खोला–नाला अतिक्रमणले डुबान

जथाभावी भौतिक संरचना निर्माण भएपछि पछिल्ला वर्षमा सामान्य झरीमा पनि डुबानको समस्या बढ्यो
भवानी भट्ट

कञ्चनपुर — वर्षायाममा महेन्द्रनगरवासीले झेल्ने एउटै समस्या हो डुबान । सामान्य झरीमा समेत महेन्द्रनगर बजार डुबानमा पर्नेगर्छ । सोमबार रातिको वर्षाले पनि त्यस्तै भयो । महेन्द्रनगरको अधिकांश भूभाग डुबानमा पर्‍यो । बजारसँंगै महेन्द्रनगर आसपासका क्षेत्रसमेत जलमग्न हुन पुग्यो । 

महेन्द्रनगर बजार क्षेत्र भएर करिब आधा दर्जन खोलानाला बग्छन् । अन्य समयमा सुक्खा हुने भए पनि चुरेबाट बग्ने मुख्य नदीहरूको बाढी यी खोलामा पनि पस्ने गर्छ । बजार क्षेत्रका यिनै खोला अतिक्रमण गरी जथाभावी भौतिक संरचना निर्माण भएपछि पछिल्ला वर्ष सामान्य झरीमा पनि डुबान हुने गरेको हो ।

‘पानीको निकास बन्द गरेपछि बजार डुबानमा पर्न थालेको हो,’ महेन्द्रनगरका केशव जोशीले भने, ‘निकास बन्द भएपछि वर्षाका बेलाको पानी घरभित्र पस्छ ।’ उनका अनुसार केही वर्ष अघिसम्म महेन्द्रनगर बजार क्षेत्र डुबानमा पर्दैनथ्यो । तर जब खोला नालाहरू अतिक्रमण गरेर त्यहांँ भवनहरू बने त्यसपछि डुबान हुन थालेको हो ।

अहिले पनि गोबरिया खोला, भासी खोला र बजारभित्रै भएर बग्ने अन्य खोलाहरू धमाधम अतिक्रमण भइरहेका छन् । यसबाहेक कतिपय नालीहरूसमेत अतिक्रमण गरेर भौतिक संरचना बनिरहेका छन् । ‘यति सानो झरीमा पनि बजार क्षेत्रको अधिकांश भाग डुबान भएको छ,’ भीमदत्त नगरपालिकाका प्रवक्ता समेत रहेका वडा १८ का अध्यक्ष राजेन्द्र पाण्डेयले भने, ‘यो खोला नाला अतिक्रमणकै परिणाम हो ।’

उनका अनुसार सोमबार राति केहीबेरको वर्षाले मात्रै आवासीय क्षेत्रहरू जनज्योती टोल, भगतपुर, पत्थर टोल, जानकी टोल र गोबरियाका अधिकांश क्षेत्र डुबानमा परेका छन् । यसैगरी वडा ४ को वनखेत, मुख्य बजार क्षेत्र र वडा ६ को ऐठपुर क्षेत्रका अधिकांश भाग डुबानमा परेको स्थानीयले बताए ।

पछिल्लो समय महेन्द्रनगर नगर विकास समितिले आफ्नो मातहतको जग्गा जथाभावी बिक्री–वितरण गर्दा समेत यो समस्याले विकराल रुप लिएको हो । नगर विकासले खोलानालाका कित्तासमेत बिक्री गरेको छ । त्यसैमा भवन निर्माण गर्दा अझ खोलातिरै च्याप्ने प्रवृत्ति बढेको छ ।

‘बजार क्षेत्रमा निर्माण भएका नालीहरू पनि जीर्ण अवस्थामा छन् । पानीका निकास सहज नहुँंदा डुबान झनै बढने गरेको छ । पछिल्लो समय सघन सहरी विकास कार्यक्रमअन्तर्गत बजार क्षेत्रमा साइड ड्रेन र कालोपत्रे सडक निर्माण गरिरहेका छन् । तर मुख्य बजार क्षेत्रका नालीहरू वर्षौं पुराना र जीर्ण छन् ।

तीसको दशकमा व्यवस्थित बजारका रुपमा स्थापना भएको महेन्द्रनगर अहिले जथाभावी भौतिक संरचना निर्माण र सरकारी जमिन अतिक्रमणले कुरूप मात्रै होइन डुबान क्षेत्रका रूपमा परिणत हुन थालेको छ । अतिक्रमण भएका खोलानाला खाली गराएर पानीको निकास सहज पार्न नगरपालिकाले आवश्यक पहल गर्नुपर्ने स्थानीय बताउछन् ।

डुबान क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँ सारियो
सोमबार रातिको वर्षापछि चुरेबाट बग्ने खहरे खोलाहरूमा आएको बाढीका कारण भीमदत्त नगरपालिका १० तिलकेनीमा १० परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार खहरे खोलाको पानी बस्तीमा पसेपछि उनीहरूलाई नजिकैको विद्यालयमा सारिएको हो । यसैगरी भीमदत्त नगरपालिका १० कै श्रीलंका टोलका ८५ जनालाई पनि सुरक्षित स्थानमा सारिएको प्रजिअ वैद्यले जनाए । महाकाली र मटेना खोलाको बीचमा रहेको उक्त बस्तीका ३ दर्जन परिवार डुबानमा परेपछि सुरक्षित स्थानमा सारिएको हो ।

वनबासा पुल आधा दिन बन्द
महाकाली नदीमा आएको बाढीका कारण शारदा ब्यारेजको वनबासा पुल आधा दिन बन्द हुन पुग्यो । मंगलबार बिहानदेखि दिउसोसम्म चारपांग्रे सवारी साधनका लागि पुल बन्द गरिएको हो । महाकालीमा मंगलबार बिहान पानीका बहाव १ लाख १६ हजार क्युसेक मापन गरिएको थियो । दिउसो बहाव घटेपछि पुल खोलिएको प्रजिअ वैद्यले बताए ।

सय वर्ष पुरानो पुल कमजोर भएको भन्दै भारतीय पक्षले महाकालीमा पानीको बहाव १ लाख क्युसेक भन्दा बढी हुनेबितिक्कै चारपांग्रे सवारी साधन आवागमनमा रोक लगाउँदै आएको छ । पुल बन्द हुँदा यात्रु अलपत्र परेका थिए ।

प्रकाशित : श्रावण २२, २०७६ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्

स्थानीय तहको राजस्व न्यून

तृप्ति शाही

बैतडी — गत आर्थिक वर्षमा जिल्लाका स्थानीय तहहरूले लक्ष्यअनुसारको राजस्व संकलन गर्न सकेनन् । जिल्लामा ४ नगरपालिका र ६ गाउँपालिका छन् । 

मेलौली नगरपालिकाले लक्ष्यभन्दा धेरै कम रकम संकलन भएको जनाएको छ । ५९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा ९ लाख मात्र उठाउन सकेको नगरपालिकाको भनाइ छ । पुर्चौडी नगरपालिकाले २५ लाखको लक्ष्य लिएकोमा पूरा गर्न सकेको छैन । पञ्चेश्वर गाउँपालिकाले ८० लाखको लक्ष्य लिए पनि ६० लाख मात्र राजस्व संकलन गर्न सकेको छ ।

दशरथचन्द नगरपालिकाले ०७५/७६ मा ७३ लाख संकलनको लक्ष्य निर्धारण गरेको थियो । त्यसमध्ये ४६ लाख १३ हजार मात्र संकलन गरेको छ । डिलाशैनी गाउँपालिकाले २६ लाख ६० हजारको लक्ष्य लिएको थियो । त्यसमध्ये वर्षभरिमा ७ लाख ८७ हजार संकलन गरेको लेखापाल भानदेव जोशीले बताएका छन् ।

यस्तै विकट मानिने सिगास गाउँपालिकाले ३० लाख राजस्व संकलनको लक्ष्य गत वर्ष लिएको बताएको छ । तर ८ लाख मात्रै राजस्व संकलन गर्न सकेको पालिकाले जनाएको छ । शिवनाथ गाउँपालिकाले १५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिए पनि १३ लाख मात्र संकलन गरेको छ । दोगडाकेदार गाउँपालिकाले ४४ लाख उठाएको छ । उसले ५५ लाख लक्ष्य निर्धारण गरेको थियो ।

पाटन नगरपालिका भने आफूले निर्धारण गरेको राजस्व लक्ष्यनजिक पुगेको जनाएको छ । स्रोत साधनको अभावले लक्ष्यअनुसारको राजस्व संकलन गर्न नससेको जनप्रतिनिधिहरूको भनाइ छ । जिल्लामा पर्याप्त कर उठाउने स्रोत नहुँदा सोचेअनुरूपको प्रगति हुन नसकेको मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायक बताउँछन् ।

प्रकाशित : श्रावण २२, २०७६ ०९:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्