कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

खानेपानी योजना बजेट अभावमा अलपत्र

मोहन बुढाऐर

धनगढी — कैलालीमा १० वर्षदेखि सञ्चालित खानेपानीका योजनाहरू अलपत्र परेका छन् । कतिपय योजना भौतिक संरचना तयार भएर पनि पाइप बिछ्याउन मात्रै बजेट नपुगेर सञ्चालनमा आउन सकेका छैनन् ।

खानेपानी योजना बजेट अभावमा अलपत्र

खानेपानी तथा सरसफाइ डिभिजन धनगढीका प्रमुख इन्जिनियर मोहन कुँवरले योजना सम्पन्न गर्न आवश्यक बजेट विनियोजन नभएर ०६४ देखिका दर्जन बढी योजना अलपत्र परेको बताए । ‘१० करोडका योजनामा वार्षिक २/४ लाख बजेट पर्ने गरेको छ,’ कुँवरले भने, ‘अपुग बजेटले योजना समयमा सम्पन्न गर्न सकिएको छैन ।’ वार्षिक रूपमा विनियोजन हुने बजेटको अनुपातमा कुनै योजना सम्पन्न गर्न अझै २० वर्ष लाग्ने उनी बताउँछन् ।


कैलालीको पहलमानपुर, मसुरिया, बलिया, थापापुर, फूलबारी, उदासीपुर, गदरिया, जोशीपुर, हसुलिया, प्रतापपुर, दुर्गौली, रतनपुर, बलिया चौरी र उर्मा खानेपानी योजना १० वर्षदेखि सम्पन्न हुन सकेका छैनन् । १० देखि १५ हजार जनसंख्या लाभान्वित हुने एउटा योजना सम्पन्न गर्न ३ देखि ६ करोड बजेट आवश्यक परेको कुँवर बताउँछन् ।


उनले डिप बोरिङ, ओभरहेड, कम्पाउन्डवाल र अफिस घरलगायत भौतिक संरचना तयार भइसकेका योजनामा पाइप बिछ्याउन बजेट नपुगेर पानी सञ्चालन गर्न नसकेको अवस्थासमेत रहेको बताए । ‘भौतिक संरचना तयार भएर पाइप बिछ्याउने काम मात्रै बाँकी रहेको अवस्था हो,’ इन्जिनियर कुँवरले भने, ‘पाइप खरिदका लागि बजेट चाहिएको हो ।’ उनले तयार भएका योजनाका संरचना जीर्ण हुन लागेको बताए । ‘योजना सञ्चालन गरी उपभोक्तालाई हस्तान्तरण गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘बजेट अभावमा सम्पन्न गर्न नसक्दा निर्माण हुन नसकेका संरचना पनि जीर्ण भइरहेका छन् ।’


उनका अनुसार चालु आवमा संघीय सरकारले तराई–मधेस खानेपानी योजनाअन्तर्गतका १ सय ३ योजनालाई १४ करोडसहित प्रदेश सरकारलाई हस्तन्तारण गरेको छ । ‘प्रदेश सरकारले बजेट थपेको छैन,’ उनले भने, ‘१ सय ३ योजनालाई दामासाहीले बाँडदा १० लाख पनि पुग्दैन ।’ पाइप मात्रै बिछ्याउन बाँकी रहेका योजनाका लागि पनि ३ देखि ६ करोडसम्म चाहिएको उनी बताउँछन् ।

त्यस्तै उच्च प्रविधियुक्त खानेपानीका ५ योजनाका लागि संघीय सरकारबाट २३ करोड आएको इन्जिनियर कुँवरले बताए । बलिया खानेपानी योजनाका अध्यक्ष कृष्ण पौडेल १० वर्षदेखि सर्वसाधारण धाराको पानी पर्खेर बसेको बताए । ‘२ वर्षअघि योजनाको संरचना तयार भएको हो,’ उनले भने, ‘तर पाइप बिछ्याउन आवश्यक बजेट विनियोजन नहुँदा योजना सञ्चालनमा ल्याउन सकेका छैनौं ।’ उनले योजना धेरै बाँडेर बजेट कम दिँदा कुनै पनि ठाउँका योजना पूरा नभएको बताए । ‘जनतालाई गाउँमा खानेपानीको ट्यांकी बन्दै छ भन्ने मात्रै देखायो,’ उनले भने, ‘दशकसम्म योजना तयार नहुने भए ।’


खानेपानी कार्यालयका फिल्ड इन्जिनियर गणेशप्रसाद उपाध्यायले कुनै योजनामा जनताको श्रमदानबाट सम्पन्न गरिनुपर्ने काम पनि नभएको बताए । बसौटी खानेपानी योजनामा पाइप बिछ्याउने कामको जनश्रमदान नभएर योजना सञ्चालन हुन नसकेको उनले बताए ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?