गाउँमा चहलपहल, बजार सुनसान

मेनुका ढुंगाना

अछाम — दुइ वर्ष अघिसम्म सदरमुकाम मंगलसैनमा निकै चहल पहल हुने गरेको थियो । त्यतिबेलाका जिल्लाका ७५ गाविसमध्ये ७४ गाविसका स्थानीयको सरकारी कामकाज, व्यापार व्यवसायको लागि मंगलसैन प्रमुख केन्द्र थियो । व्यापार व्यवसायका लागि ठूला होटेल खुल्दै थिए, बजार बिस्तार हुँदै थियो । जग्गाको कारोबार बढेको थियो । 

राज्यको पुनर्संरचनाले संघीयताको कार्यान्वयन भएपछि अहिले नै स्थानीय तह बलियो होला र सदरमुकाम सुनसान होला भन्ने यहाँका व्यापारीले सोचेकै थिएनन् । तर परिवेश उल्टो भयो । बिस्तारै सदरमुकाम सुनसान हुन थाल्यो । विकट गाउँहरू जहाँ स्थानीय तहका केन्द्र कायम भए । ती गुलजार हुन थाले ।

मानिसको चहलपहल घट्न थालेपछि सदरमुकाममा सञ्चालित व्यवसाय भने ओरालो लाग्न थाले । व्यवसायीले दैनिक गर्ने लाखौंको कारोबार अहिले हजारमा झरेको छ । बजार आउनुपर्ने काम गाउँबाटै हुन थालेपछि मंगलसैन अहिले सुनसानजस्तै देखिन थालेको हो । १८ वर्षदेखि मंगलसैनमा होटेल सञ्चालन गर्दै आएका हेटौंडाका ज्ञानु लामाले गाउमै सरकारी कामकाज हुन थालेपछि व्यापारमा २ वर्षअघि जस्तो मुनाफा नभएको बताए ।

‘२ वर्षअघि दैनिक खाना खाने ४०/५० जना हुन्थे । अहिले मुस्किलले ५/६ जना मात्रै हुन्छन्,’ उनले भने, ‘व्यापार त केही छैन । सुकिसक्यो । होटेलको भाडा तिर्नै गाह्रो छ ।’ मंगलसैनमा होटेल व्यवसाय गरिरहेकी कल्पना शाहीको दुखेसो पनि उस्तै छ । ‘मासिक १७ हजार भाडा तिर्ने सम्झौता गरी ५ वर्षअघि होटेल चलाएका हौं । व्यापार नै घटेपछि घर भाडा पनि घट्यो । १७ हजारबाट घटेर अहिले ८ हजार तिर्छौं,’ उनले भनिन्, ‘दैनिक खाना खाने ४० ग्राहक थिए । अहिले ४ जना छन् । मंगलसैनमा यस्तो सुनसान होला भन्ने सोचेकै थिएन ।’

सदरमुकामको घटदो चहलपहलले चिया पसलदेखि होटल, किराना पसल, स्टेसनरी जस्ता व्यवसाय भने संकटमा परेका छन् । केही वर्षअघिदेखि सदरमुकाममा कम्प्युटर इन्स्टिच्युट चलाउँदै आएका खगेन्द्रबहादुर विष्टले जिल्ला सदरमुकाम हुँदाको र अहिलेको व्यापार हवात्तै घटेको बताए । उनी भन्छन्, ‘अब सो व्यवसाय छोडेर केही नयाँ काम गर्ने सोच बनाउदै छु । संघीयताअघि मंगलसैनमा करिब ५० होटेल सञ्चालनमा थिए । अहिले २० होटेल मात्रै सञ्चालनमा छन् ।

जिल्लामा व्यापार नहुँदा मानिसहरूको चहलपहल मात्र घटेन, जिल्लास्थित केही संघ–संस्था स्थानीय तहमा जाँदा पनि मानिसको चहलपहल घटेको छ । सदरमुकाम मंगलसेनमा केही वर्षदेखि घरजग्गा कारोबार सुस्ताएको छ भने स्थानीय तहको केन्द्रमा जग्गाको भाउ अकासिएको छ । सदरमुकाम रित्तिँदै गएपछि यहाँका व्यवसायी चिन्तित बनेका छन् ।

गाउँपालिकामा चहलपहल बढेका बेला यता सदरमुकाम मंगलसैनमा भने व्यापार व्यवसाय मात्रै होइन, सरकारी अड्डामा समेत सेवाग्राहीको चाप कम हुन थालेको छ । जिल्लाभरबाट विकासे कामका निवेदन बोकेका नयाँ कार्यको सम्झौता गर्न आउने सेवाग्राहीले भरिभराउ भइरहने साबिकको जिविस हाल जिल्ला समन्वय समितिमा परिणत भएपछि सुनसान बनेको छ ।

यसअघि ग्रामीण बस्तीमा यातायातको पहुँच नहुँदा दैनिक उपभोग्यवस्तु खरिदका लागि सदरमुकाम आउनुपर्ने बाध्यता थियो । जन्मदर्ताको सिफारिस लिन सचिव खोज्न सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयले महसुस गर्न थालेका छन् । ‘अब स्थानीय तहै बलियो भएपछि सदरमुकामसँगको काम पनि घटदै गएको छ,’ तुर्माखाँद गाउँपालिका ५ का वडाध्यक्ष तुलाराम जैशीले भने, ‘सबै स्थानीय तहमा चहलपहल हवात्तै बढेको छ ।’

सदरमुकाम छाडेर गाउँ फर्किएपछि रित्ता जीर्ण भएका घर पनि काम लागिरहेका उनको भनाइ छ । सदरमुकामको व्यापार घटने प्रमुख कारणमा सडक सञ्जाल विस्तार हुनु प्रमुख हो । प्रायः गाउँघरसम्मै यातायातको सुविधा पुगेपछि सदरमुकाममा उपलब्ध हुने वस्तु सोही मूल्यमा आफ्नै घरपायकमा पाइने भएपछि सदरमुकाम सुनसान जस्तै बनेको देखिन्छ ।

प्रकाशित : भाद्र ९, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्

रगत अभावले जोखिममा बिरामी

वसन्तप्रताप सिंह

बझाङ — सुत्केरी व्यथा लागेकी खप्तडछान्नाकी गीता रोकायाको बिहीबार बिहान अत्याधिक रक्तस्राव हुन थाल्यो । खप्तडछान्नाका पनि दुर्गम गडरायमा बस्ने उनको अवस्थामा सुधार नआएपछि आफन्तले जिल्ला अस्पताल चैनपुर पुर्‍याए । साँझ ५ बजे मात्र चैनपुर पुगेकी उनको अवस्था जटिल भइसकेको थियो ।

अस्पताल ल्याएको केही बेरमा चिकित्सकले उनको शरीरमा रगतको मात्रा ज्यादै कम भएकाले तुरुन्त बी पोजेटिभ समूहको रगत ल्याउन आफन्तलाई अह्राए । आत्तिएका आफन्तले रगतका लागि सबै तिर हारगुहार गरे । रक्तदाता कोही भेटिएनन् । जिल्लामा रगत नपाईएपछि उनलाई हेलिकप्टरबाट धनगढी लैजान चिकित्सक र आफन्तले प्रयास गरे त्यो पनि सफल भएन । अन्ततः निराश आफन्तले गाडीबाटै उनलाई धनगढी लैजानुपर्‍यो । यती गर्दा राती ८ बजिसकेको थियो ।

११ घण्टा गाडीको यात्रा गरेर धनगढी पुग्दासम्म धन्न केही भएन । धनगढीको माया मेट्रो अस्पतालमा शल्यक्रियापछि उनी जोखिम मुक्त छिन् । ‘हामीले ९५ प्रतिशत आशा मारिसकेका थियौं,’ उनको उपचारमा संलग्न जिल्ला अस्पताल बझाङका डाक्टर मिलन रावलले भने, ‘रगतको मात्रा निकै कम भएकाले आशा गर्ने ठाउँ थोरै मात्र थियो । धन्न केही भएन छ ।’

यस्तै गत साउन ५ गते मात्रै जयपृथ्वी नगरपालिका ११, डाँडागाउँकी २१ बर्षिया गीता जोशीको जिल्ला अस्पतालमै सुत्केरी भए पछि साल अडकियो । रक्तस्राव रोकिएन । आवश्यक रगत खोज्दा–खोज्दा निरास भएका उनका पति गजेन्द्र जोशी प्रहरीको शरणमा परे । अस्पतालको सुरक्षामा खटिएका प्रहरी हवल्दार महेन्द्रबहादुर बमले रगत दिएपछि उनको ज्यान बच्यो । ‘रगत पाउन केही घण्टा मात्र ढिला भइदिएको भए उनको ज्यान जाने थियो,’ जोशीले भने ।

गत वैशाखमा पनि यस्तै अर्को घटना भयो । तल्कोट गाउँपालिका ७ की १८ बर्षिया पुजा विष्ट स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी भइन । तर साल अडीयो । रक्तस्राव रोकिएन । उनलाई जिल्ला अस्पतालसम्म पुर्‍याउदा रगत धेरै बगिसकेको थियो । सामान्य मानिसको रगतमा १२ देखी १८ ग्राम प्रतिशत हेमोग्लोबिन हुन्छ । विष्टको रगतमा यसको मात्रा घटेर ४ ग्राम प्रतिशत पुगिसकेको थियो । बिरामीका ससुरा गोर्या विष्टलाई रगत खोज्न लगाइयो ।

गाउँबाट आएका उनले आफन्त, सबै चिनजानका मानिससँग बुहारीको ज्यान बचाई दिन आग्रह गरे । तर रगत दिने मान्छे नै भेटिएन । जिल्ला अस्पतालका प्रमुख सन्दीप ओखेडाले नेपाली सेनाको संग्राम सार्दुल गुल्म तत्कालिन सेनानी केदार लामिछानेलाई समस्याबारे जानकारी गराए । लामिछानेको पहलमा आवश्यक ओ पोजेटिभ रक्त समुहका ज्ञानबहादुर तामाङ, भुवनसिंह घर्तिमगर र सागर जप्रेलले रगत दिएपछि उनको ज्यान बच्यो ।

रगत नपाएर बिरामीको ज्यान जोखिममा परेको र आफन्तले तनाव र त्रास भोग्नुपरेको यि प्रतिनिधि घटना हुन् । जिल्लाको एक मात्र सुविधा सम्पन्न सिमखेत अस्पतालमा ब्लड बैंक नहुँदा यस्ता घटना नियमित जस्तै हुन्छन् । ‘ब्लड गुप्र मिलेसम्म सेना, प्रहरी र अस्पतालकै कर्मचारीहरूले पनि रगत दिएर बचाउने गरेका छौं,’ जिल्ला अस्पतालका कर्मचारी नारायणप्रसाद जोशीले भने, ‘रगत नभेटिएपछि जिल्लाबाहिर रिफर गर्ने हो । कोही समयमै सुविधा भएको अस्पताल पुग्छन् र बाँच्छन् । नपुग्नेहरू बाटैमा मर्छन् ।’ उनले आफूले मात्रै रगत अभाव भएका ८ जनालाई रगत दिएर बचाएको सुनाए ।

सेनाले मात्रै २०७३ देखि ०७६ को साउन सम्ममा यस्ता खालका ३२ बिरामीलाई रगत दिएर बचाइसकेको संग्राम सार्दुल गुल्मको तथ्यांकमा छ । यस्तै जिल्ला अस्पतालका कर्मचारीले मात्र १ वर्षको अवधीमा ३० जनालाई रगत दिएर बचाएका छन । यसरी बिरामी अन्तिम अवस्थामा पुगे पछि रगतको खोजी गर्नु पर्ने अवस्था आउनु जोखिमपुर्ण रहेको अस्पताल प्रमुख ओखेडा बताउँछन । एक पोका रगत खोज्न दिनभर लाग्ने र कहिले काँही भेटिदै नभेटिने गरेको उनले सुनाए ।

अन्य अस्पतालमा अप्रेसन गर्नुपूर्व नै रगत तयारी अवस्थामा राख्ने गरिए पनि जिल्ला अस्पतालमा हुने अप्रेसनपछि जोखिम उत्पन्न भए मात्र रगतको खोजी हुने गरेको बताए ।

‘सबैजसो अप्रेशन जोखिमपूर्ण तरिकाले नै गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘अलि ठूलो महामारी भयो । दुर्घटना भयो भने बिरामीहरू रगतकै अभावले मर्ने अवस्था छ ।’ केही समयअघि एकैजना बिरामीलाई ११ पोका रगत दिएको स्मरण गर्दै उनले भने, ‘बाँच्ने सम्भावना भएका बिरामीहरू पनि रगत अभावकै कारण ज्यान गुमाउने अवस्था छ ।’

उनले जिल्ला अस्पतालमा दिन प्रतिदिन यस्ता खालका बिरामीको चाप बढ्न थालेकाले तल्काल ब्लड बैंक सञ्चालन आवश्यक रहेको बताए । उनले ब्लड बैंक स्थापनाका लागि आफूले प्रस्ताव तयार गरिरहेको बताउदै यस विषयमा निकट भविष्यमै पहल थालिने जानकारी दिए ।

प्रकाशित : भाद्र ९, २०७६ ०९:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्