१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बुढीगंगामा वैकल्पिक मार्ग

बाजुरा — बुढीगंगा नदीमा सडक भासिएपछि साँफे–मार्तडी खण्डअर्न्तगत अम्कोटको द्वारीमा तत्कालका लागि वैकल्पिक मार्ग खोल्न सुरु गरिएको छ । बुढीगंगा नगरपालिका १, बल्देदेखि द्वारीसम्म करिब १५ मिटर सडक भासिएपछि सवारी आवतजावत रोकिएको छ । 

प्रमुख जिल्ला अधिकारी चेतराज बरालसहित जिल्ला विपत व्यवस्थापन समितिको टोलीले शनिबार सडकको अनुगमन गरेको थियो ।


लामो समय यातायात अवरुद्ध भएकाले आइतबार बिहानदेखि अस्थायी रुपमा वैकल्पिक मार्ग खोल्न सुरु गरिएको प्रजिअ बरालले बताए । तत्कालका लागि सडक विभागको आपतकालिन रकमले वैकल्पिक मार्ग निर्माण थालिएको उनको भनाइ छ । ‘भासिएको ठाउँमा बल्देबाट माथिमेला हुँदै द्वारीको डाँडामा मिलाउने प्रयास गर्छौं,’ उनले भने ।


बाजुरा सडक कालोपत्रे भएको ३ वर्ष मात्रै भयो । बार्जुगाढदेखि मार्तडीसम्मको २७ किमि खण्डमा हरेक वर्षा अवरुद्ध हुँदै आएको छ । ‘हल्का वर्षा हुनेबित्तिकै सडक अवरुद्ध भयो भन्ने खबर आउँछ,’ प्रजिअ बरालले भने, ‘सडककै कारणले जिल्लावासीले हरेक वर्षामा सास्ती खेप्नुपर्ने बाध्यता छ ।’


सडक भासिएकाले हाल बुढीगंगा नगरपालिकाको बल्देसम्म मात्रै बस सेवा सञ्चालनमा छन् । त्यहाँबाट सदरमुकाम पुग्न करिब १४ किमि रहेकाले महँगो भाडा तिरेर वारिपट्टि रहेका जिपमा यात्रा गर्नुपर्ने बाध्यता रहेको वडा १ का अध्यक्ष पदम भण्डारीले बताए । मार्तडी, कोल्टी, पिलुचौर, धुलाचौरसम्म पुग्ने सडक पनि अहिले अवरुद्ध छन् ।


सडक यातायात अवरुद्ध भएकाले व्यापारीहरूले महँगो भाडा तिरेर खच्चड र भरियाबाट समान ढुवानी गर्नुपरेको बताएका छन् । ‘सास्तीको त कुरै छाडौं,’ खप्तड छेडेदह गाउँपालिकाका व्यापारी सुरेन्द्र नाथले भने, ‘महँगीको मार छ ।’

प्रकाशित : भाद्र ३, २०७६ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?