कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

जता हेर्‍यो उतै पहिरो, ११५ गाउँ उच्च जोखिममा

‘जन्मभूमि छाड्ने रहर कसलाई हुन्छ र ? हाम्रा लागि सडक आएन, सतुर (शत्रु) आयो । गाउँकै चिल्लीबिल्ली बनाइदियो’
वसन्तप्रताप सिंह

बझाङ — २०७३ चैतमा सडक पुग्दा थलारा गाउँपालिकाको तोली, पडेस र ठिङ गाउँका बासिन्दाको खुट्टा भुइँमा थिएन । वर्षौंदेखिको थाप्लोको नाम्लो छुटेको र आफ्नै गाउँमा जिप पुगेको खुसीमा त्यहाँ भव्य उत्सव आयोजना गरिएको थियो ।

जता हेर्‍यो उतै पहिरो, ११५ गाउँ उच्च जोखिममा

गाउँमा गाडी पुगेको खुसीमा यहाँका बासिन्दाले जिल्लाबाट सडक उद्घाटन गर्न आएका नेता, कर्मचारी, पत्रकार र गाडी चालकलाई थेग्नै नसक्ने गरी फूलमाला लगाइदिए । चिन्नै नसक्ने गरी अबिरले रंगाइदिए ।


उत्सवमय त्यो भीडमा सबैभन्दा खुसी देखिन्थे, तोलीका हरिमल बोहोरा । खुसीको कारण थियो, उनको घरको आँगनलाई छोएर गएको सडक । ‘घरकै छेउ भएर सडक गएको छ । चिया बेचेर भए पनि केटाकेटी पाल्छु भन्ने ठानेर सबैभन्दा बढी खुसी मै भएको थिएँ,’ उनले भने, ‘घरको अगाडी सानो टहरो बनाउँछु । त्यसैमा सानो चिया पसल खोल्छु । आफूले फलाएको फलफूल र तरकारी पनि त्यहीँ राखेर बिक्री गर्छु भन्ने सोचेको थिएँ । तर अहिले त्यो सबै सपना भयो ।’


उनले जुन सडकसँग जोडेर सपना बुनेका थिए । त्यही सडकले नै उठिबास लगाउला र आफ्नो परिवारले शरणार्थीको जिन्दगी बाँच्नु पर्ला भन्ने त कल्पना पनि गरेका थिएनन् । तर भई दियो त्यस्तै । सडक पुगेको ५ महिना नपुग्दै ०७४ असारमा त्यही सडक पहिरोमा परिणत भयो । उनको सपना पूरा हुनु त कता कता भएको घर जग्गा सबै पहिरोले बगाइए दियो ।


‘भाग्यमा बाँच्नु लेखेको रैछ र मान्छेलाई केही भएन । अरु केही पनि बचेन,’ उनले भने । अहिले उनका ४ छोरी, १ छोरा र पतिपत्नीसहित ७ जनाको परिवार विवाह भएर गइसकेकी छोरी निर्मलादेवी खातीको धनगढीको बंगराकटानमा रहेको घरमा आश्रय लिएर बसिरहेका छन् ।


उनी कहिलेकाँही गाउँ पुग्छन् । पहिरोमा परिणत भइसकेको घर जग्गा हेर्छन । एक्लै टोलाउँछन् । केहीदिन दौतरीहरूसँग भेटघाट गरेर अनि बंगराकटान फर्कन्छन् । ‘पराईघर पठाई सकेकी छोरीको घरमा सिंगै परिवार आश्रय लिएर बस्नुपर्दा मन त कति पोल्छ कति,’ उनी दुख पोख्दै भन्छन्, ‘भएको सम्पत्ति पहिरोले लग्यो । अरु विकल्प नभएपछि लाज पचाएर बसेका छौं ।’


यसरी सडकले पहिरोको रुप लिएपछि आफ्नो थातथलो रुदै छाड्नुपर्ने बाध्यता हरिमललाई मात्र होइन । अरूको अवस्था पनि झन्डै उस्तै छ । ३ वर्षअघि गुल्जार हुने तोलीगाउँका घरहरूलाई एकएक गरी पहिरोले निल्दै गएको छ । हरिमल जस्तै लालाबाला छोडेर प्रत्येक वर्ष यहाँका २/३ परिवार रुँदै मुग्लान पस्नुपर्ने बाध्यता छ ।


०७५ भदौमा गाउँ छोडेका तोलीका नवराज जोशी भन्छन्, ‘जन्मभूमी छोड्ने रहर कसलाई हुन्छ र ? हाम्रा लागि सडक आएन, सतुर आयो । गाउँकै चिल्लीविल्ली बनाई दियो ।’ सडकको पहिरोले घरखेतबगाई दिएपछि, ३ छोरी, २ छोरा, पतिपत्नी र बुढी आमासहित उनको ८ जनाको परिवार अहिले कञ्चनपुरमा विस्थापित छ ।


रायल, ठिङर तोली हुँदै पडेससम्म पुग्ने सडक बनाएपछि सुरु भएको पहिरोले हरिमल र नवराज जस्तै तोली ठिङ र पडेस गाउँको दशा सुरु भएको हो । तोलीका दुर्गादत्त जोशी, नवराज जोशी, जयबहादुर बोहोरा, मानबहादुर बोहोरा, अम्म बोहोरा, प्रेम बोहोरा, दिनेश बोहोरा, शेर बोहोरा, अजिभान मिजार, दिलबहादुर डौडे, धना देवी बोहोरा, हरि बोहोरा, हरिमल बोहोरा, रुद्र बोहोरा र बलबहादुर बोहोरागरी १५ परिवार यो वर्ष विस्थापित हुने तयारीमा छन् । ‘तर कहाँ जाने ?’ पहिरोले जोखिम बनाएको घरमा बस्दै आएकी धनादेवी बोहोराले भनिन्, ‘अन्त कतै बस्ने ठाउँ भैदिए यहाँ कालको मुखमा बस्ने रहर कस्लाई हुँदो हो ।’ उनले पहिरोले घर जुनसुकै बेला पनि बगाउने खतरा रहेकोले बर्खामा राम्रोसँग सुत्न नपाएको बताईन् ।


तोलीमा मात्र हैन । पडेश र ठिङ गाउँका वीरबहादुर रावल, गोरख थापा, जगदीश रावल, हरिश रावल, अम्मर रावल र सुनादेवी उपाध्यायलगायत २३ परिवारको घर पनि जुन सुकै बेला पहिरोले निल्ने अवस्थामा पुगेका छन् ।


‘राती होस् या दिउँसो । पानी पर्ने वित्तिकै यहाँ भागदौड मच्चिन्छ,’ दुर्गादत्त जोशीले भने, ‘अलि ठुलो पानी पर्‍यो कि खाँदाखाँदैको गाँस छोडेर, बच्चाबच्ची टिपेर भाग्नु पर्छ । राम्रोसँग खान र सुत्न नपाएको २ महिना भैसक्यो,’ उनले सामान्य अवस्थामा पनि पहिरो बग्ने गरेका कारण कुन बेला गाउँ नै एकै चिहान हुने हो भन्ने त्रासले यहाँका बासिन्दा त्राहिमाम भएको बताए ।


‘ठुलै विनास हुनेवाला छ । तीनवटै गाउँका ४० भन्दा बढी घर अहिले जोखिममा छन्,’ थलारा गाउँपालिका ४ का वडाध्यक्ष विष्णु विष्टले भने, ‘१/२ वर्षभित्रै गाउँको नामो निसान मेटिने अवस्था छ ।’ पहिरोले ३ वटै गाउँका ६५ परिवारको १ सय ५० रोपनीभन्दा बढी जग्गा पनि बगाइसकेको र अझै बगाउने क्रम जारी रहेको उनले बताए ।


विनासर्भे सडक बनाउँदाको परिणाम

०७१ मा सर्भे गरी ०७२ मा निर्माण सुरु भएको यो सडक तत्कालीन सडक डिभिजन कार्यालय बैतडीले निर्माण गरेको थियो । तत्कालिन संविधानसभा सदस्य लालबहादुर रावलको पहलमा १ करोड ७० लाखको केन्द्रिय बजेट परेपछि निर्माण सुरु भएको थियो । सडक कटान गर्दा सर्भे भएभन्दा अर्कै ठाउँबाट निर्माण भएकोले गाउँमा पहिरो सुरु भएको स्थानीयको भनाई छ ।


सुरुमा खैराणी, माटिखान, पिपलको रुख, हुँदै तिखा ढुंगा भएर सडक कटान गर्ने गरी सर्भे भएको थियो । तर सडक पछि आएर विना सर्भे खैराणी, सिलम्भु तोलीहुँदै तिखा ढुंगातिरबाट सडक निर्माण गरेका कारण यस्तो हविगत भएको उनीहरू बताउँछन् । उसो त सर्भे भएकै ठाउँबाट सडक निर्माण गर्नका लागि स्थानीयले दबाब पनि नदिएका होइनन् ।


‘विनासर्भे सडक नबनाउनुस, जोखिम हुन्छ भनेर अनुरोध गर्‍यौं,’ स्थानीय मानबहादुर बोहोराले भने, ‘ठेकदारले मान्दै नमानेपछि डोजरको अगाडि सुतेर अवरोध पनि गरेका हौं ।’ उनले स्थानीयको अवरोध हटाउन सडक डिभिजनका कर्मचारी, नेता र ठेकेदारहरूले कुनै पनि जोखिम नहुने र भइहाले पनि नियन्त्रणका लागि योजना पारिदिने भन्दै गाउँलेलाई फकाएर काम सुरु गरेको बताए । ०७४ मा पहिरो सुरु भएपछि करोडौं लगानी गरी निर्माण गरिएको यो सडकसमेत काम नलाग्ने भएको छ । उदघाटन गरेको ३ महिनापछि बन्द भएको यो सडक गाडी सञ्चालन नहुने गरी बन्द भएको हो ।


नियन्त्रणकै नाममा करोड बढी बग्यो

सडकले जोखिममा पारेको क्षेत्र तत्कालीन संविधानसभा सदस्य लालबहादुर रावलको गाउँ पनि हो । गाउँमा सडक पुगेकै वर्ष पहिरो सुरु हुँदा उनले आफ्नो पहुँच प्रयोग गरी पहिरो नियन्त्रणका लागि ठुलो बजेट गाउँमा भित्र्याए पनि सबै प्रयास पहिरोसँगै बगेर गएका छन् । गाउँ बचाउन भनेर केन्द्रिय योजनाबाट १ करोड २० लाख खर्च भएको छ । यो बृहत योजनाबाट पहिरो क्षेत्रमा लगाएका ग्याविन जाली सबै पहिरोले बगाई सकेको छ ।


यसैको लागि गत वर्ष प्रदेश सरकारबाटसमेत १५ लाख खर्च गरेर तारजाली लगाउने कामसमेत गरिएको थियो । ‘प्रदेशको पैसाले लगाएको जाली त योजना पास भएको तेस्रो दिन नै सबै बगाई सकेको थियो,’ सुनादेवी बोहोराले भनिन्, ‘करोडका जालीले त काम गरेन । १५ लाखका जाली के टिक्थे ।’ पहिरो नियन्त्रणका नाममा झन्डै डेढ करोड खर्च गरे पनि पहिरो रोकिने कुनै छाँटकाट नदेखिएकाले गाउँ नै सुरक्षित स्थानमा सारिदिए आफूहरू ढुक्कले सुत्न पाउने यहाँका बासिन्दाको माग छ ।


सडकबाट आएको पहिरोले गाउँ नै बगाउन लाग्दा पनि विस्थापित तथा जोखिममा रहेका परिवारको पीडालाई कसैले नसुनेको स्थानीयको गुनासो छ ।


यता तत्कालीन संविधानसभा सदस्य रावल भने गाउँलेकै जिद्दीका कारण यो अवस्था आइलागेको बताउँछन् । ‘सर्भे गरेको ठाउँमा सडक लैजाउँ, भोली जोखिम हुन्छभन्दा उतिवेला आफ्ना घरघरमा रोड पुर्‍याउन खोजे,’ उनले भने, ‘सर्भे गरेको ठाउँबाट लगिदिएको भए यस्तो हुने थिएन ।’ उनले सम्पूर्ण गाउँलेले आफ्नो घरजग्गा क्षति भए पनि कुनै उजुर नगर्ने सर्तमा मन्जुर भए पछि सर्वे विपरीत सडक निर्माण गरिएको र सम्पुर्ण गाउँलेले हस्ताक्षर गरेको कागज अहिले पनि आफूसँग सुरक्षित रहेको बताए ।


आफूले त्यहाँको जनप्रतिनिधीका हैसियतले पहिरो नियन्त्रण गर्न विभिन्न निकायमा गुहार गरी बजेट हाल्न लगाए पनि ठुलै पहिरो लागेकाले रोक्न नसकिएको बताउदै बस्ती सार्नु नै सबैभन्दा उत्तम विकल्प भएको बताए । प्रदेश सरकारले यही ठाउँमा चालु आवका लागि पनि पहिरो नियन्त्रण गर्ने शीर्षकमा १५ लाख रकम विनियोजन गरेको छ ।


जथाभाबी डोजरले प्रकोप

यसै गाउँपालिकामा डिभिजन सडक कार्यालय बैतडीले नै निर्माण गरेको अर्को जडार–कोइरालकोट सडकका कारण वडा ९, आममबगर र भुवाँबस्तीका ८ घर भत्किएका छन् । २५ घर पहिरोको जोखिममा छन् ।


यहाँका बासिन्दा पनि बस्ती सारिदिन माग गर्दै ३ वर्षदेखि जिल्लाका विभिन्न निकायसँगै मुख्यमन्त्रीको कार्यालयसम्म धाइरहेका छन् । थलारा गाउँपालिकामा मात्र विभिन्न सडकका कारणले ७ गाउँ जोखिममा छन् । बझाङका ११ गाउँपालिकाका १ सय १५ भन्दा बढी गाउँ सडकका कारणले उत्पन्न भएको प्राकृतिक प्रकोपको जोखिममा रहेको जिल्ला दैविप्रकोप उद्धार समितिको तथ्यांक छ ।


प्राकृतिक प्रकोपसम्बन्धी अध्ययन गर्ने अन्तर्राष्ट्रिय संस्था जियोहजार्ड इन्टरनेसनलले पनि बझाङ पहिरोको उच्च जोखिममा रहेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको थियो ।


उक्त संस्थाले गत वर्ष सार्वजनिक गरेको प्रतिवेदनले बझाङमा ७ रेक्टरभन्दा माथिको भूकम्प गएको अवस्थामा ११ गाउँपालिकाको ३ हजार ६ सय ३० ठाउँमा पहिरो जाने र ठुलो धनजनको क्षति हुने तथ्यांक सार्वजनिक गरेको हो । भूकम्पले बझाङमा पर्ने असर र उत्थानशीलताका लागि चाल्नुपर्ने कदमबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा प्रतिवेदन सार्वजनिक गरिएको थियो ।


पछिल्लो समय वातावरणीय प्रभावको विश्लेषण नगरी डोजर लगाएर सडक खन्ने काम तीव्र रूपमा भइरहेका कारण पहिरोको खतरा बढेको उक्त प्रतिवेदनमा उल्लेख छ ।


प्रतिवेदनअनुसार बझाङको वित्थडचीर गाउँपालिकामा १५०, बुङगल नगरपालिकामा ८००, छविस पाथिभेरा गाउँपालिकामा २००, दुर्गाथली गाउँपालिकामा ११० र जयपृथ्वी नगरपालिकामा ३०० भन्दा बढी ठाउँमा पहिरो लाग्न सक्ने अनुमान गरिएको छ । यस्तै खप्तड छान्ना गाउँपालिकामा ३६०, केदारस्युँ गाउँपालिकामा २००, मष्टा गाउँपालिकामा १९०, सुर्मा गाउँपालिकामा ४९०, तल्कोट गाउँपालिकामा ६०० र थलारा गाउँपालिकामा १९० भन्दा बढी स्थानमा पहिरोको जोखिम रहेको छ ।


‘कमजोर भौगर्भिक अवस्था भएको पहाडी जिल्लामा जथाभावी डोजर चलाएका कारण पहिरोको खतरा दिन प्रतिदिन बढदै गएको छ,’ जियोहजार्ड इन्टरनेसनका राष्ट्रिय प्रतिनिधि उपमा ओझाले भनिन्, ‘उसै पनि धेरै ठाउँमा पहिरो सुरु भइसकेको छ । त्यसैमाथि भूकम्प गयो भने जिल्लाभरि पहिरैपहिरो हुनेछन् ।’


पश्चिम नेपालमा ठूलो भूकम्प नआएको लामो समय भइसकेका कारण जतिबेला पनि भूकम्पको खतरा रहेको भन्दै यसवाट हुने क्षति कम गर्न वातावरण मैत्री विकासको अभ्यास हुनुपर्ने उनको सुझाव छ । जियोहार्जाड इन्टरनेसनलका भुगर्भबिदहरूले करिब २ वर्ष लगाएर प्रतिवेदन तयार गरेको बताउँदै ओझाले बझाङमा भूकम्पपछि खस्ने पहिरो र अन्य कारणले हुने क्षतिको विवरण पनि प्रस्तुत गरेकी थिइन् ।


७ दशमलव ८ रेक्टरको भूकम्प आउँदा बझाङको ३४ हजार घरधुरीमध्ये ९ हजार ५ सय घरधुरी पूर्ण रूपमा क्षति हुने र २३ हजार घरधुरी आंशिक रुपमा क्षति हुने प्रतिवेदनमा अनुमान गरिएको छ । उक्त प्रतिवेदनअनुसार त्यो भूकम्प जाँदा जिल्लाका १५ घर मात्र बच्ने र अरु सबैमा पुर्ण वा आंशिक क्षति हुने उल्लेख छ ।


घरहरू भत्केर मात्र ४ हजार जनाको मृत्यु हुनसक्ने र १५ हजार जना सख्त घाइते हुने सक्ने तथ्यांकमा उल्लेख गरिएको छ । जिल्लाभरि ९३ प्रतिशत घर ढुंगाले बनेकाले बढी पहिरोको जोखिमयुक्त ठाउँमा भएको र ०.३ प्रतिशत घर मात्र भूकम्प प्रतिरोधी र सुरक्षित भएको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय जनगणना २०६८ अनुसार बझाङको कुल जनसंख्या १ लाख ९५ हजार छ ।


यसअघि ०२३ मा बझाङमा केन्द्रविन्दु बनाएर ६ दशमलव ३ रेक्टरको भूकम्प गएको थियो । यसले ८० जनाको ज्यान गएको र ३ हजार घर भत्काएको थियो । त्यस्तै ०३७ मा बझाङमै केन्द्रविन्दु बनाएर आएको ६.५ रेक्टरकै भूकम्पले समेत १ सय ७८ जनाको ज्यान गुमेको थियो । २ हजारभन्दा बढी त घर भत्किएको थियो ।

प्रकाशित : भाद्र ३, २०७६ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?