चरी बाघको छालासहित सशस्त्रका जवान समातिए

मनोज बडू

दार्चुला — शुक्रबार दुहुबाट सदरमुकाम आउँदै गरेका सशस्त्र प्रहरीका जवानलाई चरी बाघको छालासहित प्रहरीले समातेको छ । 

दुहुँ गाउँपालिका २ हिकिलाबाट सदरमुकाम खलंगा आउने क्रममा बहृमदेव प्रहरी चौकीको नियमित चेकिङका क्रममा सशस्त्र प्रहरीको ५० नम्बर गुल्म दार्चुलामा जवान पदमा कार्यरत दुहुँ गाउँपालिका–२ हिकिलाका दिपकसिह बडालबाट चरी बाघको छाला फेला परेको हो ।

छालासहित पक्राउ परेका बडाललाई प्रहरीले नियन्त्रणमा लिएर शनिबार सार्वजनिक गरेको हो ।जिल्ला प्रहरी कार्यालयका अनुसार झोलामा लुकाएर सदरमुकाम ल्याउने क्रममा दुहुँ गाउँपालिका–३ स्थित दार्चुला–तिंकर सडक खण्डको तिमुरपाटा क्षेत्रमा चेकिङ गर्दा समातिएको छालाको लम्बाई ३९ इन्च र चौडाई १० इन्च रहेको छ ।

बडालले एकजनाले आफूसित झोला नभएको भन्दै र मेरो झोलामा राखेर लैजाइ दिन अनुरोध गरेपछि बोकेर ल्याएको बयान दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक रविन्द्र कठायतले बताए ।

बडाललाई थप कारवाहीका लागि अपीनाम्पा संरक्षण क्षेत्र दार्चुलालाई बुझाइने छ । छालासहित समातिनेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार एक लाख जरिवाना, १५ वर्ष कैद तथा दुवै सजाय हुन सक्ने अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।

प्रकाशित : श्रावण २५, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्

त्रिशूली दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो, २१ अझै बेपत्ता 

हरिहरसिंह राठौर

धादिङ — शुक्रबार बेनीघाटरोराङ–३ सलाङघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । २१ जना अझै बेपत्ता छन् । मृतक मध्ये ५ को मात्रै सनाखत भएको छ ।

मृत्यु हुनेमा भारतीय नागरिक अजय दास र विजय कुर्मी तथा बेपत्ता कण्डक्टर ऋषि उप्रेतीको शव शुक्रबार नै पहिचान भएको थियो। कृष्णभीर निर फेला परेका २ शवको पनि पहिचान भएको छ। ती शवहरु मलंगवा १ निवासी ४० वर्षीय सुनिलकुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षीय नीमाको भएको आफन्तले पहिचान गरेका छन्।

कन्डक्टर उप्रेतीको शव गोर्खातर्फको किनारमा लागे पछि प्रहरीले दिएको तस्बिरका आधारमा आफन्तले शव पहिचान गरेका थिए। शुक्रबार देवघाट र जेगेडीमा फेला परेका ८ शवहरु मध्ये २ जनाको सनाखत हुन नसकेको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए। दुर्घटनामा ज्यान गुमाएका एक महिला र एक बालिकाको सनाखत हुन सकेको छैन। घटनास्थलमा दुर्घटनामा बेपत्ता परिवारका आफन्तजनहरु आउनेक्रम जारी छ।

शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौंतर्फ आउँदै गरेको सृष्टि डिलक्स ना ६ ख ७४६९ नं बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको थियो।

पृथ्वी यायायात समितिमा आवद्ध कृष्ण यातायातको उक्त बस अत्यधिक गतिका साथ सलाङस्थित वन क्षेत्रको मोडबाट त्रिशूलीमा खसेको थियो।केही यात्रु पौडी खेलेर त केही भिरमा अड्किएर बाँचेका थिए। दुर्घटनामा घाइते १६ जनाको ट्रमा सेन्टर काठमाडौंमा र बाँकीको अन्य अस्पतालहरुमा उपचार भइरहेको छ। बसमा ४२ यात्रु, चालक र सहचालक सवार थिए।

दुर्घटनामा २१ भन्दा बढी यात्रु अझै हराइरहेको र प्रहरीले खोजी गरिरहेको प्रहरी उपरीक्षक वैदवारले बताए। सशस्त्र प्रहरीले गोताखोरसहितको टोलीले शनिबार पनि त्रिशूलीमा डुंगाको प्रयोग गरि बेपत्ताको जारी राखेको छ।

यी समाचार पनि पढ्नुहाेस् ........

प्रकाशित : श्रावण २५, २०७६ ०९:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्