१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

महिलाहरू घरेलु हिंसाबाट पीडित

तृप्ति शाही

बैतडी — जिल्लाका महिलाहरू अझै पनि घरेलु हिंसाबाट पीडित छन् । अपरिचितभन्दा पनि आफ्नै घरका सदस्यबाट पीडित हुनुपर्ने महिलाको बाध्यता छ । पति र परिवारका सदस्यहरूबाट पाएका पीडा सहन उनीहरू बाध्य छन् ।

महिलाहरू घरेलु हिंसाबाट पीडित

पाटन नगरपालिकाकी रमा (नाम परिवर्तित) ले घर छोडेको महिना नाघिसक्यो । उनी अझै घर फर्किन सकेकी छैनन् । पतिको यातनाले घर छोड्न बाध्य भएको उनको भनाइ छ । अहिले स्थानीय बजारमा मजदुरी गरी जीवन चलाइरहेको उनी बताउँछिन् । ‘३ छोराछोरी संँगै छन् । सबै साना छन् । पेट पाल्नै पर्‍यो । काम गरेर जेनतेन चलाइरहेकी छु,’ ‘काम नपाएको दिन भोकै पनि बस्छु ।’


घरबाट बाहिर निस्किसकेपछि अब फर्किने आशा नभएको उनले सुनाइन् । पतिको कुटाइ बाट थला परेको बताउँदै उनले अब पिटाइभन्दा दुःख सहन सजिलो लागेको दुखेसो गरिन् । सदरमुकाम गोठलापानीमा मजदुरी गर्ने कल्पना (नाम परिवर्तन) को अवस्था पनि रमाको जस्तै छ । जागिरे पतिले छाडेपछि उनी अरूको काम गरेर जीवन धानिरहेकी छन् । ‘काम पाएको दिन गर्छु र पेट भर्छु । नभए भोकै हुन्छु,’ उनले भनिन्, ‘केही वर्ष भयो । उसले छाडेको । केही हेर्दैन । उजुरी गर्न सक्ने आँट पनि छैन ।’


रमा र कल्पना जस्तै धेरै महिला समाजमा छन् । उनीहरू घरेलु हिंसाबाट पीडित छन् । महिलासंँगै बालबालिका र ज्येष्ठ नागरिक पनि घरेलु हिंसा खेपिरहेको प्रहरीको भनाइ छ । अरूको तुलनामा महिला, बालबालिका र ज्येष्ठ नागरिक धेरै हिंसा खेप्न बाध्य भएको प्रहरी निरीक्षक दीपक पातलीले बताए ।


आव ०७३/७४ मा महिला, बालबालिका र ज्येष्ठ नागरीकसम्बन्धी ९५ उजुरी परेको उनको भनाइ छ । विभिन्न कारणले हिंसामा परेका उजुरी रहेको उनले बताए । पातलीका अनुसार ९१ उजुरी मिलापत्र गरेको, ३ अदालत पठाएको र १ प्रशासनमा पठाएको छ । यस्तै आव ०७४/७५ मा ९८ उजुरी परेका प्रहरी रेकर्डमा छ । जसमा ९६ मिलापत्र भएका छन् भने १ अदालत र १ प्रशासन कार्यालयमा गएको छ । आव ०७५/७६ मा ८६ उजुरी आएका थिए । त्यसमा ८३ को मिलापत्र भएको छ । २ अदालत गएका छन् भने १ प्रशासनमा गएको छ ।


प्रहरी कार्यालयमा नभई अहिले स्थानीय तहका न्यायिक समितिमा पनि महिला हिंसाका मुद्दा बढी छन् । पाटन नगरपालिकामा न्यायिक समिति गठन भएको करिब २ वर्ष भयो । अहिलेसम्म ४८ मुद्दा परेका छन् । त्यसमा अधिकांश महिला हिंसाका रहेको न्यायिक समिति संयोजक सरस्वती कोलीले बताइन् ।


यस्तै दोगडाकेदारको न्यायिक समितिमा परेका २७ उजुरीमा धेरैजसो महिला हिंसाकै रहेको संयोजक पार्वती कार्कीले जानकारी दिइन् । शिवनाथ गाउँपालिकाको अवस्था पनि फरक छैन । त्यहाँ पनि न्यायिक समिति स्थापना भएपछि परेका उजुरीमा महिला हिंसाका धेरै छन् ।


अहिलेसम्मका २४ बढी मुद्दामा धेरै १७ बढी महिला हिंसाका रहेको संयोजक कुष्मा चन्दले बताइन् । यस्तै मेलौली र पुरर्चौडी नगरपालिका, डिलाशैनी, पञ्चेश्वर गाउँपालिकाका न्यायिक समितिमा पनि महिला हिंसाका मुद्दाहरू बढी आउने गरेका न्यायिक समितिका संयोजकहरू बताउँछन् ।

प्रकाशित : श्रावण २३, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?