१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

५ हजार मिटर उचाइमा सुर्मा जात्रा

कान्तिपुर संवाददाता

दार्चुला — अपीहिमाल गाउँपालिकाको खण्डेश्वर र घुसाका बासिन्दाले २ साता अघिदेखि सुर्माभवानीको जात्रा मनाइरहेका छन् । सुर्माभवानी जात्रा साउने औंसीदेखि १७ दिन र रतेडीदेखि ७ दिनसम्म धुमधाम मनाइन्छ । सुर्माभवानी जात्रा साढे ५ हजार मिटर उचाइमा गएर मनाइन्छ ।

५ हजार मिटर उचाइमा सुर्मा जात्रा

अपीहिमाल गाउँपालिकाको घाजिर हुँदै बझाङको सुर्मा सरोवरको सीमासम्म यो जात्रा मनाइन्छ । सम्भवतः यो जात्रा लामो समयसम्म मनाइने खण्डेश्वरीका कल्यानसिंह बोहरा बताउँछन् । सुर्मा तालमा अपीहिमालको खण्डेश्वरीबाट जाने तीर्थालुले सरोवरमा पूजा गरेपछि मात्रै बझाङबाट आउने तीर्थालुले पूजा गर्ने चलन छ ।


जात्राका लागि छेती पुर्ख्यौली घर भएका र घाजिर घर भएका तीर्थालु औसीदेखि एक छाक मात्र खाएर सुर्माभवानीको व्रत बस्ने परम्परा छ । सुर्मासरोवर तीर्थ जाने व्रतालु भक्तलाई वीरे भनिन्छ । वीरे दुई प्रकारका हुन्छन् । जसमा पहिलोपटक जानेलाई बालो वीरे र पटक–पटक गएकालाई बुढोवीरे भन्ने चलन छ । जसअनुसार सहभागी हुने छेती घर भएका ठेकरे, बोहरा, धामी, वैरे समुदायका भक्तजनलाई उवादेशी, घाजिर घर भएका भक्तजनलाई उनादेशी तथा खण्डेश्वरीभित्र बसोबास गर्ने, रोकाया, कार्कीलाई वाइदेशी भन्ने चलन छ । जात्रामा सहभागी हुने भक्तजनलाई यो अवधिभर लसुन, प्याज, मसुरो तथा मदिरा, मासु वर्जित छ ।


स्थानीय नरहरी ठेकरेका अनुसार यो जात्राका ७ दिनलाई महत्त्वका रूपमा लिइने गरिन्छ । उवादेशी यात्रीहरू पहिलो दिन क्षेत्तीमा जम्मा हुन्छन् । उनादेशी, जत्तोर र बाइदेशीहरू घाजिरमा जम्मा हुन्छन् । दोस्रो दिन घाजिरबाट यात्रु क्षेत्ती गाउँ जाने गर्छन् । घाजिरबाट गएका यात्रुलाई स्वागत गर्न क्षेत्तीबाट पनि बाजागाजासहित देउताको नाच गानासहित जय जयकार गर्दै आउने गर्छन् । उनीहरूको क्षेत्तीको काना ढुढु भन्ने ठाउँमा भेट गर्ने परम्परा छ । सुर्मा सरोवर जात्राको तेस्रो दिन वीरेहरू सुर्माभवानीको यात्रामा हिँड्छन् । वीरेहरूलाई भवानीको भक्तका रूपमा स्थानीय भेषमा सिँगारपटार गरी बिदाइ गरिन्छ ।


यात्राको आरम्भ क्षेत्तीबाट हुन्छ र अन्निखाना, धरमघर, वीरेफट्टा ठडिउल, दुबै हुँदै वीरे ओडारमा गएर बास बस्ने गरिन्छ । यता वीरेहरूलाई बिदाइ गरेपछि क्षेत्तीमा विभिन्न देवीदेवताको चैत, भाडिखेल, ढुस्को, डेउडा खेल्ने गरिन्छ भने ढाको बजाएर चाहै खेल्दै रमाइलो गर्ने गरिन्छ ।


जात्राको पाँचौं दिन वीरेहरू बिहानै नदीमा स्नान गरी व्रतबन्ध गर्दै सुर्मासरोवरको यात्रामा हिँड्छन् । हात र खुट्टाको सहाराले हिँडदै सरोवरमा पुग्नेगरिन्छ । सबै तीर्थयात्रु वीरेहरू र यात्रु घाजिर जाने गर्छन् । यो दिन जात घाजिरमा पुर्‍याउने गरिन्छ । यो दिन पनि सबै वीरेहरू, धामी, पुजारी, ढाके तथा सबै यात्रु बाजा बजाउँदै नाचगान गर्दै, चाहै खेल्दै घाजिर पुग्ने गर्छन् ।


नेपालकै इतिहासमा यति लामो जात्रा कहीं छैन । यति लामो जात्राबारे प्रचार भएको छैन । जात्रालाई मर्यादित बनाउन गाउँपालिकाले गुरुयोजना अनुसार काम अघि बढाएको अपीहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल बताउँछन् । विशेष जात्रा मनाइने भएको कारण क्षेत्ति घाजिरलाई नमुना बस्तीका रूपमा विकास गर्न गुरुयोजना निर्माण सुरु गरिएको उनले बताए ।

प्रकाशित : श्रावण २९, २०७६ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?