र, रुपालीगाडबाट पहिले विद्युत उत्पादन भइरहेको क्षेत्र र साविक बगरकोटको चुल्ल गाडलगायतका विद्युत उत्पादन हुनसक्ने सम्भावना भएका क्षेत्रमा पुन अध्ययन सुरु गरिने छ ।’ यस अघि भएका अध्ययनले पनि यस क्षेत्रमा सस्तो मूल्यमा विद्युत उत्पादन हुन सक्ने सम्भावना देखाएको छ ।


‘भागेश्वर गाउँपालिकामा बग्ने नदी र खोलामा उत्पादन हुनसक्ने विद्युतले पुरै क्षेत्रलाई सस्तोमा अँध्यारोमुक्त क्षेत्र बनाउन सकिने धेरै सम्भावना छन्’ जल विद्युतका क्षेत्रमा २ दशकदेखि कार्यरत एकजना इन्जिनियर रामएकवाल सिंहले भने ‘गाउँपालिकामा बग्ने ३ वटा प्रमुख नदीका ४ ठाउँबाट एकएक मेगावाट विद्युत उत्पादन सहज उत्पादन हुन सक्छ ।’


साना जलाशय निर्माण गरेर थप ३ ठाउँबाट १.५० डेढ मेगावाट विद्युत् उत्पादन हुन सक्ने सम्भावना रहेको पनि उनले जानकारी दिए । सिंहले भने, ‘१२ करोडदेखि १८करोडसम्मको लागतमा यी नदीहरूमा विद्युत् उत्पादन हुनसक्ने सम्भावना छ ।’ यसमा थप अध्ययन र अनुसन्धान गर्न बाकी रहेको उनले बताए ।


जलविद्युत् क्षेत्रका वरिष्ठ इन्जिनियर मणि दहाल पनि भौगोलिक अवस्था, नदीको वहाव र हिउँदमा हुने पानी हेरेर यस क्षेत्रमा विद्युत् उत्पादनको प्रचुर सम्भावना रहेको बताउँछन् । बरिष्ट इन्जिनियर दहालले भने ‘स्थानीय तहले जनतासँग मिलेर पब्लिक साझेदारीमा यस्ता लघु जलविद्युत आयोजनाहरू सुरु गर्नसके पुरै जिल्लालाई आवश्यक पर्ने विद्युत उत्पादन हुनसक्ने सम्भावना देखिएको छ ।’

प्रकाशित : भाद्र १०, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?