कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गृहिणीलाई रोजगारी

‘सुरुमा छरछमेकी र साथीहरू सारी र ब्लाउजमा कडाइ गर्न आए, साथीहरूकै प्रचारले काम थपिँदै गयो’
मोहन बुढाऐर, गणेश चौधरी

धनगढी/टीकापुर — हरितालिका तीजलगायत चाडबाड सुरु भएका छन् । धनगढी क्याम्पस रोडमा रूपा चौधरीलाई भने यतिवेला सारी, ब्लाउज, मखमली सललगायत कपडामा हातेकडाइको अर्डर लिन भ्याइनभ्याई छ । पछिल्लो समय महिलामा हातेकडाइका कपडा लगाउने फेसन बढेको छ । 

गृहिणीलाई रोजगारी

रूपाले स्नातक सकेकी छन् । उनी आत्मनिर्भर बन्न चाहन्थिन् । सुरुमा जागिरका लागि भौंतारिइन् । पहुँच नभएकाले जागिर पाइनन् । पछि उनी स्वरोजगार पेसा छनोट गरिन् । ‘प्रतिस्पर्धात्मक बजारमा नयाँ सीप र ज्ञानको खोजीमा थिएँ,’ उनले भनिन्, ‘एक दिन बजारमा साथीको सारी किन्न पसलमा गइयो । त्यहाँ कडाइ गरेको सारी साह्रै महँगो देखें ।’ उनले ५ सयको सारी कडाइ गर्दा १५ हजारसम्म पर्ने गरेको थाहा पाइन् । त्यसको केही दिनपछि स्थानीय पत्रिकामा एउटा विज्ञापनमा उनको नजर पर्‍यो । विज्ञापनमा सारी, ब्लाउज, सलमा हातेकडाइको तालिम खुलेको थियो ।


उनी भन्छिन्, ‘भोलिपल्ट त्यस कार्यालयमा सम्पर्क गरें । सहजै ३ महिने तालिम लिने अवसर प्राप्त भयो ।’ अहिले आफूले पाएको सफलतामा पतिको साथ पनि महत्त्वपूर्ण भएको उनले सुनाइन् । सिकेको सीप प्रयोग गर्न उनले क्याम्पस रोडस्थित आफ्नै घरमा कडाइको पसल सञ्चालन गरिन् । ‘सुरुमा छरछमेकी र साथीहरू सारी र ब्लाउजमा कडाइ गर्न आए,’ उनले भनिन्, ‘साथीहरूकै प्रचारले काम थपिँदै गयो ।’


अहिले त अन्य पसलले पनि उनलाई काम दिन थालेका छन् । ५ महिलालाई रोजगार दिएको उनले बताइन् । चाडबाड र विवाहको समयमा १०/१५ जनाले काम पाउने गरेका छन् । उनले आफूलाई एक ट्रेनरका रूपमा स्थापित गराएकी छिन् । ‘सुदूरपश्चिमका लगभग सबै जिल्ला सदरमुकाममा कडाइसम्बन्धी तालिम सञ्चालन गरेकी छु,’ उनले भनिन्, ‘तालिम सञ्चालनबाट राम्रै आम्दानी पनि भइरहेको छ ।’


कैलालीको टीकापुर क्षेत्रका थारू महिलाले तयार गरेको ढकिया ।

हातेकडाइ फेसन डिजाइनका रुपमा चल्दा बजारमा यो ब्यवसाय गर्नेको संख्या अहिले बढेको छ । ‘कडाइका लुगा लगाउने चलन गाउँ देखी सहर सम्म चलेको छ,’ रूपाले भनिन्, ‘घरमै बसेर आम्दानी गर्न खोज्ने गृहणीलाई यो पेसाले रोजगारी दिन सक्छ ।’ उनले अहिले गृहणीहरू आकर्षित समेत भईरहेको बताइन् । धनगढी गाउँकी सलमा चौधरी पनि अहिले यो पेसा व्यस्त छिन् । ‘सुरुमा घरमा खाली बसेकी थिएँ,’ उनले भनिन्, ‘रुपासंँगको भेटमा काम सिकें, उनकै काम गर्दागर्दै आफनै पसल थापें ।’ पसल थाप्न नसके पनि घरमै यो काम अर्डर लिएर गर्न सकिने उनले बताइन् ।


त्यसैगरी हाते कडाइसम्बन्धी तालिम लिँदै आएकी मालती चौधरीले भनिन्, ‘घरमा खाली समय बितिरहेको हुन्छ । त्यसलाई सदुपयोग गर्न यो काम सिक्न थालेकी हुँ ।’ उनले यो काम सिके महिनामा १० देखि १५ हजारसम्म कमाउन सकिने बताईन् । उनका अनुसार बजार रेट अहिले एउटा सारीमा हाते कडाइको कम्तीमा १५ सयदेखि ३ हजार लिने गरेका छन । उनी भन्छिन्, ‘महिनामा ८/१० सारीको अर्डर लिएर काम गर्न सकिन्छ ।’ घरमै बसेर आम्दानी गर्न सकिने यो महिलाको अत्यन्तै राम्रो सीप भएको सावित्री भट्ट बताउँछिन् ।


थारू महिलाको ढकिया कला

वर्षायामको खेतीपातीको चटारो सकिएको छ । यो फुर्सदको बेला थारू महिलाको हरचाली (खाली समयमा केही गर्ने) काम नै ढकिया बनाउने हो । गाउँका थारू महिला आजभोली यसैमा व्यस्त छन् ।


जंगलमा पाइने एक किसिमको झार (मुज र पुजा) बाट थारू महिलाले ढकिया बनाउने कला उनीहरूको परम्परागत सीप हो । ढकिया बनाउन सिजनमै झार संकलन गरेर राख्ने र वर्षायामको खेतीपातीको काम सकिएपछि फुर्सदमा ढकिया बनाउने गरेको जानकी गाउँपालिका ३ की फूलकुमारी चौधरीले बताइन् ।

‘ढकिया अन्न ओसार्न प्रयोगमा आउने गर्छ,’ उनले भनिन्, ‘धान, गहुँ, मकै, मसुरो जस्ता अन्न दाइ गरेर डेहरी (भकारी) मा राख्न र निकाल्न पनि यसको प्रयोग हुन्छ ।’ थारू महिलाले आफना पुर्खाबाट सिक्दै आएको यो महत्त्वपूर्ण हस्तकला हो । यो विभिन्न साइज र थरी–थरी काममा प्रयोग गर्न ढकिया बनाउने गरिएको छ ।


टीकापुर एफएममा कार्यरत जानकी गाउँपालिका ८ की गीता चौधरीका अनुसार ढकिया सादा र रंगीन रुपमा पनि बनाउने गरिन्छ । उनले भनिन्, ‘रंगीन ढकिया बनाउन चाहिने सामग्री रंगाइएको हुन्छ ।’ रंगीन ढकियामा विभिन्न किसिमका बुट्टा बनाउने गरिन्छ । पुर्खौंदेखि महिलाले ढकियामा बनाउदै आएको बुट्टाहरूमा सिकहर, गरडग्लदी, घोरुवा आदि लोकप्रिय रहेको उनले बताइन् ।


थारू महिलाले बनाउने ढकियाको स्वरुप अनुसार त्यसको काम पनि फरक–फरक हुने गरेको छ । लोटामा राखिएको पानी छोप्न बनाइएको पनछोप्नी, विवाहमा सामान राख्न बनाइने डेलुवा, लुगा राख्न बनाइएको भौका, ढिकरी पकाउन पैन, सामान राख्न फेरुवालगायत सामान ढकियाकै स्वरुप भएको उनीहरू बताउँछन् ।


सोनकेशरी थारूका अनुसार थारू समुदायको विवाहमा डेलुवा नभएर विवाह असम्भव मानिन्छ । विवाहमा दुलहीको लुगा कपडा र गरगहना राख्न डेलुवाको प्रयोग गरिने उनले बताइन् । डेलुवा निकै सजावट गरी बनाइएको हुन्छ । डेलुवा सजाउन मयूरको प्वाख, सीपी, गुइजी रंगीचंगी कपडा वा उन आदिको प्रयोग गरिने सोनकेशरी बताउछिन् ।


हस्तकलामा थारू महिला निकै निपुर्ण रहदै आएका हुन् । उनीहरूले पहिला लुगा राख्न भौका बुन्थे । पुरै परिवारको लुगा राख्न यसैको प्रयोग हुन्थ्यो । आजभोली भने यसको प्रयोग हराउदै गएको छ । भौकाको बदला दराजको प्रयोग गर्दै आएका छन् ।


ढकिया बुन्न प्रयोग हुने मुख्य औजार छेदना हो । यो तीखो हुने भएकाले यसबाट गोभेर ढकिया बुन्ने गरिन्छ । एउटा राम्रो ढकिया बनाउन महिना दिन पनि लाग्ने ढकिया बुन्न जानेका थारू महिला बताउँछन् । ढकियाको मुख माथितर्फ खुला हुने र तल साँघुरो हुँदै बन्द गरिएको हुन्छ । ढकियामा सामान राखेर थारू महिलाले टाउकोमा राख्छन् र सामान ओसार्छन् ।


पछिल्लो समय ढकिया बनाउने झारको कमी हुदै गएको र थारूसमुदायको नयाँपुस्ता पनि यो सीपमा आकर्षित हुन नसक्दा ढकिया कम बनाउने गरिएको छ । टीकापुरका वीरबहादुर चौधरीका अनुसार उहिले आफुलाई आवस्यक सबै सामान थारूले आफैं बनाउथे । विवाहमा चेलीबेटीलाई ढकिया उपहार दिने चलन थियो । आजभोली भने यसको निर्माण र प्रयोग पनि कम हुँदै गएको उनले बताए ।


वीरबहादुर चौधरीकाअनुसार अहिले नेपाल भ्रमण वर्ष २०२० को तयारी छ । थारू चेलीलाई ढकिया उपहार दिए जस्तै ढकियालाई उपहारको सामानको रुपमा प्रयोगमा ल्याउन जरुरी छ । यो ठाउँको छुट्टै परिचय पनि हुने र थारू महिलाको हस्तकला पनि जोगिने देखिन्छ  ।

प्रकाशित : श्रावण ३०, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?