जिम्मेवारीले सिकायो

राजनीतिक परिवर्तनले जिम्मेवारीमा पुगेका महिला जनप्रतिनिधि कामले नै काम सिकाएकाले सामाजिक र आर्थिक परिवर्तनमा आशावादी
डीआर पन्त

डडेलधुरा — दैमती भनिने देवकी सार्कीको मुद्दा मिलाउन अजयमेरु गाउँपालिका उपाध्यक्ष कलावती भाणलाई मुस्किल भयो । उनी सामान्य शंकाको भरमा घरबाट निकालिएकी थिइन् । परिवारलाई सहमतिमा ल्याएपछि देवकीलाई १३ वर्षपछि भाणले घरमा पुनःस्थापित गराइदिइन् ।

‘महिलालाई हेर्ने सामाजिक दृष्टिकोणमा रत्तिभर पनि फरक आएको छैन,’ उपाध्यक्ष भाणले भनिन्, ‘जनचेतना बढेको छ, महिला जागरुक भएका छन्, समाज परिवर्तन हुन चाहन्छ तर पुरुषप्रधान मानसिकताले गर्दा गर्न चाहे पनि धेरै गर्न सकिएको छैन ।’


आफू दलितभित्र पनि तल्लो जात मानिने भाण समुदायकी भएकाले विभेदका मुद्दा बुझ्न र हेपिएकाका पक्षमा बोल्न अग्रसर हुने गरेको उनले बताइन् । जनप्रतिनिधिको जिम्मेवारीमा आएपछि उनले समाजमा हेपिएका वर्गका लागि धेरै काम गर्ने प्रयास गरिन् । दलित समुदायका घरेलु हिंसाका मुद्दा मिलाएर सामाजिक मेलमिलाप कायम गर्न खोज्ने कतिपय प्रयास सार्थक हुन सकेनन् । ‘दलित समुदायसंँगै समाजका हरेक वर्गलाई परिवर्तन गर्ने प्रयास जारी छ,’ उनले भनिन्, ‘आशावादी छु ।’


भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टले आफू निर्वाचित भए लगत्तै सामाजिक सांस्कृतिक र धार्मिक आवरणमा हुने हिंसा तथा कुरीति अन्त्य गर्ने अभियान सुरु गरिन् । सुरुसुरुमा उनको अभियानले केही सकारात्मक परिणामसमेत आए तर बिस्तारै उनले सुरु गरेका राम्रा अभियानप्रति आलोचना सुरु भयो ।


निर्वाचित भएलगत्तै उनले ‘मर्यादित छुई वर्ष’ अभियानका नाममा छाउपडी कुप्रथा, रजस्वला भएका समय छात्रा विद्यालय नजाने प्रवृत्ति र विकासनिर्माणका काममा महिलालार्ई सहभागी नगराउनेजस्ता चलन अन्त्य गर्न आफूलाई केन्द्रित गरिन् । समाजले धेरै हदसम्म उनका प्रयास पचाउन सकेन । ‘राजनीतिक परिवर्तनले मात्र समाज परिवर्तन गर्न निकै कठिन हुँदोरहेछ,’ उनी भन्छिन्, ‘निर्वाचित भएको दुई वर्ष समाजको मानसिकता बुझ्ने र संघर्ष गर्ने बाहेक धेरै गर्न सकेजस्तो लाग्दैन ।’ महिलाप्रति अनुदार समाजलाई परिवर्तन गर्न निरन्तर लागिपरे मात्रै सफल भइने उनले बताइन् ।


भाण र भट्टको जस्तो अनुभव अधिकांश महिला जनप्रतिनिधिको छ । झैझगडा र विवाद निरुपण स्थानीय तहको उपप्रमुख संयोजकत्वका न्यायिक समितिलाई छ । धेरैमा महिलै छन् । राजनीतिक रूपमा महिलाको उत्साहजनक सहभागितासहित स्थानीय तहको निर्वाचन भएको दुई वर्ष बित्यो । महिला जनप्रतिनिधिहरूका कारण समाजका धेरै क्षेत्रमा महिला सहभागितामा वृद्धि भएको छ । सामाजिक परिवर्तन अनुभव हुनेगरी प्रयास जारी रहेको जनप्रतिनिधिको भनाइ छ ।


‘जनप्रतिनिधि भएर काम गर्दाको अनुभव धेरै राम्रो छैन,’ परशुराम नगरपालिका उपप्रमुख कलावती बोहरा भन्छिन्, ‘अझ न्यायिक समितिको संयोजक र विकास निर्माणका कामको अनुगमन समितिको संयोजक भएर काम गर्दाको अनुभवले हामीले चाहेको समृद्धि तथा विकास हुन अझै धेरै समय कुर्नुपर्ने देख्छु ।’


कानुनले दिएको अधिकार जनतासम्म पुर्‍याउन पनि पुरानो परिपाटीका कारण गाह्रो भएको उनले बताइन् । ‘राज्य सञ्चालनमा वर्षौंदेखि चल्दै आएको हालीमुहाली र समाजको सोच फेरिन समय लाग्ने रहेछ,’ उनले भनिन्, ‘तैपनि हामीलाई जिम्मेवारीले अझ धेरै सिकाएको छ । आशावादी भएर काम गरेका छौं ।’ महिला सहभागिता राज्यले अनिवार्य गर्दा सामाजिक परिवर्तनमा बल पुग्ने भए पनि महिलाको सकारात्मक सोच र अगुवाइ निरन्तर जरुरी रहेको उनले बताइन् ।


घरेलु हिंसा सहन नसकेर कुनै बेला आत्महत्या प्रयास गरेकी अजयमेरु ५ देवलकी लक्ष्मीदेवी खडकाले हिजोआज गाउँमै सानो व्यवसाय गरेर गुजारा गर्छिन् । घरबाट निकालिएको १७ वर्षपछि गाउँपालिका उपाध्यक्ष भाणको प्रयासले उनले आफ्नो अंश पाइन् । त्यसयता उनको जीवनमा परिवर्तन छ । ‘विगतमा मैले न्याय खोज्न प्रयास गर्दा जति दुःख पाएँ, त्यो भन्ने हो भने सबैले पत्याउदैनन्,’ खडका भन्छिन्, ‘न्याय दिने ठाउँमा महिला हुंँदा जति मुस्किल भए पनि न्याय मिल्ने रहेछ ।’ महिला जनप्रतिनिधिलाई आफ्ना समस्या सुनाउन सकिजलो हुने उनले बताइन् । समाजमा न्यायको परिभाषामा बिस्तारै परिवर्तन आउन थालेको उनको बुझाइ छ ।


‘यस्तखाले प्रयासलाई हामीले दुई वर्षको उपलब्धि मान्नुपर्ने भएको छ,’ भागेश्वर गाउँपालिका उपाध्यक्ष भट्ट भन्छिन्, ‘मर्कामा परेका महिला गाउँपालिका आउने, आफ्ना समस्या राख्ने क्रम जारी छ ।’ विकास निर्माणका योजनामा नेतृत्व गर्नका लागि पहल गर्ने महिला पनि अघि आउन थालेपछि बिस्तारै परिवर्तन आइरहेको उनले बताइन् । ‘हामी जानेर आएका थिएनौं, कामले काम सिकायो,’ उनी भन्छिन्, ‘जनताको ठूलो अपेक्षाबीच सामाजिक कुरीति तोड्ने चुनौती सामाना गरिरहेका छौं ।’


सामाजिक परिवर्तन र विकासनिर्माणका योजनामा सामान सहभागिताको बहसलाई सँगसँगै अघि बढाउनु सजिलो नभएको उनले बताइन् । जनप्रतिनिधि भएर काम गर्दा दुइ वर्षमा धेरै तीता अनुभव भए पनि प्रयास जारी रहेको परशुराम नगरपालिका उपप्रमुख बोहराले बताइन् । ‘मुहान फोहोर छ, धारामा सफा पानी एकैपटक आउन सक्दैन,’ उनले भनिन्, ‘मुहान सफा गरेर धारामा सफा पानी ल्याउने प्रयास जारी छ ।’ प्रकाशित : श्रावण २६, २०७६ ०९:११

प्रतिक्रिया
पठाउनुहोस्

बाँझो जग्गामा नमुना खेती

डीआर पन्त

डडेलधुरा — एक शताब्दी अघिदेखि उब्जनी नहुने भनेर छाडेको टाँटरको बन्जड जमिन भाडामा लिएर कृषिमा स्नातकोत्तर उत्तीर्ण २ जनाले नमुना कृषि फार्म सुरु गरेर उदाहरणीय काम गरेका छन् ।


कृषि विषयमा स्नातकोत्तर पाल्पाका महेश क्षेत्री र कञ्चनपुरकी तारा जोशीले डडेलधुरा सदरमुकाम नजिक बाँझो रहेको जमिनमा तरकारी खेती सुरु गरेका हुन् । खानेपानीको समेत समस्या हुने ठाउँमा कसरी तरकारी खेती गर्न सकिन्छ भन्ने उदाहरण पनि उनीहरूले प्रस्तुत गरेका छन् । स्थानीयले उब्जनी नहुने भन्दै गौचरनमा प्रयोग गर्दै आएको बाँझो जमिनमा अहिले लटरम्म तरकारी फलेको छ ।

‘व्यावसायिक मुनाफा र अरूलाई प्रोत्साहन गर्ने दुवै उद्देश्यले हामीले यो कृषि फार्म सुरु गरेका हौं,’ महेश क्षेत्रीले भने, ‘दैनिक ३ घण्टा समय दिने हो भने तरकारी उत्पादनबाट महिनामा लाखौं कमाउन सकिन्छ भन्ने रोजगारीका लागि विदेशिने युवालाई प्रोत्साहन गर्ने हाम्रो उद्देश्य पनि हो ।’ नेपालबाटै कृषि विषयमा स्नातकोत्तर उत्तीर्ण गरेर आफूहरू दुवैले जागिर खोज्नुभन्दा उत्पादन क्षेत्रमा लाग्ने उद्देश्यले जग्गा खोज्दै डडेलधुरा आइपुगेको क्षेत्रीले बताए । क्षेत्रीले भने, ‘तरकारी उत्पादनका लागि डडेलधुरा सबैभन्दा राम्रो हावापानी र मौसम भएको क्षेत्र भएकाले हाम्रो रोजाइमा परेको हो ।’

डडेलधुरा मात्र नभई देशका अन्य भागमा पनि यसरी नै बाँझो जग्गा प्रयोग गरी उत्पादनशील क्षेत्रमा युवाको आकर्षण बढाउन विभिन्न खाले खेती गर्ने योजना पनि उनीहरूले बनाएका छन् । पहिलो चरणमा उनीहरूले बजारमा महँगो मूल्य पर्ने अकबरे खुर्सानी र टमाटर खेती सुरु गरेका छन् । सदरमुकामनजिकै भएका कारण कृषि फार्ममा तरकारी खेतीका विषयमा व्यावहारिक ज्ञान हासिल गर्ने विद्यार्थीको घुइँचो लाग्ने गरेको छ ।

‘दैनिक विभिन्न अवलोकन गर्ने टोली अध्ययन भ्रमणका लागि कृषि फार्ममा आउने गरेका छन्,’ स्थानीय बासिन्दा प्रमोद जोशीले भने, ‘मुनाफासँगै अरू युवाका लागि पनि यो कृषि फार्म ज्ञान हासिल गर्ने थलो भएको छ ।’ सुरु गरेको एक वर्ष नपुग्दै धेरै युवाले प्रेरणा लिएर सामूहिक तरकारी खेती सुरु गरिसकेका छन् । जोशीले भने, ‘गन्यापधुरा, भागेश्वर, नवदुर्गालगायतका गाउँपालिकामा पनि क्षेत्री र जोशीबाट प्रेरणा लिएर धेरै युवाले बाँझो जग्गामा उत्पादन सुरु गरिसकेका छन् ।’ उक्त कृषि फार्म सञ्चालकबाट प्राविधिक सहयोग लिएर युवाले सामूहिक तरकारी खेती गर्ने जिल्लामा अभियान नै सुरु भएको छ ।

दुवै जनाले ५ लाखको लगानीमा सुरु गरेको गौलोचन कृषि फार्म अहिले कृषि अध्ययन गर्ने विद्यार्थीका लागि पनि प्रयोगात्मक अध्ययनको थलो बनेको छ । कैलाली, कञ्चनपुर, डोटी र डडेलधुरामा निजी र सरकारी कृषि विषय अध्ययन गराइने कलेजका विद्यार्थीले यसै फार्ममा प्रयोगात्मक ज्ञान हासिल गरिरहेका छन् । तरकारी बीउ उत्पादन केन्द्र डडेलधुराका प्रमुख नरेन्द्र पनेरु पनि उक्त कृषि फार्मले विद्यार्थीका लागि मात्र नभई स्वरोजगार गर्न चाहने सबैलाई सहज बनाएको बताउँछन् । प्रमुख पनेरुले भने, ‘उत्पादनशील क्षेत्रमा युवालाई लगानी गर्न र काम गर्न निकै प्रोत्साहन मिलेको छ ।’

डडेलधुराको ठूला होटलमध्ये एक क्लासिक होटलका सञ्चालक नवराज भट्टले पनि उनीहरूवाटै प्रेरणा लिएर भागेश्वर गाउँपालिकामा ५० रोपनी बाँझो जग्गा भाडामा लिएर कृषि फार्म सुरु गरेका छन् । ‘पहिलो चरणमा ५० रोपनी जग्गा भाडामा लिएका छौं,’ भट्टले भने, ‘ब्रोयर जातका बाख्रासँगै तरकारी खेती सुरु गर्न थालेका हौं ।’ ४ जनाको समूह बनाएर कम्तीमा १ सय ५० रोपनी जग्गामा आधुनिक तरकारी खेती गर्ने योजनामा काम गरिरहेको उनले बताए ।

उनी मात्र होइन जिल्ला सदरमुकाममा विभिन्न व्यवसाय गरिरहेका अरू युवाले पनि ग्रामीण क्षेत्रमा बाँझो जग्गा खोज्दै तरकारी खेती सुरु गर्न थालेका छन् । नवदुर्गाका अर्जुन साउदले भने, ‘पछिल्लो एक वर्षमा हाम्रो गाउँपालिकामा पनि युवाको ५ वटा समूहले विभिन्न कृषि खेती सुरु गरेका छन् ।’ सम्भावनाअनुसार अदुवा, हलेदो, आलु बीउ, विभिन्न तरकारीका बीउ, चन्दन, चुकजन्य फलफूल खेती सामूहिक रूपमा सुरु भएको उनले बताए ।

प्रकाशित : श्रावण १७, २०७६ ०९:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
×