१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

दिदीबहिनीको हत्या प्रयास गर्ने २ आरोपी पक्राउ

वसन्तप्रताप सिंह

बझाङ — थलारा गाउँपालिकाका २ महिलालाई हत्या गर्न खोज्ने २ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । घटनामा संलग्न रहेको आरोपमा थलारा गाउँपालिका ६, सँडिलका सौरभ चौहान र प्रेम कडायतलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।

दिदीबहिनीको हत्या प्रयास गर्ने २ आरोपी पक्राउ

उनीहरुमध्ये १ जना गाउँ नजिकको जंगलमा लुकिरहेको अवस्थामा थलारामा र अर्को व्यक्ति जिल्ला बाहिर भाग्न लागेको अवस्थामा बैतडी र बझाङको सिमाना नजिक स्याडीमा पक्राउ परेको प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेले बताए । उनीहरुले महिलालाई बलात्कार गर्न खोजेको र असफल भएपछि हत्याको प्रयास गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।


‘मुख थुनेर बलात्कारको प्रयास गरेका रहेछन्’ डिएसपी सूर्यबहादुर केसीले भने, ‘उनीहरु छटपटाएर कराएपछि अपराधको पोल खुल्ने डरले ढुङ्गाले टाउकोमा हानेको र मोबाइलको कभरले घाँटी रेटेको खुल्न आएको छ । थप अनुसन्धान भइरहेको छ ।’ घटनाअघि दुवैले अत्यधिक मदिरा सेवन गरेको पाइएको केसीले बताए ।


केदारस्युँ गाउँपालिकाको झोतामा रहेको माइतीघरबाट थलारामा रहेको पोइलीघर जाँदै गरेका दिदीबहिनीको सोमबार साँझ ६ बजेतिर थलारा गाँउपालिकाको सँडिलनेर हत्या प्रयास भएको थियो । अभियुक्तद्वयले महिलाहरुमाथि जबर्जस्ती गर्न खोजेको स्थानीय महिलाहरुले देखेपछि हत्याको प्रयास गरेका थिए । घाँस काटिरहेको अवस्थामा टाढाबाट घटना भएको देखेका स्थानीय महिलाहरु चिच्याउन थालेपछि उनीहरु दुवैजना भागेका थिए । घाँटी रेटिएकी दिदीको अवस्था गम्भीर छ । उनीहरु दुवै जनालाई थप उपचारको लागि नेपालगन्ज रिफर गरिएको जिल्ला अस्पतालका डाक्टर मिलन रावलले बताए ।


गाउँमा त्रास

दिउँसै भएको यो घटनाले थलारा गाउँपालिकाभरी त्रास फैलिएको स्थानीयले बताएका छन् । यो घटनाका कारण यहाँका महिलाहरु एक्लैदुक्लै हिँड्डुल गर्न डराइरहेको स्थानीय बाबु सिंहले बताए । उनले भने, ‘मानिसहरु मेलापात जान पनि डराइरहेका छन् । दिनदहाडै यस्तो घटना होला भनेर कसैले कल्पना नै गरेको थिएन । हिँड्डुल गर्न पनि डराउनु पर्ने अवस्था आएको छ ।’

प्रकाशित : श्रावण २२, २०७६ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?