१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

चिकित्सकविहीन उपक्षेत्रीय अस्पताल

डडेलधुरा — सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाका बिरामीले सहज उपचार पाउने एकमात्र डडेलधुराको उप–क्षेत्रीय अस्पतालमा चिकित्सक अभाव छ । चिकित्सक नहुँदा बिरामीले सहज रुपमा उपचार पाउन सकेका छैनन् ।

४५ वर्षअघि अमेरिकी नागरिक डा. सिमनले स्थापना गरेको टिम अस्पताल र जिल्ला अस्पताल डडेलधुरालाई गाभेर सरकारले उपक्षेत्रीय अस्पताल घोषणा गरेको ७ वर्ष हुँदा पनि अझै व्यवस्थित भएको छैन । ७ वर्षअघि सय शैय्याको अस्पताल घोषणा भए पनि चिकित्सक र अन्य भौतिक पूर्वाधार निर्माण नहुँदा ८० शय्या मात्र सञ्चालनमा छ ।


पछिल्लो समय संघीय सरकारले आफ्नो मातहत सञ्चालन हुने गरि घोषणा गरेका ५ सय शैय्याका ५ अस्पतालमध्ये यो पनि एक हो । संघीय सरकार मातहत यस अघि १४ अस्पताल थिए । गत आवमा सरकारले ५ अस्पताल थप गरेको थियो । जसमध्ये डडेलधुरा अस्पताल पनि एक हो । घोषणा गरेको एक वर्ष बिते पनि अहिलेसम्म अस्पतालमा कुनै सुधार भएको छैन । भौतिक पूर्वाधारको समस्यासंँगै कर्मचारी समायोजनले यहाँ चिकित्सक छैनन् ।


‘पछिल्लो समय समायोजनका कारण चिकित्सक अभाव छ,’ अस्पतालका प्रमुख डा. जितेन्द्र कंँडेलले भने, ‘३८ चिकित्सकको दरवन्दी भएको अस्पताल जम्मा ५ जनाले सेवा दिनुपर्ने वाध्यता छ ।’ प्रदेश र स्थानीय तहमा समायोजन भएका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी पदस्थापन भएको ठाउँंमा गएपछि अस्पतालमा चिकित्सक अभाव भएको कंँडेलले बताए । ‘३८ जनाको दरबन्दीमा १३ जनाले काम गरिहेका थियौं,’ उनले भने, ‘त्यसमा पनि प्रदेश र स्थानीय तहमा समायोजन भएका चिकित्सक गएपछि जम्मा ३ जना मात्र वांँकि छौं ।’


समायोजनका कारण चिकित्सक मात्र होइन अस्पतालमा कार्यरत स्टाफ नर्स तथा अन्य स्वास्थ्यकर्मीको पनि अभाव छ । डा. कंँडेलले भने, ‘समायोजन भएका सवै स्वास्थ्यकर्मीले जानैपर्ने हो तत्काल समस्या नभए पनि धेरै समायोजनमा परेका कारण स्वास्थ्यकर्मी अभाव छ ।’ ३० स्टाफ नर्सको दरवन्दी भए पनि धेरैजसो समायोजनमा परिसकेका छन् ।


१९ मेडिकल अफिसर र १८ कन्सलटेन्टको दरबन्दी रहे पनि स्थापनाकालदेखि अहिलेसम्म कहिल्यै पूर्ण हुन सकेन । यहाँ दैनिक ४ सय बढी विरामीले सेवा लिने गर्छन् । पटक–पटक डाक्टर र स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार तथा आक्रमणले पनि चिकित्सकहरू आउन नमानेको उनीहरू स्वयं वताउँछन् । सरकारले ५ सय शैय्याको अस्पताल घोषणा गरेको वर्षदिन बित्न लागेको छ ।


अस्पताल प्रशासनले भने यो विषयमा अहिलेसम्म औपचारिक जानकारी पाएको छैन । ‘यस विषयमा औपचारिक जानकारी आएको छैन,’ डा. कँंडेलले भने, ‘सुन्नमा मात्र आएको हो तर मन्त्रालयले यस विषयमा औपचारिक रुपमा जानकारी दिएको छैन ।’

प्रकाशित : भाद्र २, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?