सीमा नाकामा हेल्थ डेस्क : १० हजारको स्वास्थ्य परीक्षण

गणेश चौधरी

टीकापुर — कैलालीको खक्रौला सीमा नाकामा सञ्चालित हेल्थ डेस्कमा एक वर्षको अवधिमा करिब १० हजार बढी जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

गत वर्ष भारतको बरेलीमा औलोबाट ४६ जनाको मृत्यु भएको समाचार सञ्चारमाध्यममा आएपछि कैलालीका ३ सीमा नाकामा हेल्थ डेस्क राखेर औलो परीक्षण गरी औषधोपचार गर्ने काम थालिएको हो ।

औलो नियन्त्रणका लागि धनगढी उपमहानगरपालिकाको गौरीफन्टा नाका भजनी नगरपालिकाको गुलरिया घाट नाका र टीकापुर नगरपालिकाको खक्रौला नाकामा हेल्थ डेस्क सञ्चालन गरिएको छ । हेल्थ डेस्कमा औलो मात्र नभई, एचआइभी संक्रमित, क्षयरोगको आशंंका लागेका व्यक्तिको समेत स्वास्थ्य परीक्षण गरिने डेस्कमा कार्यरत उर्मिला घिमिरेले बताइन् ।

‘प्राय: नाकाबाट नेपाल भित्रनेलाई लक्षित गरी वा विभिन्न कारणबाट यात्राको क्रममा सामान्य स्वास्थ्य समस्या भएको व्यक्तिलाई हेल्थ डेस्कबाट सेवा प्रवाह भइरहेको छ,’ घिमिरेले भनिन् । डेस्कप्रति आवतजावत गर्नेको बेवास्ता तथा सवारीसाधनले स्वास्थ्य जाँचमा बाधा गरिरहेको अर्का स्वास्थ्यकर्मी मकेन्द्र रोकाया बताउँछन् ।

उनले भने, ‘अटो रिक्सालाई रोक्न खोजे रोक्दैनन् । अटो रिक्साहरू सीमापारि वा वारिबाटै रिजर्भ भन्दै हतारमा आउजाउ गर्छन्, १ मिनेट रोक्न मान्दैनन् । हतार छ भन्दै हुइँक्याउँछन् ।’

गत वर्षको असोजमा स्थापना भएको हेल्थ डेस्कबाट १० हजार जनाको स्वास्थ्य परीक्षण गरिएको छ । यस आवको पहिलो साउन महिनामा ६ सय ६१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये २ जनामा औलो फेला परेको रोकायाले बताए । हेल्थ डेस्कमा औलो रोग जाँचका लागि सूचनापाटीमार्फत सबैलाई सूचित गरी प्रहरीको सहयोगमा परीक्षण गरिएको टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा संयोजक बलबहादुर रावल बताउँछन् ।

उपचार सामग्री अभाव

हेल्थ डेस्कमा आवश्यक स्वास्थ्य परीक्षणका लागि पर्याप्त किट नभएको रोकायाको भनाइ छ । उनले जिल्ला जनस्वास्थ्य कार्यालय, टीकापुर नगरपालिकाको स्वास्थ्य शाखाबाट परीक्षणको लागि किटसहित केही मात्रामा औषधि उपलब्ध भए पनि पर्याप्त नरहेको बताए ।

प्रकाशित : भाद्र ५, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?