सिण्डिकेट फ्लाेअप : यसरी दिन्छन् सास्ती...

मोहन बुढाऐर

धनगढी — केही दिनअघि कञ्चनपुरको महेन्द्रनगरमा गाडीका कन्डक्टरले महिलामाथि कुटपिट गरेको घटना राष्ट्रिय चर्चामा रह्यो । उक्त घटना सेलाउन सेलाउन नपाउँदै खानीडाँडामा त्यस्तै प्रकृतिको अर्को घटना भयो । यातायात व्यवसायीले मागेको भाडा नदिएको भन्दै बीच बाटोमै यात्रुलाई उतारेर अलपत्र पारे ।

बसभित्र यात्रु र कन्डक्टरबीच भाडा, सिटका विषयमा विवाद सुदूरका सडकमा सधैजसो भइरहने घटना हुन् ।दिपायलबाट धनगढी आउँदाको सास्ती सुनाउँदै शिक्षक रामबहादुरले ऐर भने, ‘सुदूरका सडकमा यात्रीले सास्तीसँगै असुरक्षासमेत भोग्नुपरेको छ ।’

दिपायलबाट धनगढीका लागि बस छुटिसकेकाले उनी डडेल्धुरासम्म आए । डडेल्धुरा बसपार्कमा एउटा बस धनगढीका यात्रु भर्दै थियो । उनी धनगढीका लागि त्यहीं बसमा बसे र टिकट काटे । ‘एक छिनमा बस चालकले यात्रु पूरा नपाएकाले हाइस (माइक्रो) मा बस्न भन्यो,’ उनले भने, ‘बसबाट ओर्लिएर फेरि हाइसमा मलगायत यात्रु बस्यौं र त्यहाँबाट धनगढीको यात्रा सुरु भयो ।’ तर भीमदत्त राजमार्गको बुडरमा जोगबुडाबाट महेन्द्रनगर आउँदै गरेका बसलाई उक्त हाइसले हामी (यात्रु) लाई दियो । टिकट भने उही ।

उनका अनुसार त्यो बसले राति १० बजे अत्तरिया पुर्‍यायो । त्यहाँबाट धनगढीका यात्रुलाई एउटा सानो म्याजिक गाडीलाई दियो । ‘म्याजिकले एक छिनपछि प्राविधिक कारण देखाउँदै नजाने भन्यो,’ ऐरले भने, ‘अत्तरिया चोकमै अलपत्र पारिदियो ।’ घरबाट १६ किमि दूरीमा उनले बास बस्नुपर्‍यो । उनले सवारीलाई नियमन गर्ने ट्राफिक प्रहरी पनि प्रभावकारी नभएको बताए ।

उनका अनुसार सुदूरपश्चिममा क्षमताभन्दा बढी यात्रु बोक्नु, थोत्रा गाडी चलाउनु र विभिन्न बहानामा चर्को भाडा असुल्ने प्रवृति यातायात व्यवसायीमा कायमै छ ।‘बस स्टपबाट गाडीमा भेडा जस्तै यात्रु नकोचेसम्म गाडी स्टार्ट नै हुँदैन,’ अर्का यात्रु रमेश धामीले भने, ‘बाटोमा पुराना गाडी ठाउँठाउँमा बिग्रिँदा यात्रु समयमा गन्तव्यमा पुग्दैनन्, कतिपय गाडीले अर्कोलाई दिन्छन् । शिक्षक ऐरले बिहीबारको यात्रामा एउटा गाडीले अर्कोलाई दिएको ‘मेल’ कै कारण दुःख पाए ।

सुदूरका पहाडी जिल्लालाई जोड्ने साँघुरा सडकमारात्रि बस त चल्छन् । तर लामो र जोखिमपूर्ण यस्ता रुटमा एकै चालकले हाँक्ने गरेका छन् । सुदूरका पहाडी जिल्लाको सबैभन्दा लामो रुट बाजुरा, दार्चुला र बझाङ हुन् । उक्त रुटमा एकैजना चालकले करिब ५ सय किमिसम्म बस चलाउँछन् ।

तर, ट्राफिक नियम कार्यान्वयनमा ट्राफिक प्रहरी नै इमानदार रुपमा लाग्नुपर्ने यात्रु बताउँछन् । चेकजाँचका नाममा ट्राफिक प्रहरीले व्यवसायीबाट रकम असुल्ने आरोप पनि नलागेको होइन । बस समितिका थोत्रा गाडी मात्रै फेरिँदा ४० प्रतिशत दुर्घटनामा कमी आउने ट्राफिक प्रहरी अधिकृतहरू बताउँछन् ।

सरकारको यातायात कानुनमा २० वर्ष नाँघेको गाडी चलाउन नपाउने भने पनि सुदूरका सडकमा थोत्रा गाडी चलिरहेका छन् । दिनेश ट्राभल्स प्रालिका पूर्वप्रवन्धक (जीएम) समेत रहेका बीएल चौधरी भन्छन्, ‘सुधारको बाधक नै समितिहरूको सडकमाथिको एकाधिकार हो ।’ उनी यातायातका क्षेत्रमा स्वास्थ्य र गुणस्तरीय प्रतिस्पर्धा हुन आवश्यक भएको बताउँछन् ।

प्रकाशित : श्रावण २५, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्

मदिरा पिउन सरकारी गाडी

कान्तिपुर संवाददाता

टीकापुर — जनतालाई छिटो छरितो सेवा सुविधा दिन कार्यालयमा सवारी साधनको व्यवस्था गर्ने गरिन्छ । तर कैलालीको जानकी गाउँपालिकामा भने सवारी साधनको दुरुपयोग भइरहेको छ । गाउँपालिकाका केही कर्मचारी राति गाडी लिएर मदिरा खान जाने गरेका छन् ।

गाउँपालिकामा २ जिप छन् । एउटा हाइलक्स र अर्को स्कर्पिओ । बुधबार कार्यकारी अधिकृतलाई थाहै नदिई बा.१झ ७१९८ नम्बरको सरकारी जिप चढेर गाउँपालिकामा कार्यरत गंगाराम चौधरीलगायत कर्मचारीको टोली मदिरा खान जोशीपुर पुगेको थियो ।

‘सरकारी गाडी लिएर साथीहरू जाँड खान जाँदा रहेछन् भन्ने बल्ल थाहा भयो । कर्मचारी आफैं जिम्मेवार हुनुपर्ने हो,’ गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले भने, ‘एउटा गाडी लिएर उपाध्यक्ष धनगढी जानुभएको थियो । मैले सोधखोजी गर्दा कार्यालय समयपछि एउटा जिप जोशीपुर गएको पक्का रहेछ । त्योबारे न हाकिमलाई थाहा दिए न मलाई ।’

गाउँपालिकाका कार्यकारी अधिकृत नारायणबहादुर विष्टले गाडी सबै गाउँपालिकामा राख्ने गरेको र राति गाडी लिएर कोही गएको हो भए सोधीखोजी गर्ने र त्यसो गरेको भए कारबाही गर्ने बताए । उनले भने, ‘गाउँपालिकाको जिप अध्यक्ष, उपाध्याक्ष र कार्यकारी प्रमुखले चढने व्यवस्था छ । कतै लग्नुपरे पनि अनुमति लिएर जानुपर्ने हो ।’

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकी गाउँपालिकाको गाडी बुधबार जोशीपुरमा गएको जानकारी पाएको बताए । उनले भने, ‘गाउँपालिका/नगरपालिका आफैं सरकार भएका र गाडी प्रयोगका विषयमा हामीले केही गर्न सक्ने अवस्था छैन । जनप्रतिनिधि आफैंले यस्तोमा सचेत हुनुपर्ने हो ।’

गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षका लागि छुट्टाछुट्टै चारपांग्रे सवारीसाधन छन् । ९ वडाध्यक्षलगायत कर्मचारीका लागि १८ मोटरसाइल, २ टिपर र एउटा जेसीबी गाउँपालिकाको रकमबाट खरिद भएर सञ्चालनमा छन् । कार्यालयको काममा यसको उपयोग गरिनुपर्ने भए पनि धेरै दुरुपयोग हुने गरेको स्थानीय बासिन्दाको गुनासो छ ।

गाउँपालिकाले आव ०७४/७५ मा भौतिक विकास निर्माणका लागि भनेर खरिद गरिएका टिपर प्रयोगविहीन छन् । वडा ३ का अध्यक्ष प्रदीपकुमार शाहले टिपरमा भएको लगानी पुरै अनुत्पादक भएको बताए ।

प्रकाशित : श्रावण २५, २०७६ ०८:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्