१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सहकारीले आत्मनिर्भर बनाउँदै

मोहन शाही

डोटी — केही वर्ष अघिसम्म डोटीको सायल गाउँपालिकाका ग्रामीण महिलामा सहकारीबारे खासै जानकारी थिएन । अधिकांशका श्रीमान् भारत थिए । महिला घरायसी काममै रुमल्लिएका हुन्थे । आयआर्जन र स्वरोजगारी उनीहरूका लागि कल्पनाबाहिरको कुरा थियो  । सिर्जना डुम्रेलले ८ वर्षअघि केही साथी भेला पारेर लगनशील सहकारी स्थापना गरिन् ।

सहकारीले आत्मनिर्भर बनाउँदै

कोषमा दुई हजार ९ सय रुपैयाँ जम्मा गरिन् । अहिले भने त्यही सहकारीले गाउँका ६ सय महिलालाई आबद्ध गरेको छ । एक करोड १० लाख सहकारीको पुँजी रहेको अध्यक्ष डुम्रेलले बताइन् । ‘सहकारीमार्फत महिलाहरूको सशक्तीकरण र आत्मनिर्भरमा ठूलो फड्को मारेको छ,’ उनले सहकारीको सफलता देखाउँदै भनिन्, ‘अहिले व्यावसायिक तरकारी खेतीमा मात्रै ५० जति महिला लागिसकेका छन्, उनीहरूले आयआर्जन गर्न थालिसके ।’ सहकारीले नियमित बचत संकलन गर्नुका साथै विभिन्न सशक्तीकरण र समाजसुधारका काम पनि गर्दै आएको छ ।

उता दिपायल सिलगढी नगरपालिका ८ लडागडामा रहेको लक्ष्मी महिला बहुउद्देश्यीय सहकारीमा ६ सय ३७ महिला सेयर सदस्य छन् । छोटो समयमै संस्थाले दुईवटा सुविधासम्पन्न भवन निर्माण गरेको अध्यक्ष टंका कडायतले बताइन् । आपतविपत पर्दा यतिबेला उनीहरू सहकारीलाई सम्झने गर्छन् ।


यस्ता सफलता बोकेका अन्य सहकारी पनि छन्, जसले सर्वसाधारणलाई संगठित गरी उनीहरूको सशक्तीकरणमा सहकारीले ठूलो योगदान गरेको छ । महिलाहरूले स्थापना गरेका सहकारी पनि जिल्लामा स्थापित हुँदै गएका छन् । डोटीमा एक सय ९० सहकारी संस्था छन् । साबिकका गाविसमा महिलाले एउटा सहकारी स्थापना गरेका थिए ।


‘सबैका लागि प्रत्येकका लागि सहकारी’ भन्ने मूल मन्त्रका साथ जिल्लाभरिमा सहकारी संस्था स्थापना भएका कारण यहाँका विपन्न नागरिकको साथी सहकारी भएको सामुदायिक विकास मञ्च नेपाल डोटीका सहकारी विकास अधिकृत कृष्णराज जोशीले बताए । उनले सहकारीको सैद्धान्तिक मान्यताअनुसार अझै हिँड्न नसकिएको भए पनि आत्मनिर्भरतामा उल्लेख्य भूमिका खेलेको बताए ।


सहकारी डिभिजन कार्यालयको विघटनसँगै सहकारीको अधिकार स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । स्थानीय तहमा सहकारीसम्बन्धी हेर्ने छुट्टै कर्मचारी नहुँदा सहकारीको नियमित अनुगमनको काम प्रभावकारी हुन सकेको छैन । कतिपय सहकारीले नियमित लेखापरीक्षण नगर्ने, सहकारीका मूलभूत सिद्धान्त अवलम्बन नगर्ने गरेका कारण बदनाम हुँदै आएका भए पनि आजआर्जनका काम गर्न चाहने सदस्यलाई ठूलो सहयोग पुग्ने गरेको छ ।

प्रकाशित : श्रावण २३, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?