१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सिण्डिकेट फ्लाेअप : यसरी दिन्छन् सास्ती...

मोहन बुढाऐर

धनगढी — केही दिनअघि कञ्चनपुरको महेन्द्रनगरमा गाडीका कन्डक्टरले महिलामाथि कुटपिट गरेको घटना राष्ट्रिय चर्चामा रह्यो । उक्त घटना सेलाउन सेलाउन नपाउँदै खानीडाँडामा त्यस्तै प्रकृतिको अर्को घटना भयो । यातायात व्यवसायीले मागेको भाडा नदिएको भन्दै बीच बाटोमै यात्रुलाई उतारेर अलपत्र पारे ।

सिण्डिकेट फ्लाेअप : यसरी दिन्छन् सास्ती...

बसभित्र यात्रु र कन्डक्टरबीच भाडा, सिटका विषयमा विवाद सुदूरका सडकमा सधैजसो भइरहने घटना हुन् । दिपायलबाट धनगढी आउँदाको सास्ती सुनाउँदै शिक्षक रामबहादुरले ऐर भने, ‘सुदूरका सडकमा यात्रीले सास्तीसँगै असुरक्षासमेत भोग्नुपरेको छ ।’


दिपायलबाट धनगढीका लागि बस छुटिसकेकाले उनी डडेल्धुरासम्म आए । डडेल्धुरा बसपार्कमा एउटा बस धनगढीका यात्रु भर्दै थियो । उनी धनगढीका लागि त्यहीं बसमा बसे र टिकट काटे । ‘एक छिनमा बस चालकले यात्रु पूरा नपाएकाले हाइस (माइक्रो) मा बस्न भन्यो,’ उनले भने, ‘बसबाट ओर्लिएर फेरि हाइसमा मलगायत यात्रु बस्यौं र त्यहाँबाट धनगढीको यात्रा सुरु भयो ।’ तर भीमदत्त राजमार्गको बुडरमा जोगबुडाबाट महेन्द्रनगर आउँदै गरेका बसलाई उक्त हाइसले हामी (यात्रु) लाई दियो । टिकट भने उही ।


उनका अनुसार त्यो बसले राति १० बजे अत्तरिया पुर्‍यायो । त्यहाँबाट धनगढीका यात्रुलाई एउटा सानो म्याजिक गाडीलाई दियो । ‘म्याजिकले एक छिनपछि प्राविधिक कारण देखाउँदै नजाने भन्यो,’ ऐरले भने, ‘अत्तरिया चोकमै अलपत्र पारिदियो ।’ घरबाट १६ किमि दूरीमा उनले बास बस्नुपर्‍यो । उनले सवारीलाई नियमन गर्ने ट्राफिक प्रहरी पनि प्रभावकारी नभएको बताए ।


उनका अनुसार सुदूरपश्चिममा क्षमताभन्दा बढी यात्रु बोक्नु, थोत्रा गाडी चलाउनु र विभिन्न बहानामा चर्को भाडा असुल्ने प्रवृति यातायात व्यवसायीमा कायमै छ । ‘बस स्टपबाट गाडीमा भेडा जस्तै यात्रु नकोचेसम्म गाडी स्टार्ट नै हुँदैन,’ अर्का यात्रु रमेश धामीले भने, ‘बाटोमा पुराना गाडी ठाउँठाउँमा बिग्रिँदा यात्रु समयमा गन्तव्यमा पुग्दैनन्, कतिपय गाडीले अर्कोलाई दिन्छन् । शिक्षक ऐरले बिहीबारको यात्रामा एउटा गाडीले अर्कोलाई दिएको ‘मेल’ कै कारण दुःख पाए ।


सुदूरका पहाडी जिल्लालाई जोड्ने साँघुरा सडकमा रात्रि बस त चल्छन् । तर लामो र जोखिमपूर्ण यस्ता रुटमा एकै चालकले हाँक्ने गरेका छन् । सुदूरका पहाडी जिल्लाको सबैभन्दा लामो रुट बाजुरा, दार्चुला र बझाङ हुन् । उक्त रुटमा एकैजना चालकले करिब ५ सय किमिसम्म बस चलाउँछन् ।


तर, ट्राफिक नियम कार्यान्वयनमा ट्राफिक प्रहरी नै इमानदार रुपमा लाग्नुपर्ने यात्रु बताउँछन् । चेकजाँचका नाममा ट्राफिक प्रहरीले व्यवसायीबाट रकम असुल्ने आरोप पनि नलागेको होइन । बस समितिका थोत्रा गाडी मात्रै फेरिँदा ४० प्रतिशत दुर्घटनामा कमी आउने ट्राफिक प्रहरी अधिकृतहरू बताउँछन् ।


सरकारको यातायात कानुनमा २० वर्ष नाँघेको गाडी चलाउन नपाउने भने पनि सुदूरका सडकमा थोत्रा गाडी चलिरहेका छन् । दिनेश ट्राभल्स प्रालिका पूर्वप्रवन्धक (जीएम) समेत रहेका बीएल चौधरी भन्छन्, ‘सुधारको बाधक नै समितिहरूको सडकमाथिको एकाधिकार हो ।’ उनी यातायातका क्षेत्रमा स्वास्थ्य र गुणस्तरीय प्रतिस्पर्धा हुन आवश्यक भएको बताउँछन् ।

प्रकाशित : श्रावण २५, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?