१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

वन्यजन्तु रोक्न पक्की पर्खाल

कान्तिपुर संवाददाता

कञ्चनपुर — वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज किनारमा पक्की पर्खाल निर्माण सुरु गरिएको छ । निकुञ्जको मुख्य प्रवेशद्वार रहेको मझगाउँ क्षेत्रमा गत वर्षदेखि तारवारको ठाउँमा पक्की संरचना निर्माणको काम सुरु भएको हो ।

निकुञ्ज कार्यालयले आव ०७४/७५ मा डेढ करोडमा करिब ५ सय मिटर र गत आवमा १ करोडमा ५ सय मिटरकै हाराहारीमा ८ मिटर उचाइको कंक्रिट पर्खाल निर्माण गरेको हो । ‘कंक्रिट पर्खाल निर्माणको काम यस वर्ष पनि निरन्तरता दिइनेछ,’ निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरीले भने, ‘मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि पर्खाल निर्माण भइरहेको हो ।’


निकुञ्जको मुख्य प्रवेशद्वारदेखि भीमदत्त नगरपालिका १४ को रानाथारू होमस्टेसम्म आरसीसी पर्खाल निर्माण भइसकेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको बजेटबाट यो पर्खाल बनाइएको हो । यसैगरी झोलुंगे पुलदेखि होमस्टेसम्मै उपभोक्ता समितिले मेस जालीसहितको बार लगाउने काम गरेको छ ।


करिब ७ किमि लम्बाइमा उक्त मेसजालीको बार लगाउने काम सकिएको सहायक संरक्षण अधिकृत चौधरीले बताए । ‘उपभोक्ता समिति, निकुञ्ज कार्यालय, वन्यजन्तु संरक्षण विभाग ताललगायत विभिन्न संघ–संस्थाको सहयोगमा मेस जालीसहितका बार निर्माण भएको हो,’ निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष पुष्करबहादुर सिंहले भने । समितिले ३ वर्ष अघिदेखि तारजाली जडान गर्ने काम सुरु गरेको हो ।


तारजाली जडान भएपछि निकुञ्जबाट वन्यजन्तु बस्तीतिर पस्ने क्रम रोकिएको छ । विगतको तुलनामा निकुञ्ज आसपास क्षेत्रमा अन्नबाली पनि जोगिएको स्थानीय बताउँछन् । ‘मझगाउँ क्षेत्रमा बस्तीतिर पस्ने वन्यजन्तुको संख्या ९० प्रशितशतले घटेको छ,’ सिंहले भने, ‘हात्तीबाहेक वन्यजन्तु बस्तीतिर पस्न सक्दैनन ।’

प्रकाशित : श्रावण २४, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?