१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

इतिहास बुझ्न टीकापुर

गणेश चौधरी

टीकापुर — टीकापुर बजारबाट करिब ४ किमि दक्षिण–पूर्वमा आफ्नै गतिमा निरन्तर कर्णाली नदी सुसाउँदै बगेको छ । यसकै किनारमा पुरै सज्जिएर सुन्दर प्राकृतिक पार्क उभिएको छ । तत्कालीन राजा महेन्द्र शाहले स्वास्थ्यलाभ गरेको स्थान यही पार्क हो ।

०२४ तिर सिकार खेल्न आउँदा बिरामी परेपछि चिकित्सकहरूले स्वस्थ वातावरण भएको ठाउँमा आराम गर्न भनेपछि कर्णाली नदी किनारको यो ठाउँ छानिएको हो ।


करिब १ महिना राजा महेन्द्रको मुकाम यहीं भयो । तत्कालीन गृहमन्त्री खडगबहादुर सिंहको पहलमा यो ठाउँमा बसोबास र विकासका लागि विकास समिति ऐन २०१३ अनुसार टीकापुर विकास समिति बनाइयो । सरकारले ०२७ मा घनाजंगल रहेको उक्त स्थानमा ३ हजार ३ सय बिघा गुरुयोजनाअनुरूप बिक्री गर्ने अनुमति दियो । दसैंको टीकाको दिनदेखि त्यस ठाउँको जंगल फँडानी गर्न थालिएकाले उक्त स्थानको नामै टीकापुर रहन गएको बुढापाकाहरू बताउँछन् ।


जंगल फँडानी गरी बजार बनाउने योजनाअनुरूप टीकापुर विस्तारै बजार बन्न थालेसँगै बस्ती बढ्न थाल्यो । बस्ती बढेसँगै व्यापार बढ्यो । अरू जिल्लाका मानिस पनि बसाइ सरी आउन थाले । अहिले टीकापुर धेरै जातजातिको फूलबारी बनेको छ । सहरी विकासका पूर्वाधार मानिने फराकिला बाटाहरू टीकापुर नगरको विशेषता हो । नेपालकै सबैभन्दा ठुलो बाटिका यसको अर्को विशेषता हो । व्यवस्थित बसोबास टीकापुरको परिचय हो । टीकापुरका पूर्व–उपमेयर लालबहादुर चौधरी भन्छन्, ‘सुरुमा यसको नाम टीकापुर थिएन । सबैले यसलाई टाउन भन्थे । पछि यसलाई टीकापुर बनाइयो ।’


राजा महेन्द्रले स्वास्थ्यलाभ गरेको कर्णाली नदीको किनारमा सुन्दर बगैंचा बनाइयो । त्यसलाई टीकापुर बृहत् उद्यान नाम दिइयो । महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम गृह, ऐश्वर्य वाटिका सबैलाई जोडेर टीकापुर बृहत् पार्क बनाइएको छ । कर्णाली नदी किनारैकिनार विशाल नर्सरी लगाइएको छ, यसको पूर्वपट्टी कर्णाली नदी र घनाजंगल, उत्तरमा पहाडी चुचुराहरूको दृष्य मनमोहक छ ।


टीकापुर पार्कमा प्राकृतिक सुन्दरता मात्र होइन, राजाले यहींबाट १ महिना शासन सम्हालेकाले राजतन्त्रको इतिहास जोडिएको छ । स्थानीय छत्र मल्ल भन्छन्, ‘तत्कालीन राजा महेन्द्र र वीरेन्द्रको बडेमानको दरबार छ । काठैकाठको सुन्दर दरबार खरले छाएको छ । काठमाडौंको राजदरबार जस्तै यो पनि दरबार हो ।


यसको अवलोकन र अध्ययनले राजाकालीन इतिहास बुझ्न सकिन्छ । टीकापुर पार्कमा रहेका थरिथरिका बोटबिरुवा र फूल बगैंचाको सौन्दर्यले थकित मन र शरीरलाई आनन्दित तुल्याउने पर्यटन व्यवसायी कालु हमाल बताउँछन् । उनले भने, ‘टीकापुर पार्कमा फुलेका फूल र प्राकृतिले पर्यटकको थकान दूर हुन्छ ।’

प्रकाशित : श्रावण २८, २०७६ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?