जिल्ला अस्पतालमा उपचारमै समस्या

मोहन शाही

डोटी — मोटरसाइकलमा रहेका पत्रकार विक्रम खडका अछामबाट आइरहेको बससँग ठोक्किएर दुर्घटनामा परे । घटनामा दिपायल–७ का ऐश्वर्य विष्ट र कल्पना बोहरा पनि घाइते भए । घाइते तीनै जनालाई आफन्तले तत्कालै जिल्ला अस्पतालमा पुर्‍याए ।

जिल्ला अस्पताल डोटीमा उपचारका लागि भर्ना भएका बिरामी र तिनका आफन्त ।तस्बिर : मोहन/कान्तिपुर

प्राथमिक उपचारपछि अस्पतालले उनीहरूलाई एक्स–रेका लागि १५ किमि टाढा दिपायलस्थित शैलेश्वरी अस्पताल रिफर गर्‍यो ।

जिल्ला अस्पतालमा बिरामी उपचारका लागि पुर्‍याएपपिछ मात्रै एक्सरे मेसिन बिग्रेको थाहा पाएका आफन्त आक्रोशित भए । बिरामीलाई अत्यावश्यक हुने एक्सरे मर्मतमा किन ध्यान नदिएको भन्दै मञ्जु बिष्टले दिपायल–सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीलाई सोधिन् । नगरप्रमुख मसाली आफूलाई त्यसबारे जानकारी नै नभएको भन्दै अस्पतालका कर्मचारीमाथि आक्रोशित भइन् । उनले अस्पतालमै पुगेर एक्सरेको अवस्थाबारे डा. गिरीश अवस्थीसँग सोधपुछ गरिन् ।

डा. अवस्थीले भने ‘डाक्टरै नभएको अस्पतालमा एक्सरे मात्रै भएर के गर्ने ?’ डा. अवस्थी केही वर्षयता गैरसरकारी संस्था निक साइमनमार्फत नियुक्त भएर यहाँ काम गरिरहेका छन् । सरकारी दरबन्दीका डाक्टर जिल्ला अस्पतालमा नहुँदा उपचारमा कठिनाइ भइरहेको उनले बताए ।

कुनै बेला सुदूरपश्चिमका अन्य पहाडी जिल्लाको तुलनामा सम्पन्न मानिएको जिल्ला अस्पताल यतिबेला सामान्य बिरामीलाई पनि उपचार दिन नसक्ने अवस्थामा पुगेको छ । दिपायल–७ रातुलीका कर्ण विष्टले केही दिनअघि आफ्नो निधारमा लागेको चोटको टाका काट्न आउदा ब्लेड नै नपाएको दुखेसो सुनाए । ‘ब्लेड खोज्न अस्पतालभरि भौंतारिएँ, फार्मेसीमा पनि पाएन,’ उनले भने, ‘पछि बाहिरको मेडिकलबाट किनेर ल्याइदिएपछि डाक्टरहरूले टाँका काटिदिए । ब्लेड, एक्सरे, सुई, औषधि र डाक्टर नभएको अस्पताललाई कसरी जिल्ला अस्पताल मान्ने ?’ जिल्ला अस्पतालको अवस्था सुधारमा सरकारको ध्यान जानुपर्ने उनले बताए ।
नगरप्रमुख मलासीले अस्पतालको स्तरवृद्धिका लागि आफू गम्भीर रहेको बताइन् । अस्पतालमा गत वर्ष नगरपालिकाले १० लाख बराबरका उपकरण खरिदका लागि सहयोग गरे पनि कर्मचारीले काम नगरेको उनले गुनासो गरिन् ।

जिल्ला अस्पताल डोटीमा दसौं तहका एक मेडिकल सुपरिटेन्डेन्टसहित चारजना चिकित्सकको दरबन्दी छ । लामो समयदेखि दरबन्दी रिक्त छ । आठौं तहका एकजना चिकित्सक मात्रै हाल कार्यरत छन् । ‘एकजना मेसुसहित दसौं र नवौं तहका दुई जनाको दरबन्दी त छ तर पदपूर्ति कहिल्यै भएको छैन,’ डा. भूषण मिश्रले भने, ‘म पनि स्थानीय तहमा समायोजनमा परेर चिठी पर्खेर बसेको छु । आउनेबित्तिकै जानुपर्छ ।’ उनी गएपछि तत्काल अरू नआउने हो भने यहाँ स्वास्थ्यकर्मी नै रहनेछैनन् ।

जिल्ला अस्पतालहरूको व्यवस्थापन प्रदेश सरकारअन्तर्गत छ । समायोजनमा प्रदेशमा जम्मा २ जना चिकित्सक परेका छन् । जिल्ला अस्पतालमा दरबन्दीअनुसारका डाक्टर नआउने भएपछि २०६९ सालदेखि डोटी अस्पतालमा गैरसरकारी संस्थाले नियुक्त गरेका चिकित्सकले सेवा गर्दै आएका छन् ।

निक साइमन्स संस्थाले एमडीजीपी डा. गिरीश अवस्थी र एमबीबीएस डा. खुर्सिद आलम खानलाई जिल्ला अस्पतालमा खटाएको छ । दुवै जनाको सेवासुविधा उक्त संस्थाले बेहोर्ने गरेको छ । तिनै दुईका भरमा जिल्ला अस्पतालमा आकस्मिक र प्रसूति सेवालगायत शल्यक्रिया सेवा उपलब्ध गराइएको छ ।

अस्पतालमा अत्याधुनिक उपकरण नभएका होइनन् । सबै बिग्रेर थन्केका छन् । विद्युत् अनियमित हुनु र भए पनि भोल्टेज अपडाउन भइरहँदा उपकरण बिग्रने गरेको गुनासो स्वास्थ्यकर्मीको छ । सबै विद्युतीय उपकरण बिग्रेको अवस्थामा रहनुले सेवा प्रभावित रहेको कर्मचारी सुरेश बानियाँले बताए । उनी पनि निक साइमन्सले खटाएका कर्मचारी हुन् ।

‘कतिपय सामग्री त हामी आफैं मर्मत गरेर काम चलाइरहेका छौं,’ उनले भने, ‘कतिपय उपकरण सुदूरपश्चिमका जिल्ला अस्पतालका मर्मत गर्ने ठेक्का लिएको मेडिलोस कम्पनीले बनाउने गर्छ । उसले पनि काठमाडौं या दिल्लीबाट मान्छे झिकाउने भएकाले समयमै काम हुन्न ।’ विद्युत् सेवा भरपर्दो भइदिए अस्पतालका सबैजसो उपकरण क्षति हुनबाट जोगिने उनको भनाइ छ ।

प्रकाशित : श्रावण २६, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्

हाटबजारबाट साना किसान निराश

कान्तिपुर संवाददाता

धनगढी — ‘एक सय १० मा किनेको एक किलो टमाटर लगेको भोलिपल्टै खानै नहुने गरी गन्हायो,’ धनगढीको वनदेवी मन्दिर नजिक लाग्ने हाटबजारमा शुक्रबार विनिता बिष्टले भनिन्, ‘छोइनसक्नु भाउ । उसमाथि के खालको तरीकारी आउन थालेको होला ?’

धनगढीको वनदेवीमा रहेको हाटबजार ।तस्बिर : मोहन/कान्तिपुर

हाटमा आउने तरकारीको गुणस्तर खस्केको गुनासो उनले गरिन् । वर्षा लागेयता धेरै ठाउँ जलमग्न हुन्छ । तरकारीको भाउ बढ्नु नौलो नभए पनि कम गुणस्तरका खानेकुरा गृहिणीका लागि चिन्ताको विषय छ ।

राष्ट्रिय उपभोक्ता मञ्च कैलालीका अध्यक्ष हरि रेग्मी विषादीयुक्त तरकारी छिट्टै कुहिने बताउँछन् । ‘हाटबजार भारतीय तरकारी व्यापारीको कब्जामा छ,’ उनले भने, ‘गुणस्तर चेकजाँच गर्ने निकायले चासो नलिँदा उपभोक्ता मर्कामा परेका छन् ।’ सम्बद्ध निकायले चासो लिए मात्रै हाटबजारबाट उपभोक्ताले स्तरीय खाद्यवस्तु पाउने उनले बताए ।

‘हाटबजार किसान र उपभोक्ताको सोझो भेटघाट हुने थलो हो,’ उनले भने, ‘ताजा र अर्गानिक तरकारी खान नपाइने अवस्थाविरुद्ध उपभोक्ताले बोल्ने बानी गर्नुपर्छ ।’ स्थानीय तरकारी उत्पादकले आफ्ना उत्पादनको भाउ नपाएको गुनासो आइरहँदा बजारमा बाहिरबाट कम गुणस्तरको तरकारी ल्याउने प्रवृत्ति बढेको उनले बताए ।

धनगढी–१२ कैलाली गाउँका श्यामलाल राना व्यावसायिक रूपमा लगाएको तरकारी खेती गर्न छाड्ने मनस्थितिमा पुगेका छन् । ‘बजार बिचौलियाको कब्जामा गयो,’ उनले भने, ‘हाम्रो लागत मूल्य उठाउन पनि नसकिने अवस्था आयो ।’ स्थानीय हाटबजारमा किसान आफैंले पनि आफ्ना कृषिउपज बिक्री गर्न सजिलो नभएको उनले बताए ।

‘आफैं बेचौं भने पनि हाटबजारमा किसानले बिक्रीस्थल नै पाउन मुस्किल हुन्छ,’ उनले भने, ‘ठाउँ पाइहाले पनि इन्डियाबाट ल्याएको तरकारी बेच्ने व्यापारीसँग प्रतिस्पर्धा नै गर्न सकिँदैन ।’ तरकारी हाट थोक व्यापारीले नियन्त्रणमा लिएको अवस्था भएको गुनासो उनले गरे । साना किसानले २५ रुपैयाँ शुल्कमा हाटमा पाउने बिक्री स्टल ठूला व्यापारीले ओगट्ने गरेका छन् । ‘किसानले भुइँमा पसल राख्नुपर्ने भयो,’ उनले भने, ‘वर्षातमा त्यसरी पनि तरकारी बेच्न नसकिने ।’

त्यस्तै धनगढी जाइका बालाराम चौधरी ठूला व्यापारीका कारण स्थानीय तरकारी उत्पादक मर्कामा परिरहेको बताउँछन् । ठाउँ अभावसंँगै ठूला व्यापारीसँगको प्रतिस्पर्धाले स्थानीय कृषिउपजले मूल्य पाउन नसकेको उनको भनाइ छ । ‘थोक व्यापारीले आफ्नो सडेगलेको बिग्रिन लागेको तरकारी र फूलफल बेच्न ठाउँ ओगटेर बस्छन्,’ उनले भने, ‘किसानले ठाउँ पाएनन् ।’ त्यसैले उपभोक्ताले स्तरीय खाद्यवस्तु खरिद गर्न नपाएको उनले बताए । उपभोक्ता समितिका अध्यक्ष रेग्मीका अनुसार हाटमा २० प्रतिशत पनि स्थानीय उत्पादन बिक्री हुँदैन ।

‘८० प्रतिशत भारतबाट आयात भएको तरकारी तथा फलफूल बिक्री हुने गरेको छ,’ उनले भने, ‘नेपालीभन्दा भारतीय नागरिकले हाट बजारबाट फाइदा लिइरहेका छन् ।’ व्यापार जसले गरे पनि गुणस्तरीय खाद्यवस्तु बिक्री हुनुपर्नेमा उनले जोड दिए । ‘स्थानीय किसानकै उत्पादनलाई ठाउँ दिने हो भने उपभोक्ताले स्वस्थकर खानेकुरा पाउँछन्,’ उनले भने ।

धनगढी उपमहानगरपालिकाले एलएन चोकको उत्तरतर्फ हाट बजारको व्यवस्थापन गैरसरकारी संस्था सीसीएसलाई दिएको छ । त्यसका अध्यक्ष प्रकाश बिष्ट स्थानीय किसानले ठाउँ नदिइएको भन्ने कुरा गलत भएको दाबी गर्छन् । ‘किसानहरू कोही आफैं बेच्छन्, कोही थोक व्यापारीलाई आफ्नो उत्पादन बेचेर जान्छन्,’ उनले भने, ‘हाटबजार, चोक व्यापारीले कब्जा गरे भन्ने गुनासोको छानबिन गर्छौं ।’

सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी हाटबजार व्यवस्थापन समिति गठन गरिएको उनले बताए । ‘त्यही समितिले हाटबजारको नियमित सञ्चालन गरिहेको छ,’ उनले भने, ‘ठूला व्यापारीले कब्जा गरिएको पाइए स्थानीय किसानका लागि ठाउँ खाली गरिनेछ ।’

प्रकाशित : श्रावण २६, २०७६ ०९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्