२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

हत्या प्रयास : महिलाको उपचारमा समस्या

बझाङ — बलात्कारको प्रयास असफल भएपछि हत्या गर्न खोजिएकी महिलाको उपचारमा समस्या भएको छ । सख्त घाइते भएकी उनको उपचारमा हालसम्म ६ लाख खर्च भइसकेको र अझै धेरै खर्च लाग्ने भएकाले उपचार गर्न नसक्ने अवस्थामा पुगेको पीडित परिवारले बताएका छन् ।

परिवारका अनुसार हालसम्म बेहोस अवस्थामा रहेकी ती महिलाको उपचारमा ६ लाखभन्दा बढी खर्च भइसकेको छ । उनको उपचारका क्रममा परिवार ऋणमा डुबिसकेकाले थप उपचार गर्ने रकम जुटाउन नसकेर समस्या भएको उनका पतिले बताएका छन् ।


थलारा गाउँपालिकाको विपन्न परिवारका उनी यसअघि भारतमा मजदुरी गर्दै आएका थिए । गत वैशाखमा मात्र विवाह गरेकी पत्नीको ज्यान मार्ने प्रयास भएपछि उनी मजदुरी छाडेर नेपाल आएका छन् । ‘विवाह गर्दाको ऋण तिरुँला भनेर भारत गएको थिएँ । यता शत्रु लागेर यस्तो घटना भयो,’ उनले भने, ‘श्रीमतीको उपचार गर्दा गर्दा ६ लाख खर्च भइसक्यो । अब त ऋण पाउने बाटा सबै बन्द भइसके ।’


घाइते महिलाको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गएको भए पनि अस्पतालको ४ लाखभन्दा बढी रकम तिर्न बाँकी रहेको उनले बताए । समयमा पैसा नतिरेको भन्दै अस्पताललेसमेत नियमित उपचार गर्नमा आनाकानी गर्न थालेकोले आफूहरू झन् चिन्तामा परेको उनले बताए । उनले छोरीको ज्यान बचाइदिनका लागि सरकार र सहयोगी दाताहरूको आशा रहेको बताए ।


दुई महिनाकी गर्भवतीसमेत रहेकी २२ वर्षीय ती महिलाको साउन २० गते हत्या प्रयास भएको थियो । आफ्नी १३ वर्षीया बहिनीसँग माइतीघरबाट आफ्नोघर जाँदै गरेकी उनलाई स्थानीय २ युवाले बलात्कारको प्रयास गरेका थिए । उनीहरूमाथि दुर्व्यवहार भइरहेको टाढाबाट देखेर अर्की घाँसकाट्न गएकी महिला कराएपछि दिदीबहिनीको हत्या प्रयास भएको थियो । दिदीभन्दा कम घाइते भएकी बहिनी उपचार पछि घरमै आराम गरिरहेकी छिन् ।


थलारा गाँउपालिका ६ का प्रेम कठायत र सौरभ चौहानले दिदीलाई मोबाइलको कभर र रेडबुलको क्यानले घाँटी रेटेर हत्या प्रयास गरेका थिए । बहिनीको टाउकोमा ढुंगाले हानेर खोलामा फालेका थिए । उनीहरूले महिलाको साथमा भएको नगद, गरगहना र मोवाईलसमेत लुटेर लगेका थिए ।


प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएर कारबाही थालिसकेको छ । उनीहरूले अपराध कबोल गरिसकेको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेले बताए ।

प्रकाशित : भाद्र ५, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?