भाडाको जग्गामा तरकारी खेती

धनगढी — गरे के हुँदैन र ? मानिसले मिहिनेत गरे स्वदेशमै मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन्, कैलालीको कैलारी गाउँपालिकाका २ दाजुभाइ सञ्जीव र सन्तोष चौधरी । उनीहरूको धनगढीमा आफ्नो जग्गा थिएन् ।

तर मनमा काम गरी पैसा कमाउने दृढ इच्छा थियो । उनीहरूले कैलालीको कैलारी गाउँ छोडेर धनगढीलाई आफ्नो कर्मथलो बनाउने सोचे । ‘गाउँमा तरकारी खेतीगरि नै हाल्यो भनेपनि बेच्न गाह्रो पर्छ । तर यहाँ त्यो समस्या छैन,’ सञ्जीवले भने ।


सञ्जीवका दुई दाजुभाइले धनगढी उपमहानगरपालि ८ मा १ बिघा भाडामा लिएर १ लाख ५० हजार लागानीबाट आफ्नो तरकारी खेतीको व्यवसाय सुरु गरे । ‘सुरुमा त डर पनि लागेको थियो । जसोतसो वर्षौंदेखि जोगाएको डेढ लाख रुपैयाँ पनि डुब्छ कि भनेर,’ दाजु सन्तोषले भने, ‘तैपनि मनले हरेस खान मानेन । दुबै दाजुभाइले मिहिनेत गर्‍यौं ।’


अहिले उनीहरू वर्षमा ६ लाखजति आम्दानीे गर्छन् । सञ्जीव र सन्तोषको बारीमा मौसमअनुसारका तरकारी फलेका छन् । काँक्रो, बोडी, चिचिन्डा काउली, आलु, फर्सी, लौका, टमाटर, खुर्सानी प्रायः उनको बारीमा लटरम्म फलेकै सकिन्छ । ‘सुरुका केहि वर्ष तरकारी खेती घाटामा पनि गयो । आफ्नै गोजीबाट रुपैयाँ थप्नुपर्थ्यो,’ दाजु सन्तोष चौधरीले भने, ‘अहिले लगानीको दोब्बर आम्दानी आर्जन हुने गर्छ ।’ मिहिनेत गर्न सक्यो भने फल मिल्दो रहेछ भन्ने अनुभूति भएको उनले बताए । तरकारी खेतीबाट राम्रो आम्दनी हुन थालेपछि सन्तोषका दाजुभाइले आफ्नो तरकारी खेतीलाई आधुनिकतातिर डोर्‍याउने सोच बनाएका छन् ।


‘घर परिवार नजिकै बसेर विदेशभन्दा राम्रो आम्दानी गर्न सकेका छौं,’ सन्तोषले भने, ‘परिवार खुसी छ । छोराछोरीलाई पनि यहिँबाट आएको आम्दानीले विद्यालय पढाएका छौं ।’ सन्तोष र संजीवले अब यही तरकारी खेतीलाई अझ बिस्तार गर्ने योजना बनाएका छन् । जसका लागि उनीहरूले कृषि उपकरण ट्याक्टर, मोटर पनि खरिद गरिसकेका छन् ।

प्रकाशित : भाद्र १०, २०७६ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?