छबिसमा दियोबलाई

कान्तिपुर संवाददाता

बझाङ — छबिस पाथीभेरा गाउँपालिकामा साता दिनसम्म लाग्ने दियोबलाई पर्व सुरु भएको छ । छबिस क्षेत्रका बासिन्दाले चोखोनितो भएर दियो बालेर सुर्मा देवीको पूजा गर्छन् ।

छबिस पाथीभेराको मुम्लामास्थित सुर्मा मन्दिर परिसरमा दियो बालिएको निउज (पूजा सामग्री) ।तस्बिर : वसन्तप्रताप सिंह/कान्तिपुर

साउन शुक्ल त्रयोदशीबाट सुरु भई जनै पूर्णिमासम्म यो पर्वमा मेला लाग्ने गर्छ । मेलाको मुख्य आकर्षण पहिलो दिन दियोबालाई हो । गाउँभरीका मानिस व्रत बसेर आ–आफ्नो घरबाट निउज (चोयाले बुनेको टोकरीमा राखिएको जौं, फलफूल, दियो, घिउलगायतका सामग्री) लिएर मुम्लास्थित सुर्मा मन्दिर जाने गर्छन् ।

मन्दिरका पुजारीले गाउँभरिका बासिन्दाले ल्याएको निउजलाई एकै ठाउँमा मिसाउने र त्यो सबैको टोकरीमा राखी दियो बालेर फिर्ता दिने गर्छन् । सबैको पूजा सामग्रीमा एक साथ दियो बालिने भएकाले यो पर्वको नाम दियोबलाई रहन गएको यस क्षेत्रको संस्कृतिका जानकार दानबहादुर अयडीले बताए ।

दियोबलाई मेलाको अर्को रोचक पक्ष भनेको मन्दिरबाट आएको पूजा सामग्रीमा रहेको फलफूलका आधारमा गर्भवतीको पेटमा रहेको शिशुको लिंग भविष्यवाणी गर्नु हो । ‘कसको पाथो (चोयाले बुनेको टोकरी अर्थात् पाथी) मा कुन फलफूल छ । त्यसका आधारमा त्यो घरकी गर्भवतीले छोरा वा छोरी पाउनेबारे गरिएको अनुमान मिल्ने विश्वास छ,’ स्थानीय मधुकला अयडीले भनिन्, ‘त्यही भएर पनि यहाँ यो पर्वको विशेष महत्त्व छ ।’

उनले दियो बालेको पाथीमा नासपाती भए छोरा हुने, ओखर भए छोरी हुने बताइन् । त्यसैगरी, आरु भए छोरी, स्याउ भए छोरा, निबुवा भए छोरी र काँक्रो भए छोरा हुने गरेको जनविश्वास रहेको बताइन् । अन्य विभिन्न फलफूलका आधारमा गर्भवतीले छोरा पाउँछ कि छोरी भन्ने भविष्यवाणी हुने गरेको र त्यो मिल्ने अयडी बताउँछिन् ।

जिल्लाको प्रसिद्ध धार्मिक एवं पर्यटकीय क्षेत्र सुर्मा सरोवरमा जनै पूर्णिमाको दिन लाग्ने विरिजात मेलाको तयारी स्वरूप छबिसमा यो पर्वको सुरु हुन्छ । दियोबलाई पर्व सुरु भएको दिनदेखि विरिजात मेलाको दिनसम्म सुर्मा सरोवर यात्रामा जानेले एकछाक मात्र खाने र खाली खुट्टा हिँड्ने परम्परा रहेको छबिस पाथीभेरा गाउँपालिका २ का अध्यक्ष विकास ऐडीले बताए ।

उनले विरिजातको बेला गाउँबाट समुद्र सतहदेखि ४ हजार ९ सय मिटरको उचाइमा रहेको सुर्मा सरोवर तालसम्म खाली खुट्टानै जानुपर्ने भएकाले त्यसको तयारी गर्न यस्तो चलन रहेको हुन सक्ने बताए । यसरी साता दिनसम्म व्रत बसेर सुर्मासरोवर जाने तीर्थालुलाई स्थानीय बोलीमा बालावीर भनिन्छ ।

पर्वको अवधिभरि छबिस क्षेत्रका महिला र पुरुषहरूले दैनिकजसो विभिन्न देवीदेवता र वीर गाथामा आधारित भारी खेल (कथानक देउडा गीत) खेल्ने, चाभाई (देव प्रशस्ती) गाउने गरेको सुर्मा मन्दिरका नाइक चन्दु कडायतले बताए । यस अवधिमा काम विशेषले गाउँ, जिल्ला तथा देशबाहिर रहेका यहाँका बासिन्दाहरू गाउँ फर्किने भएकाले गाउँको माहौल उत्सवमय हुने गरेको सुर्माका धामी भीमबहादुर अयडीले बताए ।

प्रकाशित : श्रावण २५, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्

खोलाको बीचमा पुल

अर्जुन राजवंशी

दमक — पुल निर्माण ४ वर्षअघि भइसकेको छ । ठेकेदारले इस्टिमेट र सम्झौताअनुसार काम सकेका हुन् । तर पुलमाथिबाट आउजाउ हुन सकेको छैन । पुल खोला बीचमा ठिङरिङ्ग छ । 

झापा र मोरङको सिमाना भएर बग्ने रतुवा खोला बीचमा निर्माण गरिएको पुल (माथि) र पुल नभएपछि डुंगाबाट खोला तर्दै स्थानीय ।तस्बिर : अर्जुन/कान्तिपुर

सुनसरी–मोरङ पुल आयोजनाको लापरबाहीका कारण झापा र मोरङ जोड्ने रतुवा खोलाको पुल ४ वर्षदेखि बेकाम्मे बनेको छ । स्थानीयवासी वर्षौंदेखिको नियति भोग्दै डुंगाबाट जोखिमपूर्ण खोला वारिपारि गर्न बाध्य छन् । ‘खोला वारिपारि गर्न दैनिक ४० रुपैयाँ तिर्नुपर्छ,’ राजकुमार शर्माले भने,‘रोजगारीमा दैनिक जानुपर्छ । खोलामा पुल बनेको छ । तर हामी पैसा तिरेर डुंगाबाट वारिपारि गर्न बाध्य छौं ।’

सरकारले पुल बनाउन करोडौं रुपैयाँ खर्चिए पनि ग्रामीण भेकका जनताले त्यसको लाभ लिन नपाएको उनको गुनासो छ । ‘पुल बनेर यो बाटो हिंड्न पाइयो भने व्यापार गरेर हामी एकै दिनमा विराटनगरबाट फर्किन सक्छौं,’ गौरीगन्जका व्यापारी युवराज राजवंशीले भने । विराटनगरसँग सीधा व्यापार गर्न पाए दक्षिण–पश्चिम झापाकै मुहार फेरिने उनको दाबी छ ।

‘पुल सञ्चालनमा आयो भने सिजुवा बजार १५ मिनेटमा पुगिन्छ । तर पुल नभएकाले दमक–उर्लाबारी हुँदै एक दिनको बाटो घुमेर जानुपर्ने अवस्था छ,’ स्थानीय अनामती ठाकुरले भनिन् । आयोजनाले रतुवा खोलामा २ सय ५ मिटर लम्बाइको पुल निर्माण गरेको छ । तर खोला पुलमुनिबाट नभई पुल पूर्वपट्टिबाट बगिरहेको छ ।

‘खोलाको चौडाइअनुसार पुल बनेन । खोलाभन्दा पुल सानो बनाएकाले हामीले सधैं दुःख पाइरहेका छौं,’ रामकुमार सरदारले भने, ‘गल्ती भइसकेपछि सच्याउनुपर्छ । तर यो पुल बेकाम्मे भएको ४ वर्ष बितिसक्दासम्म राज्यको ध्यान नपुग्नु दुःखद अवस्था हो ।’ झापातर्फका गौरीगन्ज र मोरङतर्फका रतुवामाई नगरपालिकाका स्थानीयले पुल सञ्चालनमा ल्याउन स्पान थप्न माग गरेका छन् । स्पान कम भएकै कारण निर्माण सम्पन्न भएको ४ वर्षसम्म पुलमाथिबाट आवतजावत गर्न नसकिएको उनीहरूको भनाइ छ ।

आयोजनाले उक्त पुल आव २०६४/०६५ मा काठमाडौंको कालिका ओएसिस जेभीलाई ठेक्का दिएको थियो । भ्याटसहित १० करोड ३२ लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर पुल ९ करोडमा निर्माण गरेको निर्माण कम्पनीले जनाएको छ । पुलको लम्बाइ भन्दा खोलाको चौडाइ ठूलो भएकाले निर्माण कम्पनीले एप्रोच रोड र च्यानेलाइजको काम गरेको छैन ।

निर्माण सम्पन्न भइसक्दा पनि पुल सञ्चालनमा ल्याउन नसक्दा सडक विभागले आयोजनालाई आवश्यक अध्ययन गरेर प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो । तर आयोजनाको कार्यालय प्रमुख कैलाश साहले विभागको निर्देशनअनुसार काम नगर्दा पुल बेकाम्मे बनेको हो ।

पुल हुलाकी राजमार्गअन्तर्गत पर्दछ । झापा र मोरङका दक्षिणी भेगका बासिन्दाका लागि उक्त पुल अत्यन्त आवश्यक छ । पुल नहुँदा झापाका साविक गौरीगन्ज, खजुरगाछी, कोहबरा, कोरोबारी तथा मोरङका साविकका सिजुवा, इटहरा, झुर्किया, महादेवालगायतका गाविसका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । हिउँदमा केही सहज भए पनि बर्खाका बेला डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्छ ।

हुलाकी राजमार्गअन्तर्गत गौरीगन्जदेखि विराटनगर ४५ किलोमिटरको दूरीमा पर्दछ । उक्त पुल सञ्चालनमा आए गौरीगन्जबाट करिब एक घण्टामा प्रदेश राजधानी विराटनगर पुग्न सकिन्छ । तर अहिले घुमेर पूर्वपश्चिम राजमार्ग हुँदै विराटनगर पुग्न झन्डै एक सय किलोमिटर दूरी पार गर्नुपर्ने बाध्यता रहेको गौरीगन्ज गाउँपालिकाका उपाध्यक्ष दीपेन्द्र थापाले भने । ‘पुल बनेको छ तर हिंड्न पाएका छैनौं । यो समस्या समाधानका लागि हामी सरोकारवाला निकायमा पटकपटक डेलिगेसन गएका छौं । तर कतैबाट सुनुवाइ हुन सकेको छैन,’ उनले भने ।

निर्माण सम्पन्न भएर पनि लामो समयसम्म सञ्चालनमा नआएपछि उक्त पुल हेर्ने जिम्मा यो वर्षदेखि हुलाकी सडक निर्देशनालय इटहरीले पाएको छ । हुलाकी सडक निर्देशनालयका प्रमुख विजय महतोले चालु वर्षको अन्त्यसम्ममा पुलमाथिबाट आवतजावत गर्न सकिने गरी काम गर्ने बताए । ‘यो वर्षदेखि उक्त पुलको जिम्मेवारी हाम्रो कार्यालयलाई आएको छ । त्यसैले गर्नुपर्ने र गर्न सकिने सबै अवस्थाको अध्ययन गरेर तत्काल काम सुरु गर्ने तयारीमा छौं,’ महतोले भने ।

प्रकाशित : श्रावण २५, २०७६ ०९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्