२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हटेन अनियमित विद्युत् कटौती

कान्तिपुर संवाददाता

धनगढी — धनगढीमा विद्युत अनियमित हुने समस्या कायमै रहँदा उद्योग व्यवसायलगायत सर्वसाधारणले सास्ती खेपिरहेका छन् । चैत–वैशाखदेखि सुरु भएको विद्युत् आपूर्तिमा अनिमियतता जेठ तेस्रो साताको भीषण हुरीबतास पछि झनै बढेको हो ।

अनियमित रूपमा लामो समय गइरहने विद्युतले विभिन्न कार्यालयको काम प्रभावित भएका छन् । यातायात कार्यालयका निमित्त प्रमुख गम्भीरसिंह विष्टले विद्युत् कटौती हुँदा काममा समस्या भएको बताए ।


‘यातायात कार्यालयमा दैनिक सयौं सेवाग्राही लाइनमा हुन्छन्, अनियमित रुपमा बारम्बार विद्युत् कटौती हुँदा काम ढिलो हुने गरेको छ,’ उनले भने, ‘सम्बन्धित निकाय यसतर्फ गम्भीर हुनैपर्छ ।’ विद्युत् नियमित नहुँदा पसलमा आएका ग्राहकलाई फिर्ता पठाउनुपरेको धनगढी तारानगरस्थित फोटो स्टुडियोका सञ्चालक जगत थापा बताउँछन् । ‘यो सबै पैसाको चलखेल हो,’ धनगढी ५ का मोहन कापडीले भने । केही दिनअघि मिडियाले मुद्दा उठाएपछि सेवा नियमित गरेको प्राधिकरणले फेरि अनियमित गरिरहेको उनले बताए ।


विद्युत् प्राधिकरण अत्तरिया ग्रिडका प्रमुख शतिशकुमार कर्ण भने विद्युत अनियमित रुपमा कटौती हुनुको मुख्य कारण नेपाल–भारतको लाइन परिवर्तन गर्न खोज्दा भएको बताउँछन् । उनले भने, ‘चमेलिया जोड्न धनगढीको लाइन कटअप गर्नुपर्ने बाध्यता छ । टनकपुरबाट आउने विद्युत काटेर नेपालको लाइन जोड्न खोज्दा कटौती गरिन्छ,’ उनले भने, ‘कटअप गरेको लाइन पुनः जोड्न समय लाग्छ ।’ यद्यपि केन्द्रसँग समन्वय गरी समस्या समाधानको पहल भइरहेको उनले बताए ।

प्रकाशित : श्रावण २८, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?