कलिला आमाका पीडा

सामुदायिक विकास केन्द्रको सहयोगमा दिपायल–सिलगढी नगरपालिका ८ का जनप्रतिनिधिले गरेको सर्वेक्षणबाट ३ वर्षको अवधिमा १ सय ६३ वटा बालविवाह भएको देखिएको छ, सदरमुकामनजिकै रहेको उक्त वडामा बालविवाह ३ वर्षदेखि लगातार उकालो लागिरहेको छ
मोहन शाही, तृप्ति शाही

डोटी/बैतडी — खस्रा गाला र दुब्लो ज्यान । २० वर्षीया रूपा कोली आँगनमा आफ्ना २ सन्तान खेलाउँदै थिइन् । डोटीको दिपायल सिलगढी नगरपालिका ७, उडितोलास्थित मुक्त हलिया बस्तीमा घर भएकी रूपा बालविवाहका कारण आफ्नो भविष्य बर्बाद भएको निष्कर्षमा पुगेकी छिन् ।

आफूले बालविवाह गरेकै कारण हाँस्ने खेल्ने उमेरमा परिवार र सन्तानको स्याहारमा बितेकोमा अहिले उनमा आत्मग्लानि छ । ‘आमाबुबाले सानैमा बिहे गरिदिए, उहाँहरूको बोझ बनेर माइत बस्नु छोरीको धर्म होइन,’ उनले भनिन्, ‘उमेर कसरी ढल्क्यो थाहै भएन, सानैदेखि पढ्ने रहर पनि विवाहपछि सकियो ।’ अहिले पछुताउनुबाहेक अरू विकल्प नभएको उनी बताउँछिन् ।

रूपाकै छिमेकी हुन् मन्नी कोली । उनी २४ वर्षकी भइन् । भर्खर विवाह गर्ने उमेर भएकी उनका ३ सन्तान भइसकेका छन् । जेठी छोरी ५ वर्षकी छिन् । सरकारको सहयोगबाट मुक्त हलियालाई घर र जग्गा मिले पनि ३ सन्तान पाल्न पतिलाई भारत पठाएको उनले सुनाइन् ।

आफूहरूको समुदायमा बालविवाहका कारण परेका असरहरूबारे जानकारी भए पनि त्यसलाई सहेर जीवनयापन गर्नु बाध्यता भएको उनले बताइन् । ३ सन्तान भए पनि २ वटाको त उनले गर्भपतन नै गराएको बताइन् । ‘जीउज्यान निकै कमजोर छ, कम्मर धेरै दुख्छ,’ उनले दुखेसो सुनाइन्, ‘त्यतिबेला आमा बुबासँग झगडा गरेर भए पनि बिहे अहिले गर्दैन किन भन्न नसकेकी हुँला भनेर पछुतो लागिराख्छ ।’

बैतडीको पाटन नगरपालिका ८ की सुनीता भण्डारी गर्भवती छिन् । पढ्दापढ्दै गत वर्ष विवाह गरेकी भण्डारीलाई हिजोआज शरीर रोगी भएको चिन्ताले हैरान बनाएको छ । गर्भ बसेको केही महिनामै रगत बग्ने समस्या देखिएको उनले सुनाइन् । ‘खुब पीडा भो । लगातार रगत बग्यो । स्वास्थ्य कमजोर भयो,’ उनले सुस्केरा हाल्दै भनिन्, ‘ज्यान जोखिममा रहेको डर लागेपछि डडेल्धुरासम्म चेकजाँचका लागि गएँ । कलिलैमा बिहे गर्दा समस्या भएको डाक्टरहरूले बताउँदै औषधि दिएर फर्काएका छन् ।’ एकातिर कलिलैमा विवाह गरेकाले उनको स्वास्थ्य कमजोर भएको छ भने अर्कोतिर उनको पढाइ पनि छुटेको छ ।

सुदूरपश्चिममा बालविवाह गर्नेहरूको संख्या घटेको छैन । बालविवाहपछि सुखी र खुसी जीपनयापन गरिरहेको कथा सुनाउने थोरै भेटिन्छन् । अभिभावकहरूको करकापभन्दा पनि आफ्नै इच्छाले बिहे गरेका जोडी पनि विवाहपछि देखापर्ने समस्यासँग जुध्न नसकेर पछुताउने गरेका भेटिन्छन् । गरिब, विपन्न र शिक्षाबाट वञ्चित परिवारमा बालविवाह बढ्दै गएको छ ।

प्रजनन् अंगहरूको पूर्ण रूपमा विकास नहुँदै विवाह गर्दा महिलामा समस्या देखापर्ने गरेको मेरी स्टोप्स यूएनएफपी बैतडीकी परियोजना अधिकृत कलावती चौधरीले बताइन् । सानैमा बिहे गरेका दम्पतीको समय नपुग्दै बच्चा जन्मिने, कम तौल भएको जन्मुनका साथै महिलाको प्रजनन् अंगमा समस्या हुने गरेको उनले बताइन् । उनले भनिन्, ‘सानैमा विवाह गरी धेरै सन्तान जन्मेकाहरू यस्तो समस्या झेलिरहेका देखिन्छन् । उनीहरू परिवार व्यवस्थापन गर्न नसक्ने भएपछि पछुताउँछन् ।’

संख्या अझै भयावह
सामुदायिक विकास केन्द्र नामक गैरसरकारी संस्थाको सहयोगमा दिपायल सिलगढी नगरपालिका ८ का जनप्रतिनिधिहरूले गरेको सर्वेक्षणबाट ३ वर्षको अवधिमा १ सय ६३ वटा बालविवाह भएको देखिएको छ । सदरमुकामनजिकै रहेको उक्त वडामा बालविवाह ३ वर्षदेखि लगातार उकालो लागिरहेको छ ।

वडाध्यक्ष रामबहादुर खड्काका अनुसार ०७३ मा ३८, ०७४ मा ५६ र ०७५ सालमा ६९ जनाको बालविवाह भएको छ । सामुदायिक विकास केन्द्रले बालविवाह गरेका दम्पतीहरूलाई आत्मनिर्भर बनाउन तथा अन्यलाई बालविवाहप्रति निरुत्साहित गर्न नगरपालिकासँगको सहकार्यमा विभिन्न आयआर्जन र शिक्षा क्षेत्रमा काम गरिरहेको छ ।

बालविवाहले आमा तथा सन्तानहरूको शारीरिक अवस्था कमजोर बनाउने गरेको छ । बढी सन्तान जन्माउँदा पाठेघर खस्ने, विभिन्न रोगहरूले संक्रमण हुने, शरीर कमजोर हुने गरेको छ । दिपायल(सिलगढी नगरपालिकाका सामाजिक विकास अधिकृत रमेश जोशीले नगरको वडा ९ मा सय बालबालिकामा गरेको अर्को सर्वेक्षणमा २० प्रतिशत अभिभावकका ७ सन्तान रहेको भेटिएको छ । ५० प्रतिशत दम्पतीको ४ देखि ६ र ३० प्रतिशतको ३ जनासम्म सन्तान रहेको तथ्यांक फेला परेको सामाजिक विकास अधिकृत जोशीले बताए । उनले बालविवाह गर्ने दम्पतीका बढी सन्तान जन्मिने गरेको जानकारी दिए ।

‘बालिका दुलही होइनन्,’ राष्ट्रिय सञ्जालले सन् २०१५ मा गरेको अध्ययनअनुसार बैतडीमा ५९ दशमलव ५ प्रतिशत बालविवाह रहेको थियो । त्यसमा १० देखि १४ वर्षसम्ममा विवाह गर्ने १२ दशमलव ५ प्रतिशत र १५ देखि १८ वर्षको उमेरमा विवाह गर्नेहरू ४७ प्रतिशत रहेको यूएनएफपीएका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए । ‘हाम्रो समाजका विभिन्न सामाजिक संरचना जस्तै छोरीलाई सानै उमेरमा बिहे गरे धर्म हुन्छ भन्ने धारणा अझै यथावत छ,’ शाहीले भने, ‘अशिक्षाको कारणले पनि बालविवाह बढ्दै गइरहेको छ ।’

कलिलै उमेरमा गर्भवती भएर ज्यान जोखिममा पार्ने संख्या पनि बैतडीमा उल्लेख्य छ । स्वास्थ्य कार्यालय बैतडीका अनुसार आव ०७५/७६ मा ४ हजार ६ सय ३६ गर्भवतीमध्ये ७ प्रतिशत २० वर्ष मुनिका छन् । यस्तै आव ०७४/७५ मा ५ हजार ४ सय ४६ गर्भवती स्वास्थ्य संस्थामा गर्भजाँच गराउन पुगेकोमा ९ प्रतिशत, ०७३/७४ मा ५ हजार ८४ गर्भवतीमध्ये ११ प्रतिशत बालिका रहेको परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशीले बताए । यो संख्या स्वास्थ्य संस्थामा गर्भवती जाँच गराउन आएकाहरूको मात्र रहेको बताउँदै स्वास्थ्य संस्थामा नआउनेहरू अरु पनि रहेको हुन सक्ने जोशी बताउँछन् ।

सामाजिक सञ्जालले ल्यायो विकृति
‘पढाइमा मात्र होइन, सामाजिक सञ्जालले पनि विकृति ल्यायो,’ बालविवाहबारे विद्यार्थी र अभिभावकहरूबीच आयोजित एक अन्तर्क्रियामा डोटीको आदर्श गाउँपालिकास्थित मष्टेश्वर मावि महादेवस्थानका व्यवस्थापन समिति अध्यक्ष उदयसिंह रोकायाले दुखेसो गर्दै भने, ‘विद्यार्थी हिजोआज मायाप्रेमका नाममा सामाजिक सञ्जालको दुरूपयोग गर्दै बालविवाह गर्नेदेखि यौन अपराधमा पनि संलग्न भइरहेका छन् ।’ पछिल्लो समय उमेर नपुग्दै प्रेम सम्बन्धका नाममा बालबिहे गर्ने क्रम बढदै गएको छ ।

अध्यक्ष रोकायाका बुझाइमा मोबाइल तथा सामाजिक सञ्जालहरूले निकै विकृति बढ्दै गएको छ । ‘तिनलाई कारबाही गर्ने ऐन नियम पनि स्पष्ट छैन,’ उनले भने, ‘आफ्नै इच्छाले बिहे गरेको भनेर अडान लिए पनि अभिभावकहरू पनि त्यसै छाडिदिन्छन्, त्यस्ता घटनामा परेकालाई कारबाही नगरेकाले पनि प्रोत्साहन पाएका हुन् ।’

कक्षा ८ मा पढ्दापढ्दै माया विष्ट (नाम परिवर्तन) को फेसबुकमा युवकसँग चिनजान भयो । दिपायल सिलगढी नगरपालिका ७ की १५ वर्षीया विष्ट (नाम परिवर्तन) फेसबुकको सम्बन्ध विवाहमा परिणत भयो । त्यसैगरी बडिकेदार गाउँपालिका ४, मान्नाकापडी गाउँका १७ वर्षीय दीपक (नाम परिवर्तन) ले छिमेकी गाउँकी १४ वर्षीया शर्मिलासँग मोबाइलको कुराकानीबाट सुरु भएको प्रेम सम्बन्ध फेसबुक हुँदै जीवनसाथीका रूपमा परिणत भयो ।

यी केही उदाहरण मात्रै हुन् । सूचना प्रविधिको विकाससँगै बालबालिकाको मोबाइल र सामाजिक सञ्जालमा सहज पहुँचले आफै भागेर बालविवाह गर्नेको संख्या पनि बढ्दै गएको छ । बडिकेदार गाउँपालिकाकी सामाजिक कार्यकर्ता मुना मटेलीका अनुसार गत वर्षको मंसिरदेखि असारसम्म १८ जना आफैं सामाजिक सञ्जालको माध्यमबाट सम्बन्ध बनाएर बालविवाह गरिसकेका छन् । मटेलीले भनिन्, ‘सामाजिक सञ्जालवाट सम्पर्क भएर बिहे गर्ने धेरै छन् । पहिलापहिला त मैले त्यति ख्याल गरेकी थिइनँ, तर मंसिरयता १८ जनाको बालवविवाह भएको मेरै आँखाले देखेकी छु ।’

रणनीतिक योजना कार्यान्वयन भएन
बालबिबाह रोक्न गत वर्ष मंसिरमा बैतडीमा तयार पारिएको रणनीतिक योजना अझै कार्यान्वयन भएको छैन । जिससले स्थानीय तहका प्रमुख, उपप्रमुख र विभिन्न क्षेत्रमा कार्यरत अभियन्ताहरूको सहभागितामा रणनीतिक योजना तयार पारेको थियो ।
रणनीतिक योजनामा फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा अवरोध आएको निष्कर्षका आधारमा आधारभूतदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई मोबाइल प्रयोग गर्न नदिने उल्लेख थियो ।

सन् २०३० मा नेपाललाई बालविवाहमुक्तघोषणा गर्ने सरकारको लक्ष्यअन्तर्गत बैतडीलाई चाँडै बालविवाहमुक्त घोषणा गर्ने उद्देश्यले रणनीतिक कार्ययोजना तयार पारिएको हो । तर त्यसको कार्यान्वयनमा भने चुनौती आएको छ । जिससले बनाएकोउक्त कार्ययोजना स्थानीय तहहरूले कार्यान्वयनमा चासो नदिएको सरोकारवालाहरूले बताएका छन् ।

प्रकाशित : श्रावण २४, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्

सम्बन्ध विच्छेदमा सामाजिक सञ्जाल

निर्मला खडायत

धनगढी — जीवनभर साथ दिने वाचा गरेर १० वर्षअघि प्रेमिकासँग विवाह बन्धनमा बाँधिएका धनगढी उपमहानगरपालिकाका दीपक चौधरी (नाम परिवर्तन) सम्बन्धविच्छेदका लागि हालै जिल्ला अदालत कैलाली पुगे ।

‘प्रेम गर्दा मानिसहरू चिन्न सकिन्छ, सम्बन्ध सुमधुर बन्छ भन्थे होइन रहेछ । सम्बन्ध दिगो बनाउन त पति(पत्नीबीच समझदारी हुनुपर्दो रहेछ,’ उनले भने, ‘मलाई अहिले पनि उनीसँगै बस्न मन छ, तर छाडेर गएको वर्षदिन बित्दा पनि उनी म कहाँ फर्केर आइनन् । त्यसैले यो कदम चालेको हुँ ।’

सामान्य जीवनशैलीमा हुर्केका चौधरीले पत्नीका महँगा सपना र चाहना पूरा गर्न नसकेपछि आफूलाई छोडेर गएको बताए । ‘उनी फेसबुकबाट मन पराएको मान्छेसँग बस्न थालिन् । महिनौं सम्पर्कविहीन बसेकी पत्नीको लामो समयपछि फोन नम्बर पाएर पटकपटक घर फर्किन आग्रह गरें,’ उनले भने, ‘ऊ घर फर्कन नमानेपछि सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गर्न बाध्य भएको हुँ ।’ उनी प्रतिनिधि पात्र हुन् ।

जिल्ला अदालत कैलालीमा अहिले दैनिक सम्बन्धविच्छेद गर्न आउनेको संख्या दिनहुँ बढेको छ । उनीहरू सम्बन्धविच्छेद गराइदिन भन्दै अदालत पुग्ने गरेका छन् । पछिल्लो समय पारिवारिक सम्बन्ध कमजोर हुँदै गएका छन् । सानो निहुँमा पतिपत्नी अलग भइरहेका छन् ।जसको प्रत्यक्ष मारमा उनीहरूका सन्तान परेका छन् ।

जिल्ला अदालत कैलालीमा ४ वर्षयताको तथ्यांकअनुसार बर्सेनि यो संख्या बढ्दै गएको पाइएको छ । आव ०७३/७४ मा १ सय ५२ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । आव ०७४/७५ मा त्यो संख्या बढेर २ सय ६५ पुग्यो । गत आव ०७५/७६ मा ३ सय ५६ जनाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गरेका छन् ।

मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले सम्बन्धविच्छेदका सम्बन्धमा महिलाको जस्तै पुरुषलाई पनि समान अधिकार दिएपछि पुरुष पनि सम्बन्धविच्छेदका लागि सोझै अदालत पुग्न थालेका हुन् । गत आव ८६ पुरुषले सम्बन्धविच्छेदका लागि निवेदन दिएको तहसिलदार नरबहादुर नेगीले बताए । ‘सँगै जिउने मर्ने कसम खाएकाहरू पनि विवाह भएको केही दिनमै सम्बन्धविच्छेदका लागि अदालत पुग्ने गरेका छन्,’ नेगीले भने, ‘मुलुकी देवानी संहिताले पुरुषलाई पनि सम्बन्धविच्छेदका लागि सहजता प्रदान गरेसँगै पत्नीपीडित भएको भन्दै मुद्दा दर्ता गर्ने पुरुषको संख्या पनि बढेको छ ।’

बर्सेनि यसरी सम्बन्धविच्छेदका घटना बढनुले अवस्था भयावह बन्दै गएको नेगीको भनाइ छ । सम्बन्धविच्छेदका लागि आउँदा अधिकांश महिला पतिले खान(लगाउन नदिएको, कुटपिट गर्ने गरेको भन्दै आउने गर्छन् । पुरुषहरू पत्नी अर्कैसँग लागेको, विदेश गएर कमाएको पैसा लिएर अर्कैसँग भागेर गएको भन्ने गुनासो लिएर आउने गरेको उनले बताए । ‘सामाजिक सञ्जाल दम्पतीको सम्बन्धमा दरार ल्याउने मुख्य कारक देखिएको छ,’ तहसिलदार नेगीले भने । उनले सामाजिक सञ्जालको दुरुपयोगले पनि धेरै दम्पतिको सम्बन्धमा दरार आएको बताए ।

विगतमा बुबाआमाले बालविवाह गरिदिएका महिलाहरू बढीजसो सम्बन्धविच्छेदका लागि आउने गर्थे । तर अहिले प्रेम विवाह गरेकाहरू नै बढीजसो सम्बन्धविच्छेदका लागि आउने गरेको उनी बताउँछन् । ‘धेरै महिलाहरूले त आफ्नो अधिकारको गलत प्रयोग पनि गरेका छन्,’ अधिवक्ता हिमालयविक्रम विष्टले भने, ‘सम्पत्ति पनि सम्बन्धविच्छेदको कारण बनेको छ ।’

उनी सम्पत्तिकै लागि केही महिलाहरूले विवाह गर्ने र विवाह गरेको छोटो समयमै सम्बन्धविच्छेदका लागि निवेदन दिने गरेको बताउँछन् । ‘विवाह भएको सातादिन नबितीकनै सम्बन्धविच्छेद गर्न आएकाहरू पनि छन् । अहिले व्यक्तिले सम्बन्धको महत्त्व बिर्सर्दै गइरहेका छन्,’ विष्टले बताए ।

केहीले सम्पत्तिका कारण सम्बन्धविच्छेदको तहसम्म पुग्ने गरेको भए पनि धेरैजसो पतिपत्नीबीचको असमझदारीका कारण सम्बन्धविच्छेद गर्न आउने गरेको उनले बताए । ‘अहिलेका दम्पतीमा एक(अर्काको गल्ती स्वीकार गर्ने बानी नै छैन,’ अधिवक्ता विष्टले भने, ‘पति(पत्नीबीच समझदारी नहुनु नै सम्बन्धविच्छेदको मुख्य कारण बन्ने गरेको छ ।’ तर सम्बन्धविच्छेदले व्यक्ति स्वयंलाई त्यति असर नगरे पनि उसको परिवार र सन्तानलाई प्रत्यक्ष नकारात्मक असर गर्ने भएकाले उनी यसलाई गलत प्रयासका रूपमा लिन्छन् ।

प्रकाशित : श्रावण २४, २०७६ ०९:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्