कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गौराले बढ्यो व्यापार

मनोज बडू

दार्चुला — ऐतिहासिक महत्त्व साथ मनाइने गौरा पर्वको चहलपहल सुरु भएको छ । यही पर्वको मौकामा जिल्लाका ग्रामीण क्षेत्रमा किनमेल पनि बढेको छ । अन्य पर्वभन्दा भव्यसाथ मनाइने गौरामा स्थानीय बासिन्दाले नयाँ कपडा र गहना किन्ने चलन छ ।

गौराले बढ्यो व्यापार

महाकाली नगरपालिका, व्यास, दुहु र नौगाड गाउँपालिकाका बासिन्दाको किनमेलको मुख्य बजार सदरमुकाम खलंगा हो । खलंगामा यतिबेला किनमेल गर्नेको घुँइचो छ ।


‘गाउँका अधिकांश मानिस गौरा मनाउन आवश्यक सामग्री खरिदका लागि बजार आएका छन्,’ खलंगाका व्यापारी शंकर जोशीले भने, ‘भदौ सुरु भएदेखि बजारमा चहलपहल बढेको छ । व्यापार पनि राम्रै भएको छ ।’


अघिपछि यहाँका व्यापारीहरूले दैनिक ५/७ हजारबराबरको कारोबार गरे पनि चाडपर्वमा दैनिक १५/२० हजारको बिक्री हुने गरेको अर्का व्यवसायी नरेन्द्र बडालले बताए । ठूला व्यापारीहरूले भने यस्तो सिजनमा दैनिक ५० हजार हाराहारीमा कपडा बिक्री गर्छन् । यो बजार आउने बढीजसो उपभोक्ता कपडा स्वदेशी बजारबाट खरिद गर्छन् । दैनिक उपभोग्य सामग्री भने भारतीय बजार पुग्ने गरेको उनले बताए ।


व्यापारीहरूले पनि गौराको मौका कुरेर नयाँ सामान बजारमा भित्र्याएका छन् । स्थानीयले चैत, वैशाखदेखि गौरा मनाउन पैसाको जोहो गरी राखेका हुन्छन् । यार्चा संकलन गरेको रकम पनि व्यापारीहरूले गौरा मनाउन नछुट्याएर स्थानीयलाई दिनुपर्ने बताउँदै आएका छन् ।


गौरा तयारीका लागि घरबाहिर रहेकाहरू फर्कंदै छन् । ग्रामीण भेकका सर्वसाधारण नयाँ लुगा तथा गहना किन्न बजार झर्दै छन् । यो सिजनमा दैनिक उपभोग्य वस्तुलगायत लत्ताकपडा, गरगहनाको खरिद–बिक्री बढी हुन्छ । ‘स्थानीयस्तरका दल्लेक र होपरीगाडमा बजार र धेरै किसिमका सामान उपलब्ध भए पनि नयाँ र बढी सामानका लागि खलंगा आउने गर्छौं,’ दुहु ३ की गोविन्दी कार्कीले भनिन्, ‘सामानको भाउ एउटै हुने भए पनि केही नयाँ पाइन्छ भन्ने आशले खलंगा बजार नपुगे मनले मान्दैन ।’


शैल्यशिखर नगरपालिका, मालिकार्जुन, लेकम, मार्मा र अपीहिमाल गाउँपालिको व्यापारिक केन्द्र गोकुलेश्वर र लटिनाथ बजार हुन् । यी बजारमा पनि कारोबार बढेको स्थानीय व्यापारीहरू बताउँछन् । यस क्षेत्रका हिन्दु विवाहित महिलाले ठूलो पर्वका रुपमा मान्ने गौरा मान्ने गर्छन् । गौरा शनिबारबाट सुरु भएको छ ।


विधिवत रुपमा भाद्र पञ्चमीबाट सुरु हुने भए पनि पञ्चमीको एक दिनअगावै बिरुडा जुटाउने र केलाउने काम गरिन्छ । ५ प्रकारका अन्न मास, गहत, गहुँ, केराउ र गुरास (सेतो मास) मिश्रित गरी पञ्च बिरुडा शुद्ध तामाको भाडामा भिजाएर सुरु भएको हो ।


पार्वतीको कठोर तपस्याद्वारा शिवलाई पतिका रूपमा प्राप्त गरेको पौराणिक कथनअनुसार यस पर्वमा मूलत: गौरी अर्थात् पार्वतीको पूजा आराधना गरिन्छ । शिव–पार्वतीसम्बन्धी विभिन्न कथा भनिने र गीत लयबद्ध गाइने भएकाले यसलाई गीती पर्वका रूपमा बुझ्ने चलन रहेको गौरीलमाण्डौ माविका प्रधानाध्यापक केशवदत्त बडू बताउँछन् ।


गौरामा विभिन्न गीतमार्फत अठवाली गाउने, देउडा खेल्ने र देवी देवताका गाथा गाउने गरिन्छ । आफ्ना इष्टमित्र र नाताकुटम्बलगायत सबै एकजुट हुन्छन् । यो पर्वले सामूहिक एकताको भावना गाँसेको छ ।

प्रकाशित : भाद्र ५, २०७६ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?