पक्की तटबन्ध बने पनि जोखिम उस्तै

कान्तिपुर संवाददाता

दार्चुला — दार्चुलातर्फ महाकाली किनारमा पक्की तटबन्ध बने पनि भारतीय क्षेत्रको खोतिला पहिरोका कारण सदरमुकाम क्षेत्र अझै असुरक्षित छ । नेपालतर्फ पक्की तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगे पनि भारतीय पक्षले पहिरो व्यवस्थापन गर्न सक्रियता नदेखाउँदा जोखिम कायमै छ ।

पहिरो हटाउन भारतीय पक्षको आनाकानीले खलंगाका बासिन्दा महाकालीमा बाढीको जोखिम कायम रहेको बताउँदै आएका छन् । भारतीय पक्षले ०७३ असोजमा आएको सुक्खा पहिरो नपन्छाउँदा हरेक बर्खामा महाकाली तटीय क्षेत्रका स्थानीयलाई बाढीले त्रास कायमै छ । पहिरो हटाउनु नै दुबै क्षेत्रका लागि सुरक्षित मानिन्छ ।

तत्काल पहिरो हटाउन नसकिने भएपछि एकैपटक पहिरो खस्यो भने महाकाली थुनिने जोखिम छ । उक्त जोखिम पहिल्यैदेखि औल्याइँदै आएको भए पनि भारतीय पक्षले भने हालसम्म काम सुरु नगरेकाले नेपालतर्फ पनि जोखिम बढेको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख मित्र बरालले बताए । महाकाली नदी नियन्त्रण आयोजनाकाअनुसार समान्य वर्षामा पहिरो खस्ने सम्भावना कमै छ । प्राविधिक दृष्टिकोणले हेर्दा पहिरो समान्य अवस्था नखस्ने देखिए पनि पहिरोका बीच भागमा रहेको ठूलो ढुंगा खस्यो भने फुट्ने र बिस्तारै खसे नदी किनारमै रहने सम्भावना रहन्छ ।

‘पहिरोको बीच भागमा ठूलो ढुंगा रोकिएको छ । ढुंगा जुनसुकै बेला तल खस्न सक्छ,’ आयोजना प्रमुख बरालले भने, ‘उक्त ढुंगा एकैसाथ खसे महाकाली थुनिने र महाकाली जस्तो नदी थुनिएर पुरै सदरमुकाम क्षेत्र र महाकाली तटीय क्षेत्रमा बाढी जान सक्छ ।’ उक्त पहिरो सुक्खायाममा आएको र पहिरो आएको वर्षदेखि नै भारतीय पक्षले पहिरो हटाउन मौखिक सहमति गर्दै आएको हो ।

खोतिला पहिरो हटाउन स्थानीयस्तरमा हुने भारतीय र नेपाल पक्षबीचको द्विपक्षीय भेटघाट, सीमा बैठक, प्रदेश, संघीय विभागका सचिव र मन्त्रीस्तर बैठकमा यो विषयलाई उठाए पनि अझै कार्यान्वयनमा ल्याएको छैन । भारतीय पक्षको भूगर्भविद्को टोलीले स्थलगत अवलोकन गरेर पहिरोलाई समयमै व्यवस्थापन गरिएन भने ०७० सालको बाढीको जस्तैनोक्सानी व्यवहार्नुपर्ने अवस्था आउने औंल्याएका थिए ।

जोखिम रहेको क्षेत्रमा पक्की तटबन्ध बनिसकेको र बाँकी भूभागमा तटबन्ध निर्माणाधीन अवस्थामा रहेको महाकाली नदी नियन्त्रण आयोजनाले जनाएको छ । खोतिला पहिरोसँगै भारतमै निर्मित २ सय ८० मेगावाट क्षमताको धौलीगंगा जलविद्युत् परियोजनाको ड्यामले बाढीको जोखिम झन बढाएको नेपाली पक्षले अनुमान गरेको छ ।

ड्यामको माथिल्लो क्षेत्रमा वर्षा हुने बित्तिकै भारतीय पक्षले उक्त ड्यामका ढोका खोल्न गरेको छ । तर, ड्यामको ढोका खोल्नु अगाडी सीमा क्षेत्रमा जानकारी गराउनुपर्ने भएपनि भारतले नेपाललाई जानकारी नगराई बाधको ढोका खाल्ने हुदा यहाँको तटीय क्षेत्रमा बाढी जोखिम कायमै रहेको स्थानीयको भनाइ छ ।

सदरमुकाम बाहेकको जिल्लाका धौलाकोटदेखि लालीसम्मको विभिन्नमा महाकाली कटान गरेको अवस्था छ । उक्त क्षेत्रहरूमा नदीमा पानीको सतह बढ्ने बित्तिकै यहाका स्थानीयमा बाढीको त्रास कायमै रहेको छ । राज्यले जिल्ला सदरमुकाम खलंगा क्षेत्रलाई मात्र हेरेर पक्की तटबन्ध निर्माण गरेको छ ।

नदी तटीय क्षेत्रको अधिकांश भागमा जमिन कटान र धसिएको हुनाले बाढीको जोखिम कम नभएको लेकम गाउपालिका ३ का तारासिह भण्डारीले बताए । महाकाली नदी नियन्त्रण आयोजनाका अनुसारका सदरमुकाम क्षेत्र बाहिर पनि चालु आर्थिक वर्षमा पक्की र अस्थायी तारजालीको तटबन्ध बनाउने योजना छ ।

प्रकाशित : श्रावण २८, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्

घाँटी रेटेर व्यापारीको हत्या

कान्तिपुर संवाददाता

काठमाडौँ — तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजार निवासी ५३ वर्षीय श्यामबहादुर शाहीको सोमबार घाँटी रेटेर हत्या भएको छ । हत्यामा संलग्नकाे पहिचान खुलेकाे छैन ।

प्रतिकात्मक तस्बिर ।

शाहीको शव बन्दीपुर गाउँपालिका–४ स्थित ढुल्ढुङ्गाको झाडीमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए।

डुम्रेबजारमा किराना पसल सञ्चालन गर्दै आएका शाही आइतबार रातिदेखि बेपत्ता थिए। शाही खोजीका लागि परिवारले प्रहरीमा अनुरोध गरेको थियो। प्रहरी उपरीक्षक सिलवालका अनुसार मृतक शाहीको घाँटीमा धारिलो हतियारको चोट छ।

सोमबार माछा मार्न जाने क्रममा स्थानीयवासीले शाहीको शव देखेपछि प्रहरीमा खबर गरेका थिए। शव परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका लागि प्रहरीले सोमबार राति नै पोखराबाट तालीमप्राप्त कुकुर मगाएको छ। आर्थिक प्रलोभनका कारण शाहीको हत्या भएको हुनसक्ने अनुमान गरिएको छ।

'घटनाको अनुसन्धानका लागि कुकुरको सहयोगमा काम सुरु गरिसकेका छौँ,' प्रहरी उपरीक्षक सिलवालले भने, 'शङ्का लागेका केही व्यक्तिमाथि पनि निगरानी बढाएका छाैं।' हत्यामा संलग्न जोसुकै भए पनि चाँडै कानूनको दायरामा आउने प्रहरी उपरीक्षक सिलवालले बताए।

शाही सुनको सौखिन भएको र शरीरमा थुप्रै सुन लगाएर हिँड्ने भएका कारण प्रलोभनले गर्दा शाहीको हत्या भएको हुनसक्ने स्थानीयवासी बताउँछन्। 'चार/पाँच तोला सुन र ४०/५० हजार उहाँसँग सधैँ हुन्थ्यो,' एक स्थानीयवासीले भने, 'त्यही प्रलोभनका कारण उहाँको हत्या भएको हुनसक्छ।'

प्रकाशित : श्रावण २८, २०७६ ०९:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्