वैदैशिक रोजगारीले खेत बाँझै

‘घरमा महिला र वृद्धवृद्धा मात्र भए, भएको जमिन कमाउन नसकेपछि बाँझै हुन थाल्यो’
मोहन बुढाऐर

धनगढी — गाउँका सबै वैदेशिक रोजगारीमा हिँडेपछि धनगढी उप–महानगरपालिका १८ वडाको ‘जे’ गाउँको रानाभाट बस्तीका खेत बाँझै छन् । गाउँका अधिकांश पुरुष वैदेशिक रोजगारमा छन् । घरमा खेतीपाती गर्ने कोही नभएर तिनका खेत बाँझै पर्न थालेका हुन् ।

‘घरमा महिला र वृद्धवृद्धा मात्र भए’ ८६ वर्षीय वसन्त रानाभाटले भने, ‘कमाउन नसकेको जमिन बाँझै पर्न थालेको हो ।’

गाउँबाट केहि परिवार पलायन पनि भइसकेका छन् । उनकाअनुसार यो गाउँ ७४ परिवार रानाभाट परिवार मध्ये अहिले १५/२० मात्रै रहेका छन् । ‘कोहि सुगम सहरको खोजीमा छोड्न थालेका छन्, कोही आफ्नै थातथलो पोखरा राम्रो मानेर गएका छन्,’ उनले भने । रानाभाटको परिवारबाट पनि ४ जना वैदेशिक रोजगारमा छन् ।

उनका जेठो र कान्छो छोराबुहारीको परिवारले पनि पोखरामा घरजग्गा जोडेर उतै घरजम गरेका छन् । उनी भन्छन्, ‘यहाँ कुनै दुःख पीडा भएर छोड्न थालेका छैनन्, यहाँभन्दा बढी सुविधा र काम पाइने सम्भावना पोखरामा छ, त्यै भएर छोराहरूले पोखरा बसाइँ सरौ भने । विदेशबाट फर्केपछि उतै घरजग्गा किनेका हुन् ।’

०३२ सालमा पहिरोपीडित ७४ परिवार रानाभाट परिवारलाई सरकारले पुनःस्थापना गरेको थियो । धनगढीका १४, १५ र १८ नम्बर वडामा पर्ने फूलबारीको ‘ए’ देखि ‘के’ सम्मका गाउँ सरकारले बाढीपहिरो पीडितलाई ०३२ मा यहाँ ल्याएर पुनर्बास गराएको हो । फूलवारी कैलालीको साबिकको एक सिंगो गाविस हो । ‘जे’ गाउँको रानाभाट बस्ती वैदेशिक रोजगारले रित्तिन लागेको होइन ।

धनगढी उप–महानगरपालिको १४, १५ र १८ नम्बर वडामा पर्ने फूलवारीबाट बैदेशिक रोजगारमा जानेको सख्या बढी छ । फूलबारीको अर्को ‘डी’ गाउँ पनि वैदेशिक रोजगारमा निर्भर छ । खेतीपातीबाट घर खर्च धान्न नसकिने भएपछि यहाँको युवा जनशक्ति वैदेशिक रोजगारमा आकर्षित भएका देखिन्छन् ।

स्थानीय रमेश बस्नेत १८ वर्ष पूरा भएपछि वैदेशिक रोजगारको पछि दौड्ने जनशक्तिले यहाँको खेतीयोग्य जमिन बाँझो पर्न थालेको बताउछन् । ‘सुरुमा विदेशको कमाइबाट राम्रो कमाइगरि फर्केको देख्दा गाउँका अन्य बेरोजगार यवा/युवतीसमेत वैदेशिक रोजगारमा आर्कषित भए,’ उनले भने । ‘केटाकेटीको पढाइतिर पनि ध्यान गएको देखिँदैन । पढौलेखौं र सरकारी जागिर खोजौं भन्नेतिर कसैको सोच नै जादैन’ बस्नेतले भने ।

सुरक्षित अप्रावासन क्षेत्रमा स्वयंसेविको काम गर्दै आएका पुर्णबहादुर तिवारीले फूलवारीमा वैदेशिक रोजगारमा बुझेर नजाने ले दुःखसमेत पाएको बताए । उनी भन्छन्, ‘वैदेशिक रोजगारको लोभमा दलालको फन्दामा परेर कैयौं युवा ठगिएको, युवती बेचिएका घटना छन् ।’ उनका अनुसार फूलवारी गाउँका ३ जनाको विदेशमा मृत्यु भएको छ । कोहि जेलमा परेका छन् । कसैले काम नपाएर अलपत्र परेका छन् ।

प्रकाशित : श्रावण २७, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्

जर्गको पौरख, व्यावसायिक खेती

तृप्ति शाही

बैतडी — सदरमुकामदेखि डेढ घण्टाको पैदल दूरीमा पर्छ, दशरथचन्द नगरपालिका ४ को जर्गगाउँ । २ सय बढी परिवारको बसोबास रहेको जर्गका अधिकांश परिवारको मुख्य व्यवसाय तरकारी खेती हो । 

केही वर्षअघिसम्म गुजाराका लागि खेती गर्ने उनीहरू हाल व्यावसायिक बन्दै गएका छन् । छोराछोरीको शिक्षा र घरखर्च जुटाउने माध्यम त्यही तरकारी बिक्रीबाट आएको आम्दानीले हो । पढाउनेदेखि लिएर सबै खर्च त्यही बाट धानीरहेका छन् । उनीहरूको कमाउने मुख्यथलो तरकारी खेतिनै बनेको छ ।

वार्षिक ४ देखि ८ लाख सम्मको कमाई उनीहरूको हुने गरेको छ । ‘अहिले बारीमा टमाटर, बन्दा, काउली, खुर्सानी, भण्टा, भिन्डी फलेका छन्,’ स्थानीय गणेशदत्त पाण्डेले भने, ‘तरकारी खेतीबाट वार्षिक ४ लाखजति कमाइ हुन्छ ।’ जर्गकै देवकी पाण्डेयको परिवार पनि तरकारी खेती गर्छ । उनीहरू पनि वर्षको ४ लाख बढी कमाउँछन् । ४ जनाको परिवार सबै तरकारी बेचेरै चलाइरहेको उनले बताईन् । उनले भनिन्, ‘राम्रो कमाइ हुन्छ । गरिखाने बाटो यो बाहेक अरु केही छैन ।’

गणेशदत्त र देवकीको परिवार मात्र होइन । त्यहाँका अधिकांश परिवार तरकारी खेतीमै व्यस्त हुन्छन् । अन्य खेतीभन्दा उनीहरू तरकारी खेतीमा आकर्षित भएका छन् । कमाइ राम्रो हुने भएकोले तरकारी खेतीमा लागेको उनीहरू बताउँछन् । मकै ,धान , गहुँ १/२ गडा मात्र लगाउने र सबै जमिनमा तरकारी खेती गर्ने गरेको स्थानीय रामीराम लुहारले बताए ।

उनले भने, ‘मेरो १० रोपनी जमिनमा पुरै तरकारी लगाएको छु । राम्रो कमाइ हुन्छ ।’ कसैको सहयोगबिनै जर्गका बासिन्दाले तरकारी खेती गरिरहेका हुन् । कुनै सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग नपाएको उनीहरूको भनाइ छ । अरुले सिकाएर नभइ आफ्नै मिहिनेतबाट तरकारी खेती गर्दै आएको किसानहरू बताउँछन् । पानी लाग्ने सबै जमीनमा तरकारी लगाउने गरेको रामीरामले बताए ।

मंगरोउ खोलाबाट सिँचाइ गर्दै आएका यहाँका किसानहरू पछिल्ला दिनमा भने चिन्तित छन् । दिन प्रतिदिन पानीको अभाव हुन थालेको उनीहरूले बताए । सदरमुकाम गढीमा पनि त्यही मंगरोउ खोलाको पानी ल्याइएपछि गाउँमा स्रोत घटेको स्थानीय अगुवा जयदेव पाण्डेयले बताए । उनले भने, ‘गढीमा अभाव भएको बेला पानी दिएका हौ । तर अझै थप पानी लिएपछि जर्गमा अभाव हुन थालेको छ । गाउँमा सिँचाइ सुविधामा समस्या नहुने हो भने तरकारी खेतीबाट आम्दानी बढ्ने किसानहरू बताउँछन् ।

गाउँसम्मै सडक पुगे पनि बर्खामा भने सवारीसाधनहरू गुडदैनन् । त्यसैले बारीमा उत्पादित तरकारी डेढ घण्टा हिँडेर किसानहरूले सरमुकाममा बिक्री गर्न लैजान्छन् । ‘सदरमुकाममा उपलब्ध तरकारी धेरैजसो जर्ग गाउँकै हो,’ स्थानीय कविता भण्डारीले भनिन्, ‘अर्ग्यानिक र नजिकको भनेर जर्ग गाउँकै तरकारी रोज्छन् । नपाएपछि मात्र बाहिरबाट आएको तरकारी किन्छौं ।’

प्रकाशित : श्रावण २७, २०७६ ०९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्