१२५ घण्टा पढाइ

बझाङ — लगातार १२५ घण्टासम्म पढेर विश्व कीर्तिमान बनाउन यहाँका एक युवा तयारीमा जुटेका छन् । जयपृथ्वी नगरपालिकाको जोशीगाउँका २१ वर्षीय मुकेश जोशी यस्तो तयारीमा जुटेका हुन् ।

लोकसेवा आयोगको परीक्षा तयारीका क्रममा १२० घण्टासम्म लगातार पढेका उनले ६ वर्षदेखि यो कीर्तिमान बनाउने तयारी गरिरहेको बताए । यसका लागि गिनिज बुक अफ वर्ल्ड रेकर्डसले उनको आवेदन स्वीकार गरिसकेको छ ।


उनी यतिबेला त्यसका लागि लाग्ने खर्च जुटाउने अभियानमा छन् । विपन्न परिवारका जोशीको घरको अवस्था नाजुक छ । उनी जन्मनुअघि नै पिताले मानसिक सन्तुलन गुमाएपछि आमाले दुःख गरेर हुर्काएकी हुन् । उनको विलक्षण प्रतिभा देखेर जिल्लाका विभिन्न व्यक्ति तथा संस्थाले सहयोग जुटाउन अभियानै सुरु गर्न लागेका छन् ।


बझाङको सामुदायिक विद्यालयबाट १२ कक्षा पास गरेका उनी काठमाडौको एउटा होटलमा वेटरको काम गरिरहेका थिए । सहयोगीहरूले विश्व रेकर्ड कायम गर्न हौस्याएपछि उनी गर्दै रहेको काम छाडेर यसैको तयारीमा जुटेका हुन् । यही भदौ २३ मा उनको क्षमता परीक्षणका लागि गिनिज बुक अफ द वर्ल्ड रेकर्डसको टोली काठमाडौं आउने भएको छ ।


यो रेकर्ड कायम गर्न उनले गिनिज बुकको टोलीको यातायात र आवास खर्च व्योहोर्नुपर्नेछ । साथै भिडियो रेकर्ड र समय व्यवस्थापनलगायत शीर्षकमा ३० लाखभन्दा बढी खर्च लाग्ने अनुमान छ । ‘नाइजेरियनको रेकर्ड ब्रेक मैले यसअघि नै अनौपचारिक रुपमा गरिसकेको छु,’ मुकेशले भने, ‘खर्चको व्यवस्था भयो भने मैले नयाँ रेकर्ड कायम गर्नेमा कुनै शंका छैन । यत्रो खर्च जुटाउन सक्छु /सक्दिनँ भन्ने चिन्ता छ ।’


यो रेकर्ड कायम गर्न सके लामो समयसम्म लगातार पढ्न सकिन्छ भन्ने सन्देश युवाहरूमा जाने र यसले पढाइप्रति युवाको लगन बढाउने विश्वास लिएको उनले बताए । यसअघि लगातार सबैभन्दा बढी पढ्ने विश्व किर्तिमान एकजना नाइजेरियनको नाममा छ । उनले लगातार १२० घण्टा १५ मिनेट पढेर गिनिज बुकमा नाम लेखाएका छन् ।

प्रकाशित : भाद्र ९, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?