गौचरन बन्यो विमानस्थल

मझगाउँ विमानस्थल
कान्तिपुर संवाददाता

कञ्चनपुर — दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनको माग गर्दै एक टोली काठमाडौं गएको छ । विमानस्थल सञ्चालनका लागि गठित संघर्ष समितिका पदाधिकारीसँगै जनप्रतिनिधिहरू सहितको टोली सोमबार काठमाडौं गएको हो ।

वैशाखदेखि स्थानीयले संघर्ष समिति गठन गरी विमानस्थल सञ्चालनका लागि दबाबमूलक कार्यक्रम गर्दै आएका थिए । उनीहरूले स्थानीय तहदेखि प्रदेश र संघीय सरकारका जनप्रतिनिधिहरू समक्षसमेत पटकपटक छलफल गरिसकेका छन् ।

स्थानीय स्तरमा पनि नागरिक समाज तथा उद्योगी व्यवसायीहरूसंग पनि छलफल गरिसकेका छन् । ‘स्थानीय र प्रदेशस्तरमा हामीले धेरै छलफल तथा परामर्श गरिसकेका छौं,’ मझगाउँ विमानस्थल सञ्चालनका लागि गठित संघर्ष समिति संयोजक रमेश चन्दले भने, ‘स्थानीय तहका जनप्रतिनिधिहरूसहित मन्त्रालय र सम्बन्धित विभागमा दबाब दिन डेलिगेसनमा जान लागेका हौं ।’

उनले काठमाडौंमा पर्यटन मन्त्रालय, नागरिक उड्यन प्राधिकरण र विभिन्न एयरलाइन्सका सञ्चालक तथा प्रतिनिधिहरूसँग भेटेर विमानस्थल सञ्चालनबारे छलफल गरिने बताए । डेलिगेसन टोलीले नागरिक उड्यन प्राधिकरणका प्रमुखसँग भेटघाट गर्ने कार्यक्रम तय भएको जनाएको छ । उनले विमानस्थल सञ्चालनको सम्भाव्यताका विषयसंगै आवश्यकता अनुसार थप जमिन अधिग्रहण गर्न सकिने भएकाले यस विषयमा सरोकारवालाई जानकारी गराइने बताए ।

०५५ सम्म मझगाउँ विमानस्थल नियमित सञ्चालनमा थियो । यहाँबाट सुदूरपश्चिमका पहाडी जिल्ला बैतडीको गोकुलेश्वर, अछाम र बाजुरालगायत जिल्लामा उडान हुने गर्थ्यो । त्यतिबेला सातामा एकपटक काठमाडौं पनि उडान हुने गरेको स्थानीय बताउँछन् । सशस्त्र द्वन्द्व चर्किंदै गएपछि सुरक्षाको कारण देखाउँदै ०५५ देखि नै नियमित उडानहरू बन्द भए पनि विमानस्थल पूर्ण रुपमा भने बन्द भइसकेको थिएन ।

०६५ मा परीक्षणका रुपमा विमानस्थलमा अन्तिमपटक उडान भएको थियो । तत्कालिन पर्यटनमन्त्रीले बन्द रहेका विमानस्थल सुचारु गर्ने भन्दै सुदूरपश्चिमका पहाडी जिल्लासँगै मझगाउँ विमानस्थलको परीक्षण गरेका थिए । अहिले विमानस्थल गौचरन बनेको छ । विमानस्थलका भौतिक संरचना जीर्ण बनेका छन् ।

प्राविधिक रुपमा पनि विमानस्थल सञ्चालनका लागि कुनै समस्या नरहेको पाइएको संघर्ष समिति संयोजक चन्दले बताए । ६२ बिघामा अहिले १६ सय ५० मिटर ‘रन वे’ बनाउन सकिने अवस्था रहेको उनले बताए । आवश्यक परे जमिन अधिग्रहण गरेर थप ३ सय मिटर ‘रन वे’ बढाउन सकिने उनले बताए ।

स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभा चुनावका बेला सबै राजनीतिक दलका उम्मेदवारले विमानस्थल सञ्चालनका लागि अवाश्यक पहल गर्ने प्रतिबद्धता जनाएका थिए । तर निर्वाचन पश्चात उक्त मुद्दा हराउदै गएको छ । ‘सरकारले यतिबेला धेरै ठाउँमा नयाँ विमानस्थल निर्माणसँगै पुरानाको मर्मत सम्भार गरिरहेको छ’ डेलिगेसन टोलीमा रहेका भीमदत्त नगरपालिका १७ का वडाध्यक्ष हिमाल चन्दले भने, ‘अन्य सँगै मझगाउँ विमानस्थल पनि सुचारु गर्नुपर्छ भन्ने हाम्रो माग हो ।’

उनले कैलालीका गेटा विमानस्थलको वैकल्पिकका रुपमा पनि यसलाई सुचारु गर्नु आवश्यक रहेको बताए । भ्रमण वर्ष २०२० को पूर्वाधार निर्माणका रुपमा पनि यसलाई लिनुपर्ने उनले बताए ।

प्रकाशित : भाद्र १०, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्

भाडाको जग्गामा तरकारी खेती

कान्तिपुर संवाददाता

धनगढी — गरे के हुँदैन र ? मानिसले मिहिनेत गरे स्वदेशमै मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन्, कैलालीको कैलारी गाउँपालिकाका २ दाजुभाइ सञ्जीव र सन्तोष चौधरी । उनीहरूको धनगढीमा आफ्नो जग्गा थिएन् ।

तर मनमा काम गरी पैसा कमाउने दृढ इच्छा थियो । उनीहरूले कैलालीको कैलारी गाउँ छोडेर धनगढीलाई आफ्नो कर्मथलो बनाउने सोचे । ‘गाउँमा तरकारी खेतीगरि नै हाल्यो भनेपनि बेच्न गाह्रो पर्छ । तर यहाँ त्यो समस्या छैन,’ सञ्जीवले भने ।

सञ्जीवका दुई दाजुभाइले धनगढी उपमहानगरपालि ८ मा १ बिघा भाडामा लिएर १ लाख ५० हजार लागानीबाट आफ्नो तरकारी खेतीको व्यवसाय सुरु गरे । ‘सुरुमा त डर पनि लागेको थियो । जसोतसो वर्षौंदेखि जोगाएको डेढ लाख रुपैयाँ पनि डुब्छ कि भनेर,’ दाजु सन्तोषले भने, ‘तैपनि मनले हरेस खान मानेन । दुबै दाजुभाइले मिहिनेत गर्‍यौं ।’

अहिले उनीहरू वर्षमा ६ लाखजति आम्दानीे गर्छन् । सञ्जीव र सन्तोषको बारीमा मौसमअनुसारका तरकारी फलेका छन् । काँक्रो, बोडी, चिचिन्डा काउली, आलु, फर्सी, लौका, टमाटर, खुर्सानी प्रायः उनको बारीमा लटरम्म फलेकै सकिन्छ । ‘सुरुका केहि वर्ष तरकारी खेती घाटामा पनि गयो । आफ्नै गोजीबाट रुपैयाँ थप्नुपर्थ्यो,’ दाजु सन्तोष चौधरीले भने, ‘अहिले लगानीको दोब्बर आम्दानी आर्जन हुने गर्छ ।’ मिहिनेत गर्न सक्यो भने फल मिल्दो रहेछ भन्ने अनुभूति भएको उनले बताए । तरकारी खेतीबाट राम्रो आम्दनी हुन थालेपछि सन्तोषका दाजुभाइले आफ्नो तरकारी खेतीलाई आधुनिकतातिर डोर्‍याउने सोच बनाएका छन् ।

‘घर परिवार नजिकै बसेर विदेशभन्दा राम्रो आम्दानी गर्न सकेका छौं,’ सन्तोषले भने, ‘परिवार खुसी छ । छोराछोरीलाई पनि यहिँबाट आएको आम्दानीले विद्यालय पढाएका छौं ।’ सन्तोष र संजीवले अब यही तरकारी खेतीलाई अझ बिस्तार गर्ने योजना बनाएका छन् । जसका लागि उनीहरूले कृषि उपकरण ट्याक्टर, मोटर पनि खरिद गरिसकेका छन् ।

प्रकाशित : भाद्र १०, २०७६ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्