जिप धकेल्दै यात्रु

धेरै रकम खर्चेर बनाइएका सडक मर्मतका योजना छैनन्, बर्खामा अवरुद्ध हुँदा सर्वसाधारणलाई घण्टौं पैदल हिँडेर गन्तव्य पुग्नुपर्ने बाध्यता
मनोज बडू

दार्चुला — बर्खा सुरुभएपछि ग्रामीण सडकहरू अवरुद्ध भएका छन् । जिल्लाका ९ वटै स्थानीय तह ग्रामीण सडक सञ्जालसँग जोडिए पनि अहिले व्यास र अपीहिमाल गाउँपालिका सडक सञ्जालबाट विच्छेदको अवस्थामा छन् ।

दार्चुलाको महाकाली राजमार्ग बेत जंगलनजिक सडक हिलाम्मे भएपछि फसेको गाडी धकेल्दै यात्रु । तस्बिर : मनोज/कान्तिपुर

ग्रामीण सडक पहिरो र बाढीले अवरुद्ध भएका छन् । कतैकतै बाढीले सडक पनि बगाएको छ । नियमित वर्षा नभए केही सडकमा आधा दूरीसम्म यातायात सञ्चालन हुने गरे पनि धेरैजसो अवरुद्ध छन् । ‘बर्खा लागेदेखि खलंगा–दल्लेक–होपरी खण्डको दल्लेकसम्म गाडी सञ्चालन हुन्छ,’ स्थानीय विशनसिंह बुढाथोकीले भने, ‘बढी वर्षा भएको दिन दल्लेकको तल सेलासम्म मात्र जाने गर्छन् । माथि गयो भने गाडी फस्ने डरले बीचैबाट फर्काउँछन् । कहीं–कहीं गाडी फस्यो भने यात्रुले नै धकेल्नुपर्ने अवस्था आउने गरेको छ ।

भर्तोला–जौलजीवी सडक, खलंगा–दल्लेक–खार–धुलीगडा, बिटुले–पारिबगड, दार्चुला–तिंकर सडक अवरुद्ध छन् । खलंगा–हिकिला,
खलंगा–दल्लेक, गोकुलेश्वर–धुलीगडासडकमा भने आंशिक रूपमा यातायातका साधनहरू चल्ने गरेको यातायात व्यवसायीहरूले बताएका छन् ।

आंशिक रूपमा गाडीहरू सञ्चालन भए पनि जोखिम भने धेरै खेप्नुपर्ने जिप व्यवसायी महादेव जोशीले बताए । केही ग्रामीण सडकमा भने जोखिम मोलेर यातायात सञ्चालनभइरहेका छन् ।हिलाम्मे र खाल्डाखुल्डी सडकले सास्ती खेपेर सर्वसाधारण यात्रा गर्न बाध्य छन् । विभिन्न स्थानमा पहिरो खसेर पैदल हिँड्न पनि जोखिम रहेको नौगाड गाउँपालिका २ का रञ्जितसिंह धामीले बताए ।

हरेक वर्ष बर्खामा कच्ची सडक अवरुद्ध भइरहँदा सास्ती पाइने गरेको स्थानीयको पनि गुनासो छ । धेरै रकम खर्च गरेर बनाइएका सडकलाई मर्मतका योजना ल्याइएका छैनन् । वर्षामा अवरुद्ध सडक हुने भएकाले घण्टौं पैदल हिँडेर गन्तव्य पुग्नुपर्ने बाध्यता छ । हिलाम्मे सडकमा गाडीमा यात्रा गर्नु अत्यधिक जोखिम रहेको धामीको भनाइ छ ।

महाकाली राजमार्गबाहेक अन्य जिल्लाका कच्ची र ग्राभेल ग्रामीण सडक पहिरो र हिलोले अवरुद्ध हुन पुगेका यातायात व्यवसायीले बताएका छन् । यस क्षेत्रका बासिन्दा दैनिक उपभोग्य वस्तु लैजान तथा सदरमुकाम आवतजावत गर्न सबैभन्दा बढी सास्ती खेपिरहेको अपीहिमाल गाउँपालिकाका खडकसिंहलोथ्यालले बताए ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्

खानेपानी योजना बजेट अभावमा अलपत्र

मोहन बुढाऐर

धनगढी — कैलालीमा १० वर्षदेखि सञ्चालित खानेपानीका योजनाहरू अलपत्र परेका छन् । कतिपय योजना भौतिक संरचना तयार भएर पनि पाइप बिछ्याउन मात्रै बजेट नपुगेर सञ्चालनमा आउन सकेका छैनन् ।

खानेपानी तथा सरसफाइ डिभिजन धनगढीका प्रमुख इन्जिनियर मोहन कुँवरले योजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन नभएर ०६४ देखिका दर्जन बढी योजना अलपत्र परेको बताए । ‘१० करोडका योजनामा वार्षिक २/४ लाख बजेट पर्ने गरेको छ,’ कुँवरले भने, ‘अपुग बजेटले योजना समयमा सम्पन्न गर्न सकिएको छैन ।’ वार्षिक रूपमा विनियोजन हुने बजेटको अनुपातमा कुनै योजना सम्पन्न गर्न अझै २० वर्ष लाग्ने उनी बताउँछन् ।

कैलालीको पहलमानपुर, मसुरिया, बलिया, थापापुर, फूलबारी, उदासीपुर, गदरिया, जोशीपुर, हसुलिया, प्रतापपुर, दुर्गौली, रतनपुर, बलिया चौरी र उर्मा खानेपानी योजना १० वर्षदेखि सम्पन्न हुन सकेका छैनन् । १० देखि १५ हजार जनसंख्या लाभान्वित हुने एउटा योजना सम्पन्न गर्न ३ देखि ६ करोड बजेट आवश्यक परेको कुँवर बताउँछन् ।

उनले डिप बोरिङ, ओभरहेड, कम्पाउन्डवाल र अफिस घरलगायत भौतिक संरचना तयार भइसकेका योजनामा पाइप बिछ्याउन बजेट नपुगेर पानी सञ्चालन गर्न नसकेको अवस्थासमेत रहेको बताए । ‘भौतिक संरचना तयार भएर पाइप बिछ्याउने काम मात्रै बाँकी रहेको अवस्था हो,’ इन्जिनियर कुँवरले भने, ‘पाइप खरिदका लागि बजेट चाहिएको हो ।’ उनले तयार भएका योजनाका संरचना जीर्ण हुन लागेको बताए । ‘योजना सञ्चालन गरी उपभोक्तालाई हस्तान्तरण गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘बजेट अभावमा सम्पन्न गर्न नसक्दा निर्माण हुन नसकेका संरचना पनि जीर्ण भइरहेका छन् ।’

उनका अनुसार चालु आवमा संघीय सरकारले तराई–मधेस खानेपानी योजनाअन्तर्गतका १ सय ३ योजनालाई १४ करोडसहित प्रदेश सरकारलाई हस्तन्तारण गरेको छ । ‘प्रदेश सरकारले बजेट थपेको छैन,’ उनले भने, ‘१ सय ३ योजनालाई दामासाहीले बाँडदा १० लाख पनि पुग्दैन ।’ पाइप मात्रै बिछ्याउन बाँकी रहेका योजनाका लागि पनि ३ देखि ६ करोडसम्म चाहिएको उनी बताउँछन् ।
त्यस्तै उच्च प्रविधियुक्त खानेपानीका ५ योजनाका लागि संघीय सरकारबाट २३ करोड आएको इन्जिनियर कुँवरले बताए । बलिया खानेपानी योजनाका अध्यक्ष कृष्ण पौडेल १० वर्षदेखि सर्वसाधारण धाराको पानी पर्खेर बसेको बताए । ‘२ वर्षअघि योजनाको संरचना तयार भएको हो,’ उनले भने, ‘तर पाइप बिछ्याउन आवश्यक बजेट विनियोजन नहुँदा योजना सञ्चालनमा ल्याउन सकेका छैनौं ।’ उनले योजना धेरै बाँडेर बजेट कम दिँदा कुनै पनि ठाउँका योजना पूरा नभएको बताए । ‘जनतालाई गाउँमा खानेपानीको ट्यांकी बन्दै छ भन्ने मात्रै देखायो,’ उनले भने, ‘दशकसम्म योजना तयार नहुने भए ।’

खानेपानी कार्यालयका फिल्ड इन्जिनियर गणेशप्रसाद उपाध्यायले कुनै योजनामा जनताको श्रमदानबाट सम्पन्न गरिनुपर्ने काम पनि नभएको बताए । बसौटी खानेपानी योजनामा पाइप बिछ्याउने कामको जनश्रमदान नभएर योजना सञ्चालन हुन नसकेको उनले बताए ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्