कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अधिकांश झोलुंगे पुल जीर्ण

संगीता तिमिल्सेना 

बाजुरा — बाजुराका विभिन्न नदीमा निर्माण गरिएका झोलुंगे पुल जीर्ण छन्  । बुढीगंगा र कर्णाली नदीका पुलमा पानीको बहाव पुलमाथि पुग्न थालेपछि वर्षौं मर्मत नगरिएका पुलमा जोखिम बढेको हो  ।

लगातारको वर्षाले त्रिवेणी र बुढीगंगा नगरपालिकाको ताप्रिसेराको झोलुंगे पुल जोखिममा छ । पुलमाथि पानी गएपछि आवतजावत बन्द भएको पैमाका राजेश खत्रीले बताए । ‘भारी वर्षा भएका दिन पुलमाथि नदी बग्छ,’ उनले भने, ‘पानी नघट्दासम्म आउजाउ ठप्प हुन्छ ।’


त्यसैगरी अन्य झोलुंगे पुल पनि जोखिममा छन् । बुढीगंगा नदीले द्वारी, तिपाडा, रापक, अछामको साँफेबगर, बुढाबगरलगायतका पुल जोखिममा पुर्‍याएको छ । कर्णालीको पिलुचौर(जुकोट पुल पनि उच्च जोखिममा छ । स्वामीकार्तिक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुवेर शाहीका अनुसार पिलुचौरको पुल पनि जोखिममा छ । उनले भने, ‘कुन दिन कर्णालीले पुल बगाएर लग्यो भन्ने सुन्नुपर्ने अवस्था आउने पक्का छ ।’


बुढीगंगा नदीको द्वारीमा रहेको झोलुंगे पुल अहिले खोलाको बगरमा लछारिएको छ । पानी आउने ठाउँमा मात्र थोरै माथि छ । त्यही पनि आधा पुल भाँचिएको स्थानीय धन जैशीले बताए । ‘पुल जतिखेर पनि बगेर जाने भएकाले हामीले पानी परेको बेला स्थानीयलाई आवतजावत गर्न रोक लगाएका छौं,’ उनले भने ।

त्यसैगरी कर्णाली नदीमा रहेका अन्य दर्जन पुल पनि जोखिममा छन् । वाई र बाँधु जोड्ने पुल, गोत्री र साप्पाटा जोड्ने पुल, रुगिन र मुगु बाजुरा हुम्ला जोडने झोलुंगे पुल जोखिममा रहेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । वर्षामा अचानक पानीको बहाव बढेपछि जतिखेर पनि कर्णालीले पुलसँगै सर्वसाधारणलाई पनि बगाउने सम्भावना रहेको स्वामिकार्तिक गाउँपालिकाका अग्नि शाही बताउँछन् ।


त्यस्तै बुढीनन्दा नगरपालिकाको वडा २ र ८ लाई जोड्ने दैयामा रहेको पुल पनि जोखिममा छ । ‘बर्खा लागेपछि आउजाउ पनि गर्दैनौं साह्रै डर लाग्छ,’ दैयाकी मेनका खत्रीले बताइन् । उनले भनिन्, ‘अहिले त नयाँ पुल बनिसकेको छ । तर हामीले धेरै वर्ष त्यही जीर्ण पुलबाटै ओहोरदोहोर गर्‍यौं ।’ कोल्टी(कोटिला जोड्ने बड्डीगाड खोलामा रहेका पसल पनि जोखिममा छन् ।

पुल जोखिममा भएपछि त्यहाँका सबै किसान, व्यापारी, विद्यार्थीलाई समस्या भएको छ । कोल्टी बजारमा खासगरी दही, दुध, दाउरा कोटीलाबाटै आउने गर्छ । बर्खामा खोलाको डरले किसानहरू नआउने भएकाले बजार सुक्खा भएको होटल व्यवसायी दुर्गा जोशीले बताइन् ।


यी मात्रै होइनन् वर्षायाममा नदीमा पानी बढ्न थालेपछि बाजुराका अन्य दर्जनौं पुलसमेत बाढीको जोखिममा छन् । अछाम(बाजुरा जोड्ने इकडी गाड पुल, सेरामा रहेको बुढीगंगा, बाजुर्गाड, गुइगाड, कोर्दालिगाड, घटमुना, सदरमुकामनजिकै रहेको बाहुलीखोला पुल, दहकोट, मौरेलगायत नदीमा रहेका झोलुंगे पुल जोखिममा रहेको स्थानीय बताउँछन् ।

प्रकाशित : श्रावण २९, २०७६ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?