१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नासिँदै भावर क्षेत्र

‘भावर नजोगिँदा अहिले पानीको संकटदेखि बाढीको समस्या निम्तिएको छ, आवादी बढ्दा वनजंगल तथा प्राकृतिक स्रोतमा स्वाभाविक चाप बढ्यो, चुरे भावरको बचेको क्षेत्रलाई सुरक्षित राख्न मुख्य चुनौती छ’ 
मोहन बुढाऐर

(धनगढी) — युवा पुस्तासँग भावर क्षेत्रबारे चर्चा गर्दा उनीहरू अलमल पर्ने अवस्था आइसक्यो । कतिपयले त प्रश्न नै गर्छन्( कहाँ पर्छ भावर ? चुरे र तराईको बीचको क्षेत्र भावर हो ।

नासिँदै भावर क्षेत्र

सुदूरको पहाडी जिल्ला डोटी गडसेराबाट ४० वर्षअघि तराई झरेका गंगाराम जोशी भन्छन्, ‘चुरेको फेदमुनिको समथर भागलाई भावर भन्थ्यौं ।’ उनका अनुसार भावरभित्र एक्लो मान्छे छिर्न सक्दैनथ्यो । घनाजंगल थियो । बाघभालुको त्यतिकै डर हुन्थ्यो । जमिनबाट फुटेको पानीको मूल कलकल बग्थ्यो । ‘उतिबेला पहाडमा बस्ने परिवार हिउँदमा चिसो छल्न ६ महिना भावर प्रदेशमा गाईगोरु लिएर गोठ राख्ने गर्थे, उनी भन्छन् । उनले आफ्नो परिवार पनि तराईमा स्थायी बसोबास सर्नुअघि कैलालीको माथि पर्ने भावरमा १० वर्ष गोठ राखेको बताए । ‘भावर सकिएको पत्तो पाएनन्,’ जोशीले भने, ‘त्यतिबेला भावरको जंगल देख्दा कसैले ८/१० रुख ढाल्दैमा यो घनघोर जंगल सकिएला भन्ने पत्यारै लाग्दैन्थ्यो ।’ तर हेर्दाहेर्दै भावर सकिएपछि बल्ल उनलाई संरक्षणविना वनजंगल एकनासको नरहने लागेको छ ।


एक लाख जनसंख्या भावर क्षेत्रको ऐलानीमा

कैलालीको भावर क्षेत्र सकिनुको प्रमुख कारण आवादी बढ्नु रहेको बताउँछन्, संरक्षणप्रेमी एंव वसन्ता संरक्षित वन परिषद् अध्यक्ष पुष्कर बम । उनका अनुसार अहिले पनि भावरभित्र ऐलानीमा बसेको जनसंख्या करिब १ लाख छ । भावरमा अहिले पनि आवादी रोकिएको छैन । बस्तीको छेउबाट वन(जंगलतर्फ आवादी बढदै गएको उनले दावी गरेका छन् । उनले चुरेफेदमा रहेको चौमालाको बल्लागाडा, बसुरियाको बगौहागाड, तल्लोपानी चाप भावर फल्ले बसौना, कुम्वयालगायत दर्जन बस्ती ऐलानीमा छन् । ती बस्ती बसेको ५/७ वर्ष पनि भएको छैन ।


‘यहाँ पहिला खर्क (गोठ) हुन्थे,’ उनले भने, केहीले पछि गोठलाई स्थायी घर बनाएर बसे । केही परिवारले बाहिरबाट आएर आवादी बढाए ।’ कैलालीको भावर क्षेत्र २०४० सालपछि नासिएको बमको भनाइ छ । पहाड र कर्णाली क्षेत्रमा ०४० सालमा आएको बाढीपहिरोले धेरै परिवार तराई झर्दा भावर धेरै फाँडिएको उनको भनाइ छ । ‘भावर खेतीयोग्य जमिन भने होइन,’ डिभिजन वन अधिकृत रामचन्द्र कँडेलले भने, ‘तराईमा बढेको बसाइसराइको चापले भावर फाँडिएको देखिन्छ ।’ उनका अनुसार भावरमा ढुंगा मिसिएको माटो हुने भएकाले खेतीयोग्य जमिनका रूपमा यो क्षेत्रलाई लिइँदैन । एक तथ्यांकअनुसार पछिल्लो चार दशकमा पूर्व–पश्चिम राजमार्ग उत्तरदेखि चुरे फेदसम्मको आवादीको जनसंख्या ४० हजारबाट ४ लाख पुगेको देखिन्छ । डिभिजन वन कार्यालयकाअनुसार पुर्व–पश्चिम राजमार्गको उत्तरतर्फ १० हजार बढी हेक्टर वन क्षेत्र अतिक्रमित छ ।


माओवादी द्वन्द्व र त्यसपछि राजनीतिक अस्थिरताका बेला पनि भावर क्षेत्र तीव्र रुपमा नासिएको संरक्षणकर्मी बमको भनाइ छ । ‘२०५५ देखि ७० को दशकसम्म भावरमा व्यापक रूपमा वैध तथा अवैध कटानी पनि भयो,’ उनले भने, ‘भावर नजोगिँदा आज पानीको संकटदेखि बाढीको समस्या निम्तिएको छ । आवादी बढ्दा वनजंगल तथा प्राकृतिक स्रोत स्वाभाविक चाप बढ्यो, चुरे भावरको बचेको क्षेत्रलाई सुरक्षित राख्न अहिलेको चुनौती छ ।’


हात्ती हिँड्ने बाटो

‘कहिले हात्ती लालझाडीमा, कहिले हात्ती दाङमा ।

बादल फाँटी घाम लागि जाउ, बैरागीका आङमा ।।

कुनैबेला हात्तीको झुन्डको यात्रा कञ्चनपुरको लालझाडीदेखि दाङसम्म हुन्थ्यो । चुरेको भावर क्षेत्रमा हिँड्ने हात्तीलाई देखेर त्यसबेला गीत रचियताले यो पंक्ति रचेका थिए । जो अहिलेसम्म सुदूरपश्चिमेलीको ओठमा झुन्डिएको छ । कालन्तरमा आएर हात्तीको यो परम्परागत हिँड्ने बाटो रोकिएको छ । संरक्षणमा कार्यरत संस्था र व्यक्तिले कैलाली/कञ्चनपुरमा मानव बस्तीको विकाससँगै विनाश भएको वन जंगलले वन्यजन्तुको परम्परागत बाटो नासिएको बताउँछन् ।


विश्व वन्यजन्तु कोषको सहयोगमा सञ्चालित तराई भू(परिधि परियोजना (ताल) ले भावर क्षेत्रमा बढेको आवादीले हात्तीको परम्परागत बाटो कायम हुन नसकेको जनाएको छ । भारतको जिमकार्वेट नेसनल पार्कदेखि पर्सा बागमती किनारसम्मको जैविक मार्गको निर्माण गर्न चुरेको भावर क्षेत्रको संरक्षणमा तालले जोड दिएको छ । विगत २० वर्षदेखि टुक्रिएको भावर क्षेत्रलाई जोड्ने प्रयत्नमा लागेको तालका गौतम पौड्यालले बताए ।


पानीको संकट

भावर क्षेत्रमा भइरहेको वन जंगल विनाशले पानीका मूल सुकेर बस्ती काकाकुल बन्दै गएका छन् । ‘भावर क्षेत्रमा खानेपानीको योजनामा भएको लगानी खेर गएको छ,’ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीका प्रमुख इन्जिनियर मोहन कुँवरले भने, ‘पानीको मूल सुक्दा दर्जन बढी योजना बन्द भएका छन्, केही बन्द हुने क्रममा छन् ।’ उनकाअनुसार चुरे गाउँपालिका ३, फल्लेबिसौना खानेपानी योजनाको मूल सकेको छ । ४ योजनाको मूल सुक्दै गएको छ । एसियाली विकास बैंकको सहयोगमा निर्माण सम्पन्न गाजरी खानेपानी योजनाको मूल पनि सुकेको छ । उनले भावर क्षेत्रमा पर्ने चुरेसहित गोदावरी, मोहन्याल, गौरीगंगा, सुक्खड, बर्दगोरिया, लम्की नगरपालिका र गाउँपालिकाको योजनाका मुल पनि सुक्दै गएका छन् ।


वन वातावरण विज्ञ तथा पूर्व वन अधिकृत रमेश चन्दले चुरेको भावर तराईको पानी भण्डारण गर्ने ठाउँ भएको बताए । ‘पानी रिचार्जर् हुने भावर क्षेत्र हो,’ उनले भने, ‘भावर नजोगाए तराईको भविष्य छैन ।’ उनले वन फँडानी, अतिक्रमण, खोलानालाबाट ढुंगागिट्टी उत्खनन र मानवीय क्रियाकलापहरूले चुरेको भावर क्षेत्र सकिँदै गएको बताए ।


वनविज्ञ चन्दले चुरे र भावर क्षेत्रको बचेको वन क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा नगरेसम्म तराईको भविष्य सुरक्षित नरहने बताए । उनका अनुसार भावर क्षेत्रमा पर्दै गएको आवादीको चाप, विकास निर्माणका नाममा वातावरणीय मूल्यांकनबिना भौतिक संरचनाको विकास (डोजर प्रयोगबाट जथाभावी भएको सडक, खानेपानी, सिँचाइका योजना) र खोलानालाको दोहानले चुरे र भावर क्षेत्र संकटमा पर्दै गएको छ । यसैबीच प्रदेश सरकारले राजधानीसमेत भावर क्षेत्रमै बनाउने प्रस्ताव प्रदेश सभाबाट पास गरिसकेको छ । प्रदेश सरकारको यो प्रस्तावलाई संरक्षणकर्मीहरूले भावर र चुरेको महत्त्व नबुझेर वन क्षेत्र फाँडेर गोदावरीमा राजधानी बनाउन लागेको भन्दै विरोध जनाउँदै आएका छन् । अर्कोतिर प्रदेश सरकारको भौतिक मन्त्रालयले कैलाली र कञ्चनपुरको भावर क्षेत्रमा राजमार्ग निर्माणको योजना पनि अघि सारेको छ । कैलालीको चिसापानीदेखि कञ्चनपुरको ब्रहमदेव धार्मिक सडक निर्माणको योजनामा चालु वर्षमा बजेट विनियोजन गरेको छ ।


खोलानाला दोहन

कैलालीका ठूला नदी गोदावरी, खुटिया गौरीगंगाबाट ढुंगागिट्टीको उत्खनन चुरेको फेदबाटै उठाउने कार्य रोकिएको छैन । स्थानीय तहको आम्दानीको मुख्य स्रोत ढुंगागिट्टीबाट उठ्ने राजस्व भएकाले पनि चुरे दोहान बढेको हो । खोलानालामा भएको दोहोनले भावर क्षेत्र नासिँदै गएको छ । भावर क्षेत्रको वन विनाश र जथाभावी भइरहेको ढुंगागिट्टी उत्खननले तल्लो तटीय क्षेत्रमा बाढीको समस्या बढेको विज्ञहरूले भनाइ छ । चन्दले चुरेबाट उत्पन्न खोलानालाले गाग्रेन बगाएर तल्लो तटीय क्षेत्रमा थुप्रिएर नदीको सतहमाथि आउने भएकाले बाढी र डुबान समस्या देखिएको हो ।


प्रकाशित : भाद्र ४, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?