कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनमी भर्ना दुई दिन मात्रै 

मोहन शाही

डोटी — दिपायलस्थित सेती प्राविधिक शिक्षालयले अनमी भर्नामा अनियमितता गरेको छ । सुरुमा भर्ना नलिने जानकारी गराउँदै आए पनि अन्तिम समयमा गुपचुपमै आवेदन फाराम संकलन गरेको छ ।

सेती प्राविधिक शिक्षालय पूर्ण सरकारी स्वामित्वमा सञ्चालित सुदूरपश्चिमकै एकमात्र शिक्षण संस्था हो । यस प्रदेशका ९ वटै जिल्लाका विद्यार्थीले प्राविधिक शिक्षा आर्जन गर्न पाउने प्रावधान छ । तर अनमी भर्ना प्रक्रियामा शिक्षालयले २ दिनको मात्र आवेदन फाराम भर्ने म्याद राखेर भर्ना प्रक्रिया अगाडि बढाइरहेको छ । छोटो समय भएकाले शिक्षालयनजिकै घर भएका इच्छुक विद्यार्थीले जानकारी नपाएको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् ।


शिक्षालय रहेकै दिपायल सिलगढी नगरपालिका ४ का योगेन्द्र कठायतले गाउँमा अनमी पढ्ने पर्खाइमा रहेका थुप्रैले आवेदन फाराम खुलेको थाहै नपाई म्याद सकिएको जानकारी पाउँदा आश्चर्यचकित भएको बताए । ‘१२ गतेसम्म म आफै शिक्षालयको सम्पर्कमा छु, अनमी भर्ना कहिले खुल्छ भनेर सोधेको सोध्यै छु,’ उनले गुनासो गर्दै भने, ‘शिक्षालयले यो वर्ष सायद भर्ना नलिने कुरा आइरहेको छ, यदि लिने नै भयो भने खबर गर्छौं भनेर फर्कार्एको थियो । तर १६ गते पुनः सम्पर्क गर्दा म्याद सकियो भन्ने सुन्दा दंग परे ।’ उनले आर्थिक चलखेल हुँदा छोटो समय राखेर फाराम संकलन गरिएको आरोप लगाए ।


सेती प्राविधिक शिक्षालयले साउन १४ र १५ गते २ दिनमात्र समयावधि तोकेर आवेदन फाराम बुझाउन सूचना जारी गरेको थियो । जबकि सुदूरपश्चिमका दार्चुला, बाजुरा, अछाम र बैतडीका दुर्गम क्षेत्रबाट दिपायल पुग्नै २ दिन लाग्ने गर्छ । शिक्षालयका प्रमुख शालिकराम डाँगीले केन्द्रबाट नै ढिलोगरि सिफारिस आएकाले २ दिनको समयावधि तोकेर सूचना निकालेको बताए । ‘सुरुमा सीटीईभीटीबाट भर्ना नै नलिने कुरा आएकाले हामीले पनि चासो राखेनौं,’ शिक्षालय प्रमुख डाँगीले भने, ‘पछि एक्कासि साउन १३ गते भर्नाका लागि स्वीकृति आयो र २ दिनभित्रै आवेदन संकलन गर्नू भन्ने जानकारी आएपछि विकल्पै रहेन ।’


अनमी छनोट परीक्षा साउन २५ गते तोकिएको छ । विगतका वर्षमा अनमी भर्नाका लागि ५ देखि ८ सय विद्यार्थीले आवेदन दिने गरेका थिए । यतिबेला छोटो समय राखिएकाले २ सय ८६ जनाले मात्रै फाराम भर्न भ्याएका छन् । स्रोतका अनुसार संकलन गरिएका फाराम पनि सीटीईभीटी र सेती प्राविधिक शिक्षालयका कर्मचारी तथा शिक्षकहरूका आफन्त मात्र हुन् ।


शिक्षालयभन्दा बाहिरकाले भर्ना खुलेको जानकारी नपाउँदै म्याद सकिसकेकाले ठूलो चलखेल भएको हुनसक्ने स्रोतको दाबी छ । तर सीटीईभीटीको सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख कुश्माकर भट्टले उक्त आरोपको खण्डन गरे । उनले केन्द्रबाटै विज्ञापन भएकाले तल्लो तहका कर्मचारीको इच्छाले भर्नाअवधि छोट्याउन सक्ने अवस्थै नभएको बताए । उनले आफूहरूमाथि शंका नगर्न आग्रह गरे ।


सीटीईभीटीका प्रवक्ता देवेश देवकोटाले भने २ दिनमात्र आवेदन फाराम संकलनको समय पर्याप्त नभएको बताए । उनी आफूलाई त्यसबारे विस्तृत जानकारी नभएको भन्दै परीक्षा नियन्त्रकबाट जानकारी लिन भन्दै जिम्मेवारीबाट पन्छिए । परीक्षा नियन्त्रक शिवहरी ढकालले भने मन्त्रालयबाटै यो वर्षका लागि अन्तिमपटक भनेर निर्णय गरेपछि हतारहतारमा अन्य प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीहरूको भर्ना छनोट परीक्षासँगै समय मिलाउन खोज्दा छोटो समय भएको दाबी गरे । तर मन्त्रालयले सो भर्ना लिने निर्णय भएको मिति भने बताएनन् ।


स्रोतका अनुसार मन्त्रालयले निजी क्षेत्रका शिक्षण संस्थाहरूको दबाबपछि अनमी भर्नाका लागि सरकारले यो वर्ष अनुमति दिएको हो । निजी कलेजहरूले आफूहरूको लगानी डुब्ने भन्दै मन्त्रीलाई दबाब दिएका थिए । सीटीईभीटीले निजी कलेज र अन्यत्रका आंशीक शिक्षालयहरूलाई केही दिनअघि भर्नाका लागि स्वीकृति दिए पनि सेती प्राविधिक शिक्षालयलाई भने २ दिन समय मात्र दिएर भर्नाका लागि आवेदन लिन निर्देशन दिएको थियो ।


पछिल्लोपटक आएको शिक्षा चिकित्सा ऐनले स्नातकमुनिका कुनै पनि प्राविधिक कार्यक्रम सञ्चालन नगर्ने प्रावधान ल्याएको छ । सो ऐनका कारण यो वर्ष अनमी र सीएमएको पढाइ नहुने धेरैको बुझाइ भए पनि पछि एकाएक मन्त्रीस्तरको निर्णयबाट यस वर्षका लागि अघि बढाउने सहमति दिएको हो ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?