१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

जर्गको पौरख, व्यावसायिक खेती

तृप्ति शाही

बैतडी — सदरमुकामदेखि डेढ घण्टाको पैदल दूरीमा पर्छ, दशरथचन्द नगरपालिका ४ को जर्गगाउँ । २ सय बढी परिवारको बसोबास रहेको जर्गका अधिकांश परिवारको मुख्य व्यवसाय तरकारी खेती हो । 

जर्गको पौरख, व्यावसायिक खेती

केही वर्षअघिसम्म गुजाराका लागि खेती गर्ने उनीहरू हाल व्यावसायिक बन्दै गएका छन् । छोराछोरीको शिक्षा र घरखर्च जुटाउने माध्यम त्यही तरकारी बिक्रीबाट आएको आम्दानीले हो । पढाउनेदेखि लिएर सबै खर्च त्यही बाट धानीरहेका छन् । उनीहरूको कमाउने मुख्यथलो तरकारी खेतिनै बनेको छ ।


वार्षिक ४ देखि ८ लाख सम्मको कमाई उनीहरूको हुने गरेको छ । ‘अहिले बारीमा टमाटर, बन्दा, काउली, खुर्सानी, भण्टा, भिन्डी फलेका छन्,’ स्थानीय गणेशदत्त पाण्डेले भने, ‘तरकारी खेतीबाट वार्षिक ४ लाखजति कमाइ हुन्छ ।’ जर्गकै देवकी पाण्डेयको परिवार पनि तरकारी खेती गर्छ । उनीहरू पनि वर्षको ४ लाख बढी कमाउँछन् । ४ जनाको परिवार सबै तरकारी बेचेरै चलाइरहेको उनले बताईन् । उनले भनिन्, ‘राम्रो कमाइ हुन्छ । गरिखाने बाटो यो बाहेक अरु केही छैन ।’


गणेशदत्त र देवकीको परिवार मात्र होइन । त्यहाँका अधिकांश परिवार तरकारी खेतीमै व्यस्त हुन्छन् । अन्य खेतीभन्दा उनीहरू तरकारी खेतीमा आकर्षित भएका छन् । कमाइ राम्रो हुने भएकोले तरकारी खेतीमा लागेको उनीहरू बताउँछन् । मकै ,धान , गहुँ १/२ गडा मात्र लगाउने र सबै जमिनमा तरकारी खेती गर्ने गरेको स्थानीय रामीराम लुहारले बताए ।


उनले भने, ‘मेरो १० रोपनी जमिनमा पुरै तरकारी लगाएको छु । राम्रो कमाइ हुन्छ ।’ कसैको सहयोगबिनै जर्गका बासिन्दाले तरकारी खेती गरिरहेका हुन् । कुनै सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग नपाएको उनीहरूको भनाइ छ । अरुले सिकाएर नभइ आफ्नै मिहिनेतबाट तरकारी खेती गर्दै आएको किसानहरू बताउँछन् । पानी लाग्ने सबै जमीनमा तरकारी लगाउने गरेको रामीरामले बताए ।


मंगरोउ खोलाबाट सिँचाइ गर्दै आएका यहाँका किसानहरू पछिल्ला दिनमा भने चिन्तित छन् । दिन प्रतिदिन पानीको अभाव हुन थालेको उनीहरूले बताए । सदरमुकाम गढीमा पनि त्यही मंगरोउ खोलाको पानी ल्याइएपछि गाउँमा स्रोत घटेको स्थानीय अगुवा जयदेव पाण्डेयले बताए । उनले भने, ‘गढीमा अभाव भएको बेला पानी दिएका हौ । तर अझै थप पानी लिएपछि जर्गमा अभाव हुन थालेको छ । गाउँमा सिँचाइ सुविधामा समस्या नहुने हो भने तरकारी खेतीबाट आम्दानी बढ्ने किसानहरू बताउँछन् ।


गाउँसम्मै सडक पुगे पनि बर्खामा भने सवारीसाधनहरू गुडदैनन् । त्यसैले बारीमा उत्पादित तरकारी डेढ घण्टा हिँडेर किसानहरूले सरमुकाममा बिक्री गर्न लैजान्छन् । ‘सदरमुकाममा उपलब्ध तरकारी धेरैजसो जर्ग गाउँकै हो,’ स्थानीय कविता भण्डारीले भनिन्, ‘अर्ग्यानिक र नजिकको भनेर जर्ग गाउँकै तरकारी रोज्छन् । नपाएपछि मात्र बाहिरबाट आएको तरकारी किन्छौं ।’

प्रकाशित : श्रावण २७, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?