२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

उद्योग दर्ता धमाधम, सञ्चालन नगन्य

कञ्चनपुर — घरेलु तथा साना उद्योग कार्यालय महेन्द्रनगरमा उद्योग दर्ता हुने क्रम बर्सेनि बढदो छ । एक महिनामै सय बढी उद्योग दर्ता भइरहेका छन् । तर तीमध्ये सञ्चालन हुने उद्योगको संख्या निकै कम छ । त्यसमा पनि उत्पादनमुखी उद्योगको त अभावै छ ।

अहिले पनि उद्योग दर्ता हुने क्रम निकै बढी छ । चालु आवको १ महिनामा मात्रै १ सय ३ उद्योग दर्ता भएका छन् । गत आवमा पनि ७ सय ३७ उद्योग दर्ता भएका थिए । यति धेरै उद्योग हुँदा जिल्लामा थुप्रै वस्तु उत्पादन हुनुपर्ने हो ।


यसैगरी रोजगारी सिर्जना पनि भइरहेको हुनुपर्ने हो । तर यहाँ केही इँटा उद्योग, जिल्लाको दक्षिणी क्षेत्रमा २ चिनी मिल र महेन्द्रनगर बजार क्षेत्रमा केही घरेलु दालमोठ उद्योग, ग्रामीण भेकमा कुटानी पिसानी मिलहरू र काठ चिरानका उद्योगहरू मात्रै सञ्चालनमा छन् । ‘उद्योग दर्ताका हिसाबले त राम्रै छ, तर सञ्चालनमा आधा पनि छैनन्,’ कार्यालयका अधिकृत धर्मानन्द भट्टले भने, ‘अहिले उद्योग खारेज गर्नेहरू पनि बढेका छन् ।’


भट्टका अनुसार गत आवमा ६२ उद्योग खारेज भएका छन् । उनले दर्ता भएका उद्योगहरूको सञ्चालनको अवस्थाबारे कुनै अध्ययन अनुगमन नभएको बताए । पछिल्लो समय कृषिजन्य उद्योगको दर्ता पनि बढेको छ । स्थानीय तहहरूबाट अनुदान लिन मात्रै पनि दर्ता हुने गरेको स्थानीय बताउँछन् ।


कञ्चनपुरमा हालसम्म ५ हजार बढी उद्योग दर्ता छन् । तीमध्ये आधाले मात्रै नवीकरण गरेका छन् । आर्थिक गणना २०७५ का अनुसार नियमित नवीकरण हुने र कर चुक्ता गर्ने उद्योगको संख्या ६० प्रतिशत मात्रै छ । ग्रामीण भेकमा कतिपय उद्योग तथा व्यवसाय दर्ता प्रक्रियामासमेत नआएको आर्थिक गणनामा उल्लेख छ ।


‘उत्पादनमुखी र रोजगारमूलक उद्योग त सञ्चालन नै छैनन्,’ कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले भने, ‘पछिल्लो समय फर्निचर, खाडसारी उद्योगहरू भने बढेका छन् ।’ उनले विगतमा सरकारी जमिन तथा अनुदान लिन धमाधम उद्योग दर्ता भएको र ती सञ्चालनमै नआई बन्द भएको बताए ।


भीमदत्त नगरपालिकाको वनखेतलाई औद्योगिक क्षेत्र घोषणा गरिएपछि उक्त क्षेत्रका जमिन हडप्न समेत थुप्रै उद्योग दर्ता भएको उनले बताए । केही वर्षयता कृषिजन्य उद्योग दर्ताको क्रम पनि बढेको छ ।


सशस्त्र द्वन्द्वमा बन्द भएका केही रुग्ण उद्योगहरू अझै सञ्चालनमा आउन सकेका छैनन् । ‘लामो समयदेखि नवीकरण पनि हुन सकेका छैनन्, अब सञ्चालन गर्न सकिने अवस्था पनि छैन,’ अध्यक्ष मल्लले भने ।

प्रकाशित : भाद्र ७, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?